|

चितवन/वीरगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।’ तर उनले गाडी परिवर्तन गर्नुपर्नाको कारण भने खुलाएनन्। 

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, उनले आफ्नो निर्वाचन क्षेत्रमा मोबाइल क्लिनिक चलाउन प्रयोग गरेको गाडी ना २ च ५६१६ नम्बरको एम्बुलेन्स थियो, त्यो पनि नियम अनुसार पत्रु बनाउनुपर्ने अवस्थामा पुगेको, तर पत्रु बनाउनुपर्ने एम्बुलेन्सको गैरकानुनी रूपमा रङसमेत बदलेर चलाएको समाचार प्रकाशन भएपछि गाडी परिवर्तन गर्नैपर्ने बाध्यता आएको थियो। 

उनले निर्वाचन क्षेत्रमा एम्बुलेन्सलाई ‘मोबाइल क्लिनिक’ मात्र चलाएको होइन अर्को एउटा बसलाई पनि आफ्नै निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क भन्दै ‘ब्लु बस’ सेवा शुरु गरेका छन्। दुवैको रङ नीलो बनाइएको छ। एम्बुलेन्सबारे लेख्दा उनले बसमा कुनै समस्या नरहेको दाबी गरेका छन्, ‘ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छाडेर अब गाडीको पछि। भोलि टायर पुरानो भनेर लेख्न तयार हुनुहोला। हैट, हेडलाइन आतंक!’

के छ बसमा समस्या?

उनले दाबी गरेजस्तो ना ५ ख ३१३८ नम्बरको बस समस्यारहित छैन। बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको छ। यातायात कार्यालय नारायणी, वीरगन्जमा २०७० मा दर्ता भई त्यहाँ र यातायात व्यवस्था कार्यालय, भरतपुरमा समेत रहेको विवरण अनुसार हाल भीमबहादुर तामाङको नाममा दर्ता कायम रहेको बसको रङ ‘हरियो, सेतो, सिल्भर, पहेँलो’ हुनुपर्नेमा स्वीकृतिबिना नै नीलो बनाइएको हो। 

यी दुवै कार्यालयमा रहेको रेकर्डमा रङ परिवर्तनका लागि निवेदनसमेत दिएको देखिँदैन। यातायात व्यवस्था कार्यालय, वीरगञ्जका कार्यालय प्रमुख उमेश रेग्मी र यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले कुनै पनि कार्यालयमा रङ परिवर्तनका लागि निवेदन नपरेको बताए। यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले अनुमति नलिई सवारीसाधनको रङ परिवर्तन गरे कारबाही हुने बताए। यातायात व्यवस्था कार्यालय, भरतपुरले २०८० वैशाख १९ गते जारी गरेको जाँचपास प्रमाणपत्रमा भने ‘सुगा, हरियो, सेतो, सिल्भर पहेँलो, नीलो, गुलाबी’ लेखिएको छ। यो दर्ता हुँदा भनिए अनुसारको रङ होइन। 

यातायात कार्यालय, भरतपुरका अधिकृत सुरेश चपाई पनि सवारीसाधनले कार्यालयको अनुमति लिएर मात्रै रङ परिवर्तन गर्न पाउने बताए। तर बस सञ्चालक तामाङले भने आफूलाई कार्यालय भरतपुरले दिएको जाँचपास प्रमाणपत्रमा नीलो रङको पनि अनुमति दिएको दाबी गरे। ‘हेर्नुस् मसँग भएको प्रमाणपत्रमा नीलो रङको पनि अनुमति छ’, उनले भने। 

रङका साथै बस सञ्चालन गर्ने सडक अनुमति (रुट परमिट) पनि दर्ता हुँदाको वीरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ हो। त्यसै अनुसार पटक पटक नवीकरण भएको छ तर यो बस अहिले चितवनका भित्री सडकमा निर्वाध गुडिरहेको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङ कुनै पनि भाडाका गाडीले जुन रुट परमिट लिएका छन्, त्यसैमा मात्र चल्नुपर्ने बताउँछन्। बाहिर चलाउनु परे अस्थायी परमिट लिनु पर्छ। बसले अस्थायी पटके पनि लिएको देखिँदैन। यसरी रुट परमिट नलिई चलाइएका भाडाका सवारीसाधनबाट ट्राफिक प्रहरीले हरेक पटक एक हजार ५०० रुपैयाँसम्म जरिवाना गर्न सक्ने उनले जानकारी दिए।

गत साउन १७ गतेदेखि ‘ब्लु बस’ का रूपमा सञ्चालनमा आएको यो बस अहिले शक्तिखोर भरतपुर, नारायणगढ, रामनगर, नारायणगढबाट पश्चिमसम्मका भित्री सडकमा गुड्छ। बसका सञ्चालक भीमबहादुर तामाङ भने सो रुटमा अहिले पनि रुट परमिट नै नभएको दाबी गर्छन्। ‘शक्तिखोर भरतपुर सडकमा रुट परमिट नै दिइँदैन। हामीले अन्यत्रकै परमिट लिएर चलाउने हो’, उनले भने।

ब्लु बस रास्वपाले मासिक एक लाख ३५ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको हो। बसमा चढ्न रास्वपाले महिलाका लागि कार्ड बनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.