|

तुलसीपुर : तुलसीपुर उपमहानगर-६ का हरि न्यौपानेलाई तुलसीपुर-घोराही सडकखण्ड मर्मत गरेको देख्दा जनताको आँखामा छारो हाले जस्तो लाग्छ।

दुई लेन सडकलाई चार लेनको बनाउने भनेर २०७५ सालमा काम शुरु भएपछि उनलाई सडक राम्रो बन्ला भन्ने लागेको थियो।

चार लेन सडक बीचमै अलपत्र पर्दा धुलो र हिलोबाट आजित उनलाई अहिले मर्मत हुन लागेको सडक पनि धेरै दिन नटिक्ने लाग्छ।

उनले भने, ‘अहिले बिग्रेको ठाउँमा सडक मर्मत भइरहेको छ तर त्यो गुणस्तरीय छैन। पुरानो पिच धेरै राम्रो छ। अहिले गरिरहेको पिच बढीमा २-३ महिना टिक्ला, यस्तो काम नगरेकै राम्रो। २-४ महिना देखाउनका लागि राज्यको ढुकुटी मात्र सक्ने हो?’

उनका अनुसार गुणस्तरहीन काम गर्दा राज्यको पैसा सकिने र जनताको आँखामा छारो हाल्ने मात्र काम भयो।

यसैगरी कमलप्रकाश शर्माले पनि अहिले मर्मत भइरहेको बाटोको गुणस्तरमा प्रश्न गर्छन्। लामो समयसम्म यो सडक निर्माण नहुँदा यहाँका बासिन्दामा वितृष्णा फैलिएको भन्दै उनले सडककै कारण धेरै मानिसले अकालमै ज्यान गुमाएको बताए।

एउटा नमुनाको रूपमा रहेको सडक लामो समयसम्म अलपत्र हुँदा संघीय सरकारलाई चुनौतीको विषय बनेको हुँदा अहिले टालटुल गर्न लागेको भन्दै उनले यो धेरै दिन नटिक्ने दाबी गरे। जिल्लाबाट धेरै सांसद र मन्त्री बने पनि यो बाटोको चिन्ता नभएको उनको भनाइ छ।

उनका अनुसार नेताहरूले यो बाटोलाई चुनावका वेला एजेन्डा बनाउने र जितेपछि विभिन्न बहाना गरी उम्कने गरेका छन्।

उनले भने, ‘अहिले मर्मत भइरहेको छ। मैले बाटो मर्मतमा प्रयोग हुने सामग्री पनि हेरेँ। यो केही दिनका लागि मात्र हो। न यहाँ कुनै इन्जिनियर छन्, न कुनै स्थानीय नै, आफ्नै तरिकाले मर्मत भइरहेको छ। पानी परेको खण्डमा यो एकदुई दिनमै भत्किन्छ।’

राज्यले करोडौँ लगानी गरेर काम भइरहेको ठाउँमा अनुगमन गर्नुपर्ने समेत उनको भनाइ छ। 

दुई लेनमा मात्रै मर्मत

सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विकका अनुसार गत असार १८ गते सडक मर्मतका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। यही असोज मसान्तसम्म सडकको काम सकिने उनले बताए। उनका अनुसार सडक मर्मतको काम दुई प्याकेजमा गरिएको छ।

तुलसीपुरको हात्तीखौवादेखि घोराहीको सेवार खोला र सेवार खोलादेखि पूर्व कुइरेपानीसम्म गरी दुईवटा निर्माण कम्पनीले जिम्मा पाएका छन्। हात्तीखौवादेखि सेवार खोलासम्मको सडक मर्मत गर्ने ठेक्का रोल्पा स्वच्छन्द निर्माण सेवाले १ करोड १६ लाखमा पाएको छ।

सेवार खोलादेखि पूर्व कुइरेपानीसम्म सडक मर्मतको ठेक्का रोल्पा निर्माण सेवाले १ करोड ४२ लाख रुपैयाँमा पाएको हो। अहिले दुबै ठाउँमा सडक मर्मत भइरहेको कार्यालयले जनाएको छ।

इन्जिनियर विकका अनुसार अहिले सडकमा भएका खाल्टाखुल्टी मर्मत गरेर यातायात सहज बनाउन उद्देश्यले मर्मत शुरु भएको हो।

उनले भने, ‘यो पक्की मर्मत कार्य हो। सडकका खाडलमा बेस हालेर अलकत्रा राखी पक्की मर्मत गरिन्छ। यो २ सेन्टिमिटर पक्की हुन्छ। सडक मर्मतको अन्तिम म्याद असोज मसान्त भए पनि पानी परिरहेकाले काममा समस्या हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.