काठमाडौं : रोजगारका क्रममा खाडीका विभिन्न देश पुगेका नेपाली कामदारलाई स्वास्थ्य सेवा दिन स्थापना गरिएको वीर अस्पतालको निःशुल्क टेलिमेडिसिनमा तीन महिनामा ९३७ जना नेपालीले सेवा लिएका छन्।
वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई लक्षित गरेर स्थापना गरिएको टेलिमेडिसिन सेवामार्फत तीन महिनामा ९३७ जना नेपाली कामदारले सेवा लिएको बताइएको हो।
सेवा लिनेमा सबैभन्दा धेरै मलेसियामा रहेका नेपाली कामदार रहेका छन्। मलेसियाबाट २७६ जना नेपाली कामदारले सेवा लिएका छन्। यसैगरी साउदी अरबबाट २२७ जना, कतारबाट १०४ जना, युएईबाट ९७ जना, कुवेतबाट ७० जना, कोरियाबाट ५७ जना र अन्य देशबाट १०६ जना नेपाली कामदारले टेलिमेडिसिन सेवा लिएको अस्पतालले जनाएको छ।
वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक कामदारलाई लक्षित गरेर टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष फागुन २ गते टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेर वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग सहकार्य गरी गत चैत १५ गतेदेखि टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो।
पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकका लगायत विभिन्न देशमा पुग्ने नेपाली श्रमिकमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेपछि यो सेवा शुरु गरिएको हो।
के हो टेलिमेडिसिन सेवा ?
मोबाइलमा गरिने परामर्शदेखि लिएर, भिडिओ कन्फ्रेन्स आदि प्रविधिमार्फत एक ठाउँको विरामीलाई अर्को ठाउँको चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श लिएर उपचार गर्नु नै टेलिमेडिसिन सेवा हो। टेलिमेडिसिन दुर्गम क्षेत्रमा मात्र होइन विकसित देशमा पनि एक ठाउँको विज्ञता तथा प्रविधिलाई अर्को ठाउँमा प्रयोग गर्न प्रयोग गरिन्छ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने धेरै श्रमिकमा स्वास्थ्य समस्या देखिने गरेपछि उनीहरूको सेवाका लागि वीर अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिएको हो। जसको सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमो लगायतका सामाजिक सञ्जालमा फोन गर्न सक्ने व्यवस्था गरिएको छ। सार्वजनिक बिदाको दिन बाहेक सबै दिन वीर अस्पतालमा यो सेवा दिन पाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।