|

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय चासो र हितका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ। 

सो अवसरमा मन्त्री भुसालले हालै भएको आफ्नो भारत भ्रमणका क्रममा भारत सरकारबाट भएको स्वागतप्रति धन्यवाद व्यक्त गर्दै भ्रमणका बेला भएका सहमतिलाई कार्यान्वयन तहमा लैजानुपर्नेमा जोड दिए। 

उनले भारत भ्रमणका क्रममा कृषिवस्तुको निकासीमा सहजीकरण, रासायनिक मल ढुवानीको क्रममा विशाखपट्टनममा गरिदिनुपर्ने सहजीकरण, लम्पी स्किन नियन्त्रणमा गरेका प्रतिबद्धता कार्यान्वयनबारे राजदूत श्रीवास्तवलाई स्मरण गराएको मन्त्री भुसालको सचिवालयले जनाएको छ।

भारतीय राजदूत श्रीवास्तवले भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि नेपालको तर्फबाट तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको प्राथमिकता पठाउन आग्रह गरे। 

राजदूत श्रीवास्तवले रासायनिक मल ढुवानी र नेपालमै कारखाना स्थापना गर्न भारतले प्राविधिक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

नेपाल र भारतको भौगोलिक अवस्था समान रहेकाले दुवै देशको बालीनाली एउटै हुने हुँदा मिलेरै सहकार्य गर्नुपर्नेमा उनको भनाइ थियो।

राजदूत श्रीवास्तवले नेपाललाई गाई, च्याङ्ग्राको उच्च नश्लका लागि सहयोग गर्ने र कफीको उन्नत जातको बिरुवामा सघाउने प्रतिबद्धता व्यक्त गरे। 

सेवा बन्द गर्नु गैरजिम्मेवार : मन्त्री भुसाल

यसैबीच मन्त्री डा भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्नु गैरजिम्मेवारपूर्ण रहेको बताएका छन्। पशु सेवा विभागले बुधबार आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले शून्य बजेट भएको कारण देखाउँदै जनतालाई दिने सेवा बन्द गरेको सूचना आएकाले त्यस्तो काम आपत्तिजनक रहेको बताए। 

शून्य बजेटलाई खुलाउने प्रयास भइरहेकाले यसमा थप चिन्तित नहुन आग्रह गर्दै उनले भने, ‘कतिपय कार्यालयले कलम र कागज किन्ने पैसा छैन भन्दै सेवा नै बन्द गरे छन्। यहाँभन्दा गैरजिम्मेवारीपन अर्को हुन सक्दैन।’ 

मन्त्री भुसालले समस्या राख्ने मात्र नभई समाधानको उपायसमेत खोज्नुपर्नेमा जोड दिँदै सेवा बन्द गर्ने कर्मचारीलाई कारबाही हुने चेतावनी दिए। 

कुन कार्यालयले सेवा बन्द गरेको हो त्यसको यथार्थ विवरण पेश गर्न पशु सेवा विभागलाई मन्त्री भुसालले निर्देशन दिँदै भने, ‘समस्या देखियो, यसलाई मात्र हेर्नु भएन। समाधानको उपाय पनि खोज्नुपर्छ। सरकारी कर्मचारीलाई सेवा नै बन्द गर्ने छुट हुन्छ?’

जनतालाई दिँदै आएको सेवालाई बन्द नगर्न पटकपटक आग्रह गरेको भन्दै मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित भएका किसानलाई राहत दिने तयारी भइरहेको बताए। 

प्रधानमन्त्रीसँग यस विषयमा कुराकानी भएको र राहत दिने आधार, मापदण्ड र प्रक्रिया के कस्तो हुने तत्कालै पशु सेवा विभागलाई गृहकार्य गर्न निर्देशन दिए।

विभागले यसलाई जतिसक्दो चाँडो काम गर्न निर्देशन दिँदै मन्त्री भुसालले भ्याक्सिन खरिद प्रक्रियाको काम अबको एक हप्ताभित्र सक्नुपर्नेमा जोड दिए। 

भ्याक्सिन खरिद गरेलगत्तै गाउँगाउँमा पुगेर पशुको उपचार हुने उनको भनाइ थियो। लम्पी स्किन रोग नियन्त्रणमा पशु सेवा विभागनै बढी लाग्नुपर्ने भन्दै आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्ने मन्त्री भुसालले आश्वस्त पारे।

मन्त्री भुसालले पशु स्वास्थ्यको महत्त्व बुझाउन अझै नसकिएको बताउँदै मानव स्वास्थ्यसँग पशु स्वास्थ्य जोडिएकाले यसको महत्व बुझाउनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.