|

लमजुङ : पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ। 

आइतबार बिहान लमजुङ र मनाङ जोड्ने  यो सडकखण्डअन्तर्गत खरखरे भिर, हवाइडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिरोले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ। 

‘सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका ४ स्थित तीन ठाउँमा पहिरो गएको हो’, कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, ती पहिरोमध्ये हवाइडाँडामा ठूलो पहिरो गएको छ।’

सो स्थानमा ठूला–ठूला ढुंगासहितको पहिरोले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ। सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन्। यसअघि गत आइतबारसमेत नासों गाउँपालिका–१ तालडाँडामा पहिरोले सडक अवरुद्ध बनाएको थियो। 

त्यस्तै छ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो। यसरी पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ। 

सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रु बताउँछन्। ६५ किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.