छानबिन गरी कारबाही गर्न माग

|

काठमाडौं : काठमाडौं महानगरपालिका वडा-२९ स्थित नमुना घोषित विजय स्मारक माध्यमिक विद्यालयमा आर्थिक अनियमिता भएको पाइएको छ।

आर्थिक वर्ष ०७८/७९ को विद्यालय सामाजिक परीक्षणको प्रतिवेदन सार्वजनिक भएपछि विद्यालयका प्रधानाध्यापक, लेखाका कर्मचारी लगायतले अनियमितता गरेको पाइएको हो।

विद्यालयले कोभिड–१९ मा विद्यालय बन्द भएको बेला पनि खाजा भत्ता लिएको बिल बनाएपछि त्यहाँका १५ जना शिक्षकहरूले नै सत्य तथ्य छानबिन गर्न माग गर्दै महानगरपालिकाको शिक्षा विभागमा ध्यानाकर्षण पत्र बुझाएका छन्। 

उक्त पत्रमा भनिएको छ, ‘सामाजिक परीक्षण समितिको मिति २०८० जेठ १८ गते सरोकारवालाहरूको भेलामा प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदनमा २०७८ वैशाख महिनादेखि कोभिड महामारीका कारण सरकारले भौतिक उपस्थितिमा कक्षा संचालन गर्न रोक लगाउने सूचना गरेकाले हामी विद्यालयका तपशिलका शिक्षक कर्मचारीहरूले शैक्षिक सत्र २०७५ वैशाखदेखि २०७८ माघसम्म घरबाटै अनलाइन कक्षा लिएको तथा विद्यालय प्रशासनको सूचनाबमोजिम हप्तामा एक पटक विद्यालयमा गई हाजिर गरेको तथा खाजा नखाएको र उक्त अवधिको खाजा भत्ता पनि नलिएको कुरा जानकारी गराउँदछौं।’

उक्त अवधिको समेत शिक्षकहरूको नाममा खाजाको रकम भुक्तानी गरेको देखिएकोले त्यस विषयमा सत्य तथ्य छानबिन गरी सम्बन्धित पक्षलाई कारवाहीकाे माग गर्दैै महानगरपालिकालाई शिक्षकहरूले ध्यानाकर्षण गराएका छन्। 

विद्यालयले खरिद ऐन कार्यान्वयन नगरी हचुवामा बनायो बिल

शिक्षकहरूले साउन १२ गते महानगरपालिकामा बुझाएको पत्रअनुसार सामाजिक परीक्षण प्रतिवेदनमा विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन नभएका खर्चहरूको क्रम संख्या ३३ मा मनोरञ्जन, चियापान तथा स्टाफ दैनिक खाजा खर्च रकम ३ लाख ५५ हजार ९० रूपैयाँ राखिएको छ।

तर कोभिड-१९ का कारण भौतिक कक्षा जम्मा ९८ दिन सञ्चालन भएको  विजय स्मारक विद्यालय अभिभावक संघका अध्यक्ष इश्वर ज्ञवालीले बताए। उनले भने, ‘तोकिएको सरकारी मापदण्डअनुसार प्रतिदिन ३५ रूपैयाँ हो, यो दरले खाएको भए पनि स्टाफ खर्च बढीमा १ लाख ३० हजार हुनुपर्ने हो तर खर्च बढी देखाइयो।’

यता, शिक्षकहरूले झनै यो समयमा खाजा नखाएको र उक्त अवधिको खाजा भत्ता पनि नलिएको भन्दै महानगरमा निवेदन दिएका छन्। 

महानगरपालिका शिक्षा विभागको २०७८ माघ  २७ गतेको सूचना अनुसार ०७८ फागुन १ गतेपछि मात्र विद्यार्थीहरूको भौतिक उपस्थितिमा कक्षा संचालन भएकोले उक्त मितिपछि विद्यालयले उपलब्ध गराएको प्रति शिक्षक प्रतिदिन ३५ रुपैयाँका दरले विद्यालयमा संचालित चमेना खाजा खाएको निवेदनमा उल्लेख छ। 

यस्तै, कक्षा ११ र १२ तर्फ मेसिनरी औजार ५२ हजार ५१३, अतिथि सत्कारमा ६१ हजार ८८० र  मनोरञ्जन चियापान खाजा खर्च १ लाख ६४ हजार २४५ खर्च देखाइएको छ।

तर उक्त शीर्षकका रकम खरिद ऐन कार्यान्वयन नगरी विद्यालयले नक्कली बिल बनाएर अनियमितता गरेको विजय स्मारक माध्यमिक विद्यालय अभिभावक संघका अध्यक्ष ज्ञवालीले बताए।

उनले भने, ‘खरिद ऐन कार्यान्वयन भएन, बनाइएको पनि छैन, बजेट बनेन, विद्यालयमा प्रअ र एकाउन्टेन्टले बजारबाट नक्कली बिल ल्याएर बिल भौचर बनाए।’

उनले करिब १५/१६ लाख रकम बेरूजु राखिएको बताए। ‘यी माथिका शीर्षकका पैसा कसरी खर्च गर्यो केही हामीलाई थाहा छैन, कहाँ बैठक बस्यो त्यो पनि थाहा छैन, त्यही भएर प्रतिवेदन महानगरपालिकाबाट पारित पनि भएको छैन,’ उनले भने।  

यस विषयमा थप कुराकानी गर्न विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मालाई पटक-पटक फोन गर्दा फोन रिसिभ गरेनन्। त्यही विद्यालयमा पढाइरहेका एक शिक्षकका अनुसार पछिल्लो समय यसको विरोध हुन थालेपछि प्रअ शर्मा हिसाब मिलाउन लागि परेका छन्।

‘केही हिसाब नमिलेको रहेछ, विद्यालयले मिलाउँदै छ,’ ती शिक्षकले भने।

महानगरपालिकाले देखाएन चासो

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कार्कीलेले यसरी विद्यालयमा अनियमितता भएर महानगरपालिकासँग छानबिन गर्न माग गर्दा पनि चासो नदेखाएको बताए।

‘खर्च गर्ने तौरतरिका भनेको ऐनअनुसार गर्नुपर्छ, समितिहरूको बैठक हुनुपर्छ तर यहाँ त प्रअ र अकाउन्टेन्टको हस्ताक्षरमा पैसा निकालिन्छ, यसरी हामीलाई नै केही थाहा नदिइ नक्कली बिल बनाएर पेश गर्न मिल्छ?,’ उनले प्रश्न गरे।

उनका अनुसार महानगरमा निवेदन परेपछि लिखित पत्र काटेको थियो। ‘विभिन्न बुदाँहरूमा प्रश्न गरियो २/३ वटा बुँदाका प्रश्नहरू हचुवामा थियो, प्रशासनको कुरा सोधियो, त्यो त प्रअलाई पो सोध्ने हो, यति भएपछि महानगरपालिकाले केही चासो देखाएको छैन,’ उनले भने।

महानगरपालिकाबाट सत्य तथ्य अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गरिनुपर्ने विद्यालय अभिभावक संघका अध्यक्ष ज्ञवाली र व्यवस्थापन समितिका अध्यक्ष कार्कीको माग छ। उक्त विद्यालय काठमाडौं महानगरपालिकाले ७८ सालमा नमुना विद्यालय घोषणा गरेको थियो। 

काठमाडौं महानगर भन्छ : छानबिन हुँदै छ 

काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सिताराम कोइरालाले उक्त विषयमा छानबिन भइरहेको जानकारी दिए। ‘यहाँ निवेदन परेपछि छानबिन भइरहेको छ,’ उनले भने।

उनका अनुसार निवेदनमा शिक्षकहरूले पनि विद्यालयले उपलब्ध गराएको प्रति शिक्षक प्रतिदिन रू ३५ का दरले विद्यालयमा संचालित चमेना खाजा खाएको उल्लेख छ। उनले महानगरपालिकाबाट  खाजा रकमको व्यवस्था नगरेको त्यो लिएको पाए शिक्षकहरूबाट असुल गरिने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.