अन्तिम चारका खेल शनिबार

|

ललितपुर : तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा रेडियन्ट पब्लिक स्कूल, मेगस स्कूल‚ ब्राइट होराइजन र लिटिल एन्जल्स स्कूल सेमिफाइनलमा पुगेका छन्। 

शुक्रबार कीर्तिपुरस्थित पुष्पसदन स्कूलको बास्केटबल कोर्टमा सम्पन्न सिनियर ब्वाइजतर्फको खेलमा रेडियन्ट पब्लिकले आयोजक पुष्पसदन स्कूललाई ४४–३० अंकको अन्तरमा हराएको छ। विजेता टिमका लमिकले सर्वाधिक १७ स्कोर गरे। 

यस्तै अर्को खेलमा एलएले भ्याली भ्यू स्कूललाई ४१–३८ को स्कोरमा पाखा लगाएको छ। एलएका लागि लक्की महर्जनले सबैभन्दा बढी २२ स्कोर गरे। 
यसैगरी आशिष थापा मगरको सर्वाधिक ३९ स्कोरको मद्दतमा मेगसले ज्ञानोदय स्कूललाई ५८–३६ को अन्तरमा निराश बनायो।

अर्को खेलमा ब्राइट होराइजनले आईएमएस स्कूललाई ५७–४५ को स्कोरमा पाखा लगाएको छ। ब्राइट होराइजनका ज्योतिषले सर्वाधिक २४ स्कोर गरे। 

सेमिफाइनलका खेलहरू भोलि 

शनिबार सेमिफाइनलका खेलहरू हुँदै छन्। बिहान ७ बजे जुनियर ब्वाइजतर्फ ग्रिनफिल्ड र ब्राइट होराइजन स्कूलबीच प्रतिस्पर्धा हुँदा ८ बजे सिनियर ब्वाइजतर्फ ब्राइट होराइजन र मेगस स्कूलबीचको खेल हुनेछ।

यसैगरी बिहान ९ बजे सिनियरतर्फ नै रेडियन्ट पब्लिक र लिटिल एन्जल्स स्कूलबीच भिडन्त हुनेछ। १० बजे जुनियर ब्वाइजतर्फ रेडियन्ट पब्लिक र जनसेवा मावि आमनेसामने हुनेछन्। 

आइतबारसम्म चल्ने प्रतियोगितामा उपत्यकाका विभिन्न २५ वटा विद्यालय सहभागी छन्।

प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ। 
प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.