|

म्याग्दी : म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा शुक्रवार लोपोन्मुख जोगीनाच देखाइएको छ।

बेनीबजारको मौलिक कला र संस्कृतिको रूपमा प्रस्तुत गर्ने गरिएको जोगीनाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा युवाले ताण्डव नृत्य सहित नाच देखाएका थिए। नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ।

घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजसम्म विभिन्न नाच देखाइने यो बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ।

जनशक्ति र तयारीको अभावमा हरेक वर्ष देखाउन मुस्किल हुने गरेको जोगीनाच बजारमा ल्याउनुपूर्व महादेव र पार्वतीको पूजा गरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित जोगी बनाएर बजारमा नचाउने गरिएको नेपाल भाषा मंकाः खलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए।

विधिअनुसार नाच प्रस्तुत गरेमा वर्षभर कुलको सुरक्षा हुने विश्वास समेत छ। पुराना पुस्ताले सीप हस्तान्तरण गर्दै दुई सय वर्ष पुरानो बर्खे नाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम समेत दिएका छन्।

बर्खे नाचका दर्जनौं नाच लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरूको जागरणले संरक्षण र संवर्धनमा सक्रिय भएको ल्याम्ह पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार यो वर्षको बर्खे नाचमा करिब एक दशक बढी समयपछि धानको बाला नाच देखाउन लागिएको हो।

बर्खे नाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ। बर्खे नाचमा मृदङ्ग र मादलको तालमा नृत्य देखाउने गरिन्छ।

बर्खे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउँदै एक महिनासम्म विभिन्न नाच प्रस्तुत गरी तीजमा लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.