|

काठमाडौं : गोरखाका लोकनाथ वस्ती चितवन राष्ट्रिय निकुञ्जभित्रको टेम्पल टाइगर रिसोर्टको म्यानेजरसम्म भए। सन् २००० को जुलाइमा उनलाई 'होटल एण्ड टुरिजम हस्पिटालिटी' पढ्न जापान जाने अवसर मिल्यो।

आतिथ्य सत्कारमा संसारमै प्रशिद्ध जापानमा यसै क्षेत्रसँग सम्बन्धित ज्ञान हासिल गर्ने चाहना उनको पनि थियो। चार वर्षमा ग्र्याजुएसन सिध्याएपछि उनले तत्काल नेपाल फर्किने चाहना राखेनन्, बरु जापानमा नै रेष्टुरेन्ट व्यवसाय सुरु गरे। वस्तीले इन्डियन र नेपाली परिकार पाइने निर्भाना नामको रेष्टुरेन्ट सञ्चालन गरे। 'इन्डियन नान, करी जापानमा पनि नयाँ टेष्ट थियो, त्यसैले जापानीहरुले मन पराए' उनले सम्झिए 'त्यतिबेला जापानमा नेपाली र इन्डियन गरी २ सय जति रेष्टुरेन्ट थिए अहिले चार हजार पुगिसके।'

निर्भानासँगै वस्तीले गोरखा प्यालेस र लोटस नामको रेष्टुरेन्ट अनि नेपाली हस्तकलाका सामान पाइने पसल गोर्खा बजार पनि सञ्चालन गरे। जापान गएदेखि नै त्यहाँबाट हरेक वर्ष १०/१२ जना जापानीलाई नेपाल घुमाउन ल्याउँथे। 'मैले जापान पुगेदेखि नै नेपाल र जापानबीच जनस्तरको सम्बन्ध राम्रो बनाउन लागेँ' उनले भने 'जापानी संघसंस्थामा आवद्ध भएर नेपाललाई माया गर्ने मान्छे धेरै बनाउने मेरो चाहना थियो।'

अहिले भने लोकनाथ जापानमा भन्दा नेपालमा बढी बस्न थालेका छन्। दुई महिनाअघि जापानकै एक चर्चित चेन रेष्टुरेन्ट उरुतोरा जापानलाई नेपाल भित्र्याएपछि उनको नेपाल बसाई लम्बिएको छ। उरुतोरा जापानका अध्यक्ष मिजुगुची केञ्जी, वस्ती र अर्का नेपाली प्रकाश पौडेलको संयुक्त लगानीमा काठमाडौंमा दुई महिनाअघि उरुतोरा नेपाल सञ्चालन गरिएको छ।

उरुतोराको १४ औं चेन रेष्टुरेन्टको अध्यक्ष जिम्मेवारीमा लोकनाथ छन्। 'नेपालमा जापानीको लगानी आकर्षित गर्ने उद्देश्यले उरुतोरालाई नेपालमा ल्याएका हौं' उनले भने 'जापानीलाई नेपाल चिनाउने र जापानी प्रविधि तथा नोलेज नेपाल ल्याउने हाम्रो योजना छ।' लोकनाथको विचारमा उरुतोरा जापनका अध्यक्ष केञ्जीले व्यवसाय मात्रै हेरेको भए पक्कै नेपालमा लगानी गर्दैनथे। 'उहाँ नेपाललाई माया गर्ने मान्छे हो, उहाँले नेपालमा लगानी गरेपछि अरु जापानीहरु पनि यहाँ लगानी गर्न आकर्षित हु्न्छन् भन्ने हाम्रो विश्वास छ।'  काठमाडौंको बालुवाटारको रसियन राजदूतावास र शिवपुरी स्कुलको बीच क्षेत्रमा साढे २ करोडको लगानीमा जापानी उरुतोरा सञ्चालन गरिएको छ।

लगानीको हिसाबले तत्कालै मुनाफा कमाउन सक्ने अवस्था वस्तीले देखेका छैनन्। तर यसले जापानी आतिथ्यता संस्कार नेपालमा भित्र्याउने र विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्न प्रोत्साहन दिने उनी बताउँछन्। 'विदेश गए पनि हाम्रो नातागोता आफन्त यहीँ छन्। ७० लाख नेपाली विदेशमा छन्। त्यसको आधामात्रै फर्किएर नेपालमा लगानी गर्ने हो भने धेरै विकसित हुन्छ' उनले भने। विदेशमा बस्नेलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्नका लागि नेपालमा व्यवसाय सुरु गरेको वस्तीले बताए। व्यवसाय गर्दै जाँदा एक दिन मुनाफा आर्जन हुनेमा पनि उनी विश्वस्त छन्। 

उनको रेष्टुरेन्टमा धेरैजसो जापानी र केही नेपाली गरी १०० भन्दा बढी परिकार पाइन्छ। जापानमा चर्चित परिकार सुसी, सासिमी, अण्डा र चिकेनका जापानी परिकारहरु पाइन्छ। जापानी परिकार पकाउन एक जना जापानी सेफ नै छन्। सुसी (काँचो माछामा पकाइएको चामल राखेर बनाइने परिकार) जापानकै चर्चित परिकार हो। जापानी परिकारहरु धेरैजसो सामुद्रिक खानेकुरामा आधारित हुन्छ। रेष्टुरेन्टले जापानी परिकारका लागि आवश्यक वस्तुहरु थाइल्याण्डबाट आयात गरिन्छ। अण्डा, कुखुरा  र सागसब्जीहरु नेपाली नै प्रयोग गरिन्छ।

रेष्टुरेन्टमा पारिवारिक, अफिसियल, भीआईपी लगायतका ग्राहकका लागि आवश्यकता अनुसारका कोठाहरु उपलब्ध छन्। सेपरेट रुम, भीआईपी रुम, बच्चा खेल्ने छुट्टै ठाउँ, मिटिङ रुम, फ्यामिली रुम र आउट साइड सिटिङहरु प्रशस्त छन्। एक पटकमा एक सय जना भन्दा धेरै अटाउन सक्ने वस्तीले बताए। रेष्टुरेन्टमा  १०० भन्दा बढी सवारी साधन अटाउने पार्किङस्थल पनि छ।

अहिले रेष्टुरेन्टको मुख्य ग्राहकमा भीआईपी बढी छन्। जापानी र अन्य देशका कुटनीतिक नियोगका अधिकारीहरु पनि नियमित ग्राहक छन्। 'सोचेभन्दा राम्रो भएको छ' उनले भने नेपालीहरु पनि विदेश घुम्ने, बाहिर खाने प्रचलन बढिसकेछ, जापानी खानाप्रतिको रुची बढेको पाइयो।'

जापानी खानाबारे थाहा पाएर र पहिलो पटक स्वाद लिन आउने पनि धेरै छन्। 'हामीले जापानी क्वालिटी, टाइमिङ र जापानी स्टाइलमा नै खाना दिने कोशिस गरेका छौं' उनले भने। अब छिट्टै पोखरा र चितवनमा पनि रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको वस्तीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.