|
फाइल फोटो

चितवन : बर्खामा पनि उल्लेख्यरूपमा पर्यटक आएपछि सौराहाका होटल व्यवसायी उत्साहित छन्। 

साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ। यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिइन्छ। यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन्।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार २०० सम्म पर्यटक रहेको अनुमान छ। तीमध्ये आधा विदेशी छन्। 

विदेशीमा पनि चिनियाँको सङ्ख्या बढ्दो छ। सौराहामा १२५ होटल छन्। ती होटलको क्षमता छ हजार २०० जनाको छ। क्षमताको हिसाबले पर्यटक न्यून भए पनि बेमौसममा समेत आएको यो सङ्ख्याले व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ। यो वेला चितवन राष्ट्रिय निकुञ्जभित्र ‘जंगल वाक’ बाहेकका गतिविधि रोकिन्छ। सामुदायिक वनमा सफारीका गतिविधि सञ्चालन हुने गर्छ।

अहिले दैनिक १०० जनाभन्दा बढीले हात्ती सफारी गरिरहेको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए। यसरी हात्ती चढ्नेमा धेरै विदेशी छन्। कोभिडपछि पहिलोपटक चिनिया आएकाले हात्ती सफारीमा उनीहरूको ध्यान बढी हुने गरेको छ। क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे सडकको अवस्था राम्रो नहुँदासमेत आएको पर्यटकको यो सङ्ख्यालाई राम्रो मान्छन्। कतिपय होटलमा कार्यक्रम चलिरहेका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा बजारीकरण गर्नसक्ने होटलमा पर्यटक बढी रहेका छन्। ‘विगतको बर्खाको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्या राम्रो छ’, उनले भने। चिनियाँ आउन थालेकाले अबको हिउँदपछि क्रमश: पूर्ववत् अवस्थामा पर्यटन व्यवसाय फर्किनेमा उनी विश्वस्त छन्।

होटल व्यवसायी गुणराज थपलियाले यो बेमौसम भएकाले पर्यटक राम्रो छ भन्न नसकिए पनि विगतको भन्दा सुधार हुँदै गएको बताए। उनले भने, ‘संकेत राम्रो छ। अबका दिनमा पक्कै पनि पर्यटकको माहोल राम्रो बन्छ।’ विगतको तुलनामा कोभिडको प्रभाव क्रमशः घट्दै गएको उनको बुझाइ छ। यहाँ स्वदेश र विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी गर्न पर्यटक आउने गर्छन्। चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो। चितवन भित्रिने अधिकांश पर्यटकको रोजाइ सौराहा हुन्छ। 

भूकम्प, नाकाबन्दी, कोभिडका कारण थला परेको पर्यटन व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने अपेक्षा व्यवसायीको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.