|

चितवन : गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा जंगली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्।  बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र  हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।
 

मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जंगली जनावरको आक्रमणका कारण गम्भीर घाइते ३१ र सामान्य घाइते २७ जना छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरूप ३२ लाख ८० हजार १७ रुपैयाँ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई चार लाख २७ हजार १२८ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिए।
 
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जंगली बँदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी  तिवारीले बताए।
 
यस्तै जङ्गली जनावरका कारण २३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहतस्वरुप ३१ लाख ३८ हजार ४०० रुपैयाँ प्रदान गरिएको छ। भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ। यसबापत ५१ हजार रुपैयाँ भुक्तानी गरिएको छ। यही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको छ। यसको क्षतिबापत दुई लाख ३४ हजार ९०० रुपैयाँ भुक्तानी गरेको तिबारीले जानकारी दिए।

यस्तै अन्नबालीमा क्षति ५१७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार ६२५ भुक्तानी गरेको छ।
 
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण ८५६ घटना भएका छन्। यसको राहतस्वरुप निकुञ्जले दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.