|

काठमाडौं : प्रथम शहीद लखन थापामगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तकको विमोचन गरिएको छ। 


बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन्। प्रथम शहीद घोषणा भएको आठौँ बार्षिकोत्सवको अवसर पारेर पुस्तकको बिमोचन गरिएको प्रथम शहीद लखन थापामगर स्मृती प्रतिष्ठानले जनाएको छ। 

प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा समावेश सामग्रीहरूको संकलन र सम्पादन जीवन आले मगरले गरेका हुन्। उक्त पुस्तकमा चार खण्ड रहेका  छन्। खण्ड ‘क’ मा शहीद लखन थापाको समसामयिक सन्दर्भका सामग्रीहरू उल्लेख गरिएको छ।

खण्ड ‘ख’ मा इतिहासकारहरूले आफ्नो पुस्तकहरूमा लखन थापाले आन्दोलनमा निर्वाह गरेको भूमिका र योगदानको बारेमा उल्लेख गरेका कुराहरूलाई समावेश गरिएको बताइएको छ। खण्ड ‘ग’ मा जीवनी पुस्तकमा लखन थापाको बारेमा समेटिएका बिषयवस्तु र खण्ड ‘घ’ मा खोजअनुसन्धानकर्ता र लेखकहरूले आफ्नो लेखहरूमा थापाको बारेमा उल्लेख गरेका कुराहरूलाई समावेश गरिएको छ। लखन थापाको समग्र अध्ययन र जानकारीका लागी उक्त पुस्तक उपयोगी हुने बताइएको छ।

प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमको अवसरमा लखन थापालाई परिचित र सम्मानित गराउन भूमिका खेल्ने गोरखाका तीनसहित १८ जना सम्मानित भएका छन्। सम्मानित हुनेहरूमा रुलबहादुर आले, चिरञ्जीवी वाग्ले, चीनकाजी श्रेष्ठ, डा. मिनेन्द्र रिजाल, सुरेश आले मगर, अमरसिंह पुन, शिवलाल थापामगर, प्रा.डा. श्रीरामप्रसाद उपाध्याय, बाबुराम सिंह थापा क्षेत्री, त्रिलोक सिंह थापामगर र डा. हर्षबहादुर बुढा मगर रहेका छन्। त्यस्तै इतिहासकार प्रा.डा. तुल्सीराम वैद्य, चित्रकार टेकबीर मुखिया, गोरे बहादुर खपाङ्गी, क्याप्टेन यमबहादुर बुढाथोकी, लखन थापाका सन्तति विनोद थापामगर, क्रिपासुर शेर्पा, उच्च अदालत धनकुटाका न्यायाधीश रामबहादुर थापा पनि सम्मानित भएका छन्। सँगै नेपाल मगर संघलाई पनि सम्मान गरिएको छ। कदर पत्रले उनीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रमकै अवसरमा प्रतिष्ठानले सात बुदेँ मागसहितको ज्ञापन पत्र गृहमन्त्रीलाई बुझाएको छ। लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, थापासँगै मारिएका अन्य ६ जनालाई पनि शहीद घोषणा गर्नुपर्ने, थापाले शहादत प्राप्त गरेको दिन फागुन २ लाई राष्ट्रिय दिवसको रुपमा मनाइनुपर्ने र थापाको प्रेरणा मूलक जीवनी विद्यालय र विश्व विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने उनीहरूको माग छ।

बुंकोटमा रहेको विद्रोही किल्लाको उत्खनन र त्यहाँ रहेका पुरातात्विक सामग्रीहरूको सम्वद्र्धन र विकासका लागि आवश्यक योजना र बजेटको व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन्। प्रथम शहीदको नाममा संग्रहालयको निर्माण, राष्ट्रिय सम्मान तथा विभूषणको घोषणा र आर्थिक सामाजिक पूर्वाधारहरूको निर्माण गरी प्रथम शहीदलाई आम रुपमा परिचित गराई सम्मानको वातावरण निर्माण गर्नुपर्ने उनीहरूको माग छ। लखन थापाको नाममा सरकारी प्रतिष्ठानको निर्माण गरी अध्ययन अनुसन्धान तथा तथ्य प्रमाणको दस्तावेजीकरण गर्ने व्यवस्था मिलाउन समेत ज्ञापन पत्रमार्फत माग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.