काठमाडौँ : एएफसी कपमा मच्छिन्द्रले आई लिग क्लब मोहन बगानसँगको भेट पक्का गरेको छ। दशरथ रंगशालामा प्रारम्भिक चरणको खेलमा भुटानको पारो एफसीलाई ३-२ गोल अन्तरले हराउँदै मच्छिन्द्रले आगामी अगष्ट १६ मा हुने मोहन बगानसँगको भेट पक्का गरेको हो।
मच्छिन्द्रको जितमा विमल घर्ती मगर, आयुष घलान र अफिज ओलावालेले गोल गरे। खेलका सुरुवाती अग्रताले पारोले बनाएको थियो।
७ औँ मिनेटमा मच्छिन्द्रको डिफेन्डिङ लाइन कमजोरीको फाइदा उठाउँदै काजु होमाले गरेको प्रहार गोलरक्षक विशाल श्रेष्ठलाई लाग्दै जाली चुमेपछि पारोले सुरुवाती अग्रता लिएको थियो। १२ औँ मिनेटमा विमल घर्ती मगरले बराबरी गोल फर्काए। आयुष घलानको क्रसमा उनले हेडरमार्फत बराबरी गरे। १५ मिनेट मच्छिन्द्रले खेलमा अग्रता बनाउन सफल रह्यो।
विमलको पासमा आयुषले मच्छिन्द्रका लागि दोस्रो गोल गरे। ३९ औँ मिनेटमा अफिस ओलावालेले मच्छिन्द्रका लागि तेस्रो गोल गरे। ओमओलाजा करिमको क्रसमा ओलावालेले सेकेन्ड बार च्याप्दै हेडरमार्फत गोल गरे। पहिलो हाफमा पारोमाथि मच्छिन्द्रले दबाव बनाएको थियो तर दोस्रो हाफमा मच्छिन्द्रमाथि पारोले दबाव बनाउन सफल रह्यो।
६१ औँ मिनेटमा मच्छिन्द्रका डिफेन्डर छिरिङ गुरुङलाई बिट गराउँदै पारोका इभान आसान्टेले गोल गर्दै अग्रता ३-२ मा झारे। इन्जुरी समयमा गोलरक्षक बिट भएको अवस्थामा विमल घर्ती मगरले खाली पोष्टमा जाली चुमाउन चुके।
खेलको २३ औँ मिनेटमा पारोका कर्मा क्षेत्रिमले पहेंलो कार्ड प्राप्त गरे। आयुष घलानलाई फाउल गरेपछि मुख्य निर्णायक गो डु लेनले क्षेत्रिमलाई कार्ड देखाए। ४५ औँ मिनेटमा पारोका डिफेन्डर कोरा कोनेलाई फाउल गरेपछि अफिजले पहेँलो कार्ड प्राप्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।