|

काठमडौँ : लेखक सागर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट’ नामक पुस्तक लोकार्पण भएको छ। पूर्वसभामुख दमननाथ ढुङ्गाना, सांसद रघुजी पन्त, इतिहासकार जोन व्हेलप्टन र पुस्तक लेखक राणाद्वारा संयुक्तरूपमा उक्त पुस्तक लोकार्पण गरिएको हो।

अङ्ग्रेजी भाषामा उक्त पुस्तक नेपालको इतिहाससम्बन्धी लेखिएको छ। विसं २००७ पछाडि मुलुकमा विकसित भएका राजनीतिक परिस्थितिलाई सोही समयको दृष्टिकोणलाई वस्तुपरक र सन्तुलितरूपमा लेखकले समेटेका छन्।
 
राजनीतिक पृष्ठभूमिमा हुर्किएका राणा राजनीतिक आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका लेखक राणाले पुस्तकमा विशेषगरी राजनीतिक दल, सेना, राजदरबारका सदस्यलगायतका विभिन्न व्यक्तित्वसँग भएको कुराकानीलाई समावेश गरिएको बबताए।

लेखक राणाले तथ्य र चित्रमा आधारित नेपालको इतिहास समेटिएको पुस्तकमा पहिलो अन्तर्वार्ता संस्कृतिविद् सत्यमोहन जोशीसँगको कुराकानीलाई समेटिएको जानकारी दिए।

पुस्तकमाथि टिप्पणी गर्दै पूर्वसभामुख ढुङ्गानाले बहुप्रतिभाशाली लेखकका रूपमा रहेका राणाको पुस्तक नेपालको इतिहासको आधिकारिक पुस्तक रहेको बताए।

“विभिन्न कालखण्डमा राणाहरूको आ–आफ्नो शासनकालका भूमिका समेटेर तयार पारिएको पुस्तकलाई एक पारिवारिक इतिहासको रूपमा पनि लिन सकिन्छ। २००७ सालको मोहनशम्शेर जङ्गबहादुर राणादेखि ज्ञानेन्द्र शाहसम्मको भूमिका समेटिएको छ। यो एउटा आधिकारिक पुस्तकको रूपमा रहेको छ”, उनले भने।

सांसद रघुजी पन्तले नेपालको इतिहाससम्बन्धी रहेको उक्त पुस्तकमा पहिलो जनआन्दोलनको बारेमा कम चर्चा गरिएको बताए। “शाह वंशको शासन, राजनीतिक द्वन्द्वका कारण, प्रभाव र असरलगायत विभिन्न कालखण्डमा भएका राजनीतिक घटनाक्रम संक्षिप्तमा समेटिए पनि सत्याग्रह र २०४६ सालको पहिलो जनआन्दोलनका विषयमा पुस्तकमा कम चर्चा तथा अपूर्ण रहेको छ”, सांसद पन्तले भने।

नेपाल र नेपालसम्बन्धी विभिन्न पुस्तक लेख्नुभएका इतिहासकार तथा लेखक व्हेलप्टन नेपालको इतिहास उक्त पुस्तकबाट अध्ययन गर्न पाएकामा खुुसी व्यक्त गर्दै लेखकले सम्बन्धित व्यक्तिसँग गरेका कुराकानीको माध्यमबाट पनि उपयुक्त विषयवस्तु सङ्कलन गरी तयार पारेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.