|

बैतडी : जहाज नआउँदा बैतडीको पाटन विमानस्थलको धावनमार्ग टिकटक बनाउने थलोका रूपमा परिणत भएको छ।

उडान बन्द भएपछि अहिले धावनमार्गमा टिकटक बनाउने र फोटो खिच्ने स्थलका रूपमा परिणत भएको हो।

बैतडीको पाटन विमानस्थल गत डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा हवाई सेवाबाट वञ्चित हुनुपरेको हो।

यसका साथै धावनमार्गमा पनि घाँस उम्रिन थालेको छ। विमानस्थल संरक्षणका लागि बनाइएको पर्खाल भत्किन र तारजाली पनि समेत चुँडिन थालेको छ।

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो। त्यसयता पाटन विमानस्थलबाट कुनै उडान भएको छैन। यात्रु अभावका कारण उडान भर्न नसकिने समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए। उनले भने, ‘यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो। भाडा महँगो भएकै कारण यात्रु पाउन मुस्किल छ। भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ।’

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीमा शुरुमा तीन हजार सात सयमा हवाई उडान हुने गरेको थियो। पछिल्लो समय भने बढेर पाँच हजार पुगेको छ।

द्वन्द्वकालका वेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द रहेको थियो। २०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका वेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि बन्द भएको थियो।

२६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान र असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा नियमित हवाई सेवा शुरु गरेको थियो।

यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार व्यवसाय फस्टाउने अपेक्षा भए पनि सञ्चालनमा आएको एकवर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनुपरेको पाटनका स्थानीय दिनेश जोशीले बताए। हवाई उडान बन्द हुँदा बिरामीलाई समस्यामा हुने गरेको छ। उनले भने, ‘नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन। नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ।’

करोडौंका संरचना प्रयोगविहीन

डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झण्डै १६ करोडको संरचना प्रयोगविहीन छ। तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीय बासिन्दा डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा करोडौंका संचरना प्रयोगविहीन बनेका छन्।

तीन वर्षअघि ११ करोड रुपैयाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो। त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ। विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका बासिन्दाले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका बासिन्दा लक्ष्मीदत्त पाण्डेयले बताए।

उनले भने, ‘पर्यटनको थुप्रै सम्भावना रहेको यो क्षेत्रमा हवाई सेवा सञ्चालनले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ। त्यसका लागि चाँडोभन्दा चाँडो हवाई सेवा सञ्चालन गर्नुपर्छ।’

नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ छ। भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय जयराज अवस्थीले बताए। उनले भने, ‘भाडा समायोजन गरेर नियमित हवाई सेवा सञ्चालन गर्न आवश्यक छ। भाडा समायोजनले यात्रु पनि पाइन्छन्।’

विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग भएको छैन भने नागरिकले सेवासमेत पाउन सकेका छैनन्। नियमित रूपमा हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको पाटनका नगरप्रमुख गौरीसिंह रावलले बताए। उनले भने, ‘नियमित हवाई सेवा सञ्चालन नहुँदा समस्या छ। नगरपालिकाका तर्फबाट हवाई सेवा सुचारुका लागि पहल भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.