|

काठमाडौं : बेलायतमा फेरि एक पटक कोरोना संक्रमणको जोखिम बढेको छ। बेलायतको स्वास्थ्य विभागले कोरोनाको नयाँ भेरिएन्ट 'एरिस' को संक्रमण बढ्न सक्ने चिन्ता व्यक्त गरेको छ।

युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचएसए) काअनुसार कोरोनाको नयाँ भेरिएन्ट एरिस (EG.5.1) हरेक ७ जना नयाँ कोरोनाका केसमध्ये एकको कारण बनिरहेको छ।

एसियामा बढिरहेका कारण बेलायतमा पनि यसको विरामी बढिरहेको बताइएको छ तर युकेएचएसएले एसियाका कति देशहरुमा नयाँ भेरिएन्ट एरिसका विरामी देखिएका छन् भन्ने विषयमा भने केही बताएको छैन।

युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचएसए) का अनुसार एरिस भेरिएन्टसँग जोडिएका कोरोना भाइरसका ७ वटा घटनाको पुष्टि भएको छ। पछिल्लो तथ्याङ्कअनुसार कोरोनाका कुल केसमध्ये १४ प्रतिशत केस एरिस भेरिएन्टसँग मात्र जोडिएका छन्।

युकेएचएसएले अघिल्लो साताको तुलनामा हरेक साता कोरोनाका विरामी तीव्र गतिमा फैलिरहेको बताएको छ।

रेस्पिरेटरी डाटामार्ट सिस्टमको प्रतिवेदनअनुसार हालसम्म ४ हजारभन्दा बढी परीक्षण गरिसकिएकोमा ५.४ प्रतिशतमा कोभिड–१९ को संक्रमण देखिएको छ। अघिल्लो प्रतिवेदनमा ४ हजारभन्दा बढी परीक्षणमा कोभिडका ३.७ प्रतिशत विरामी थिए।

स्वास्थ्य अधिकारीहरुका अनुसार एरिस भेरिएन्टको साइन्टिफिक नाम EG.5.1 हो र यो ओमिक्रोन भेरिएन्टबाटै उत्परिवर्तन भ‍एर विकसित भएको हो। यो भेरिएन्ट बेलायतमा  ३ जुलाईमा पहिलो पटक पुष्टि भएको थियो।

त्यही बेलादेखि दैनिक यसका नयाँ संक्रमितहरु देखिइरहेका छन्। ३१ जुलाईमा यसलाई एक नयाँ भेरिएन्टका रुपमा क्लासिफाई गरिएको थियो।

युनिभर्सिटी कलेज अफ लन्डनको अपरेशन रिसर्चकी प्रोफेसर क्रिस्टिना पेजलका अनुसार कोरोनाको नयाँ भेरिएन्टले बेलायतमा विनाश निम्त्याउन सक्ने देखिएको छ। सेप्टेम्बरमा, कोभिडका विरामी द्रुत गतिमा बढ्ने अनुमान गरिएको छ।

कोरोनाको नयाँ भेरिएन्ट एरिसका लक्षणहरू पनि कोरोनाका अन्य भेरिएन्टहरू जस्तै छन्। संक्रमित बिरामीमा ज्वरो आउने, रुघाखोकी लाग्ने, खोकी लाग्ने, कफ लाग्ने लक्षण देखिन्छ।

सबैभन्दा मुख्य कुरा यो हो कि निमोनियाका धेरैजसो लक्षण पनि यसमा देखिन्छन्। ग्यास्ट्रोइन्टेस्टाइनल लक्षणहरू पनि उपस्थित छन्। त्यसैले समयमै चिकित्सकको सल्लाह लिनुपर्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बेलायतलगायत सबै देशहरूलाई सतर्क रहन र आवश्यक सतर्कता अपनाउन सल्लाह दिएको छ।

अनुसन्धानकर्ताहरुका अनुसार नयाँ भेरिएन्टको भाइरसमा जारी उत्परिवर्तनका कारण गम्भीर वा संक्रामक भिन्नताहरूको जोखिम स्थिर रहन्छ, जसप्रति सबै धेरै सावधान रहन आवश्यक छ।

युकेएचएसएका अनुसार कोरोनाको नयाँ भेरिएन्ट 'एरिस' संक्रमणले अस्पताल भर्ना हुने वर्तमान दर प्रति १ लाख जनसंख्याको १.९७ छ। देशमा प्रत्येक ७ संक्रमितमध्ये एकजना नयाँ एरिस भेरिएन्टको सिकार भएको पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.