|

तुलसीपुर : तुलसीपुर उपमहानगर-१७ बनकट्टीस्थित नेपाल संस्कृत विश्वविद्यालयको ३५ बिघा जमिन भाडामा लिएर ५ जना युवाले पुष्पखेती गरेका छन्।

वार्षिक १६ लाख रुपैयाँ भाडा दिएर नेचुरल एग्रो एण्ड नर्सरीमार्फत अहिले १६ बिघामा फूलखेती गरेको व्यवसायी बुद्धिराज पौडेलले बताए।

उनले २०७७ सालदेखि पुष्पखेतीसँगै नर्सरी व्यवसाय गर्दै आएका थिए तर योपटक आफूसहित अन्य ४ जना युवा मिलेर पुष्पखेती गरेको उनले बताए। उनले भने, ‘पुष्पखेती व्यवसाय राम्रो छ। केही चुनौती पनि छ। म यसबाट सन्तुष्ट छु।’

अहिलेको समयका लागि करिब ६ बिघा जमिनमा ३ लट फूल रोपिएको छ। तीमध्ये पहिलो लटको फूल लटरम्म फूलेका छन्। दोस्रो लटका फूल फुल्दै छन् भने तेस्रो लटको फूल कोपिला अवस्थामा रहेका छन्। यस्तै बाँकी १० बिघा क्षेत्रमा तिहारका लागि सवा १ लाख सयपत्रीका बिरुवा रोपिएको उनको भनाइ छ।

उनका अनुसार बाह्रै महिना दैनिक २ क्विन्टल फूल उत्पादन गर्ने लक्ष्यका साथ यो खेती गरिएको र भारतबाट हुने आयात रोक्ने उद्देश्य रहेको छ। उनले भने, ‘पछिल्लो समय सरकारले पनि प्लास्टिकजन्य वस्तुको प्रयोग निरुत्साहित गरेको छ। चाडपर्व, विभिन्न कार्यक्रममा पनि फूलको प्रयोग बढ्दो छ। यसले फूलको माग बढ्दो छ।’

गत वैशाखदेखि नै फूल उत्पादन भइरहेको र त्यो फूल जिल्लामा मात्र नभई छिमेकी जिल्लामा पठाउँदै आएको उनको भनाइ छ।

उनका अनुसार थाइल्याण्डमा उत्पादित बीउको पुष्पखेती गरिएको छ। नेपालमै उत्पादित हाइब्रिड प्रजातिको बीउ नभएको र अन्य बीउ लगाउँदा उत्पादन कम हुने समेत उनले बताए।

बाहिर जिल्ला पठाउँदा समस्या
पौडेलका अनुसार उत्पादित फूल बाहिर जिल्ला पठाउँदा धेरै समस्या हुने गरेको छ। सडक सञ्जाल राम्रो नहुँदा र जिल्लाबाट नियमित हवाई सेवा नहुँदा ढुवानीमा समस्या भएको उनको भनाइ छ।

उनले भने, ‘सडकबाट पठाउँदा कतिवेला सडक बन्द हुन्छन्, थाहै हुँदैन। हवाईबाट पठाऊँ भन्दा सेवा नियमित छैन। तोकिएको समयमा फूल नपुगेपछि त्यो प्रयोग गर्न मिल्दैन।

भारतबाट आउने फूल प्रमुख समस्या
उनका अनुसार भारतबाट भन्सार नतिरेर आउने फूलले समस्या हुन्छ। यस्तै राज्यले स्वदेशमा भएका बस्तुलाई माथि उठाउन त्यस्ता बस्तु आयातमा निरुत्साहित गर्न सके आफू जस्ता व्यवसायीलाई फाइदा पुग्ने र स्वदेशको पैसा बाहिर नजाने समेत उनले बताए।

उनका अनुसार तराईका जिल्लामा भन्सार नतिरेर भारतबाट फूल आउँदा यहाँ उत्पादित फूल कम प्रयोग हुन्छ।  

वार्षिक १६ लाख भाडा, पानीको समस्या
३५ बिघा जमिनको भाडा वार्षिक १६ लाख रहेको र प्रतिवर्ष १० प्रतिशत बढ्ने सम्झौता भएको छ। जग्गा भएका ठाउँ सिँचाइ नहुँदा चैतवैशाखमा समस्या हुने गरेको उनको भनाइ छ।  

हालसम्म नर्सरीमा डेढ करोड खर्च भइसकेको छ भने सयपत्रीमा मात्रै ३० लाख खर्च भएको उनले बताए। वार्षिक ४० लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको समेत उनको भनाइ छ। तिहारमा मात्रै कम्तिमा ३ सय क्विन्टलभन्दा बढी फूल बेच्ने लक्ष्यका साथ १० बिघामा ७-७ दिनको अन्तर पारेर ५ लट बिरुवा रोपिएको उनले बताए।

अहिले यो नर्सरीमा १२ जना कर्मचारीले मासिक तलबमा काम गरिरहेका छन्। बिरुवा रोप्दा, गोडमेल गर्दा, सिजनका वेला र धेरै फूल तथा मालाको माग हुँदा अन्य कामदार पनि प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

नर्सरीमा फूल खेतीसँगै तरकारी खेती पनि गरिएको छ। १५ हजार बोट काउली, ७ क्विन्टल बढी आलु रोपिएको छ भने करिब २ बिघा जग्गामा अदुवा, बेसार, बदाम, मुङ रोपिएको छ। त्यस्तै ४ बिघामा केराखेती र २ बिघामा चिनियाँ दूबोको खेती गरिएको छ।

प्रविधि र चिस्यानको समस्या
उनका अनुसार फूल दैनिक उत्पादन भइरहँदा एकैपटक बाहिर पठाउन समस्या हुने भएकाले चिस्यान केन्द्रको अभाव रहेको छ।

उनले भने, ‘बिरुवा उत्पादन गर्न प्रविधिको समस्या रहेको छ। फूललाई निश्चित एउटा तापक्रम आवश्यक पर्छ। त्यसका लागि स्टोर गर्ने ठाउँको अभाव छ। त्यो भएको खण्डमा हामीले धेरै उत्पादन गर्न सक्थ्यौँ।’

यस्तै उनले सरकारले अन्य बस्तुमा यसका सहयोग गरे आफूहरूलाई सहज हुने बताए। ढुवानी र बजारीकरणमा पनि सहज गरे अझै आफूहरूलाई सहज हुने उनको भनाइ छ।

दैनिक एक सय किलो फूल उत्पादन
अहिले दैनिक करिब एक सय किलो फूल उत्पादन भइरहेको समेत उनले बताए। ६ बिघा जग्गामा फूल फुलिरहेको भन्दै उनले दैनिक २ सय किलो उत्पादन गर्ने लक्ष्य रहेको बताए।

वैशाखदेखि शुरु गरे पनि असारसम्म सोच जस्तो उत्पादन नभएको र अहिले उत्पादन बढ्दै गइरहेको उनको भनाइ छ।

वार्षिक साढे लाख बिरुवा उत्पादन
पौडेलले तुलसीपुर-८ दुधेनामा नर्सरी व्यवसाय पनि गर्दै आएका छन्। उनका अनुसार मौसमी र अन्य समयका लागि वार्षिक साढे २ लाख बिरुवा उत्पादन हुँदै आएको छ। विभिन्न बिरुवासँग मौसमअनुसारका फूलका बिरुवा पनि उत्पादन हुने उनको भनाइ छ।

एकदुई वर्षअघि तिहारका वेला फूलको धेरै अभाव हुँदा करिब ७ रुपैयाँ किलोसम्म तिर्नुपरेपछि पुष्पखेती गरिएको खेमराज शर्माले बताए।

उनका अनुसार कर्मा १११, कर्मा ५५५, कर्मा ७७७, कर्मा श्वान ह्वाइट र मालासिस जातका सयपत्री‚ मखमली र गोदावरी फूल पनि रोपिएको छ। सबै बीउ कर्मा कम्पनीमा रहेका र काठमाडौँबाट ल्याएर लगाउने गरेको उनको भनाइ छ।

रोपेको ५५-९० दिनमा फुल्छ
उनका अनुसार आफूहरूले रोपेका फूलहरू जातअनुसार ५५ दिनदेखि ९० दिनमा फुल्छन्। फूल टिप्दै जाँदा फेरि नयाँ हाँगा पलाउने भएकाले करिब ३ महिनासम्म एउटै बोटबाट पुष्प टिप्न सकिने उनले बताए। यस्तै उत्पादन भएको फूल प्रतिकिलो साढे ३ रुपैयाँका दरले बिक्री गर्दै आइरहेको भन्दै उनले प्रतिमाला ८० रुपैयाँमा दिने गरेको पनि बताए।

यस्तै तिहारमा पनि योभन्दा माथि मूल्य नजाने उनको भनाइ छ। तिहारका लागि सवा एक लाख सयपत्री फूलका बिरुवा लगाएको र करिब ३ सय क्विन्टल उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले बताए।  अहिले बेमौसममा पनि राम्रो बिक्री भइरहेको समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.