|

दाङ : दक्षिणी इजरायलमा भएको आक्रमणमा दाङको दंगीशरण गाउँपालिका-३ हेकुलीका २३ वर्षीय प्रवीण डाँगी घाइते भएका छन्। 

प्रवीणको खुट्टामा गोली लागेको र सोमबार अप्रेशन भैरहेको जानकारी आफूलाई आएको उनका बुवा निमबहादुर डाँगीले बताए। गत शनिवार कोठामै बसेको समयमा प्रवीण आक्रमणमा परेको र पछि बङ्करमा गएर ज्यानसम्म जोगाएको प्रवीणले फोनमा परिवारलाई बताएका थिए।  

उनले म मरे पनि घरमा आमाको उपचार गराइदिनु भन्दै अनुनयसहितको पठाएको छोटो भिडियो सन्देश सामाजिक सञ्जालमा बाहिर आएपछि आफूहरू बेचैन भएको उनका बुवा निमबहादुरले बताए। 

आइतबार बेलुका ७ बजे इजरायलमा १० वर्षदेखि बस्दै आएकी नेपाली महिलाको सहयोगमा छोरासँग कुरा भएपछि आफूहरूलाई केही राहत भएको उनको भनाइ छ।

स्थानीय विद्यालयमा शिक्षणमा आबद्ध निमबहादुर विद्यालय नगएर छोराको अरु केही खबर आउँछ कि भन्दै घरमै बसे। फोनबाट र घरमै पनि सान्त्वना दिन उनको घरमा स्थानीय तथा आफन्तहरू आइरहेका छन्।

आउनेहरूको भिडले निमबहादुरको घर भरिएको छ तर गोडाको समस्याबाट पीडित प्रवीणकी आमा टङ्ककुमारी भने कसैसँग बोल्न सकेकी छैनन्। विसं २०७५ सालदेखि बिएससी एजी पढिरहेका प्रवीण गत भदौ २६ गते ११ महिनाको अभ्यास शिक्षणका लागि इजरायल गएका थिए।

निमबहादुरले भने, ‘एक महिना नपुग्दै यस्तो घटना सुन्न पर्दा धेरै दुःखित छौँ। अहिले छोराको अप्रेशन भयो भन्नेसम्म सुनिएको छ। त्योभन्दा पछाडि केही कुरा भएको छैन।’ 

उनका अनुसार शनिबार घटना घटेपछि उनीहरुले यसबारे थाहा पाएका थिए। ‘हामी निकै चिन्तित थियौँ। शनिबार राति छोराको एउटा भिडिओ सामाजिक सञ्जालमा आएको रहेछ‚’ उनले भने‚ ‘त्यो भिडिओ हामीले देखेपछि हाम्रो छोरा पनि परेछ भन्ने थाहा भयो।’

उनले भोलिपल्ट (आइतबार) छोरासँग छोटो कुरा भएको बताए। ‘उ एकदमै रक्ताम्मे अवस्थामा थियो। छोराको त्यो अवस्था देखेपछि मैले उसलाई हेर्न सकिनँ‚’ उनले भने‚ ‘फेरि साँझ एक जना भगवानरूपी नेपाली दिदीले उसलाई उपचारमा सहयोग गरेपछि अब मेरो छोरा बाँच्छ भन्ने आश पलायो।’ 

तिनै दिदीले नै छोरालाई उपचार भइरहेको अस्पतालबाट अर्को अस्पतालमा लिएर अप्रेशन गराएको भनेर आफूलाई जानकारी दिएको उनले बताए। 

उनले भने, ‘बाबुका साथीहरूले फोन गरेका थिए- अप्रेशन भइसकेको छ‚ चिन्ता नलिनुहोस्।’

‘सरकार छ भन्ने महसुस भएन’

यसरी इजरायलमा आफ्ना छोरालगायत अन्य विद्यार्थीहरू छटपटाइरहेको अवस्थामा अहिलेसम्म सरकारले कुनै चासो नदिएको उनको गुनासो छ। 

उनले भने, ‘राजदूतावासमा फोन गर्दा फोन उठ्दैन‚ उठे पनि हामीलाई उल्टै थर्काउँछन्। त्यहाँ त्यसरि बसेका कसका कर्मचारीहरू हुन्? देशका नेताहरूले आफन्त र नातेदारलाई मात्र राजदूतावासमा पठाउने गर्दा विदेशमा रहेका नेपालीहरूले यसरी दुःख पाइरहेका छन्।’

सरकार धनीका लागि मात्र भएको र गरिबका छोराछोरीहरूका लागि नभएको गुनासोसमेत उनले गरे।

उनले भने, ‘यो अवस्थामा अहिले नेताहरूका आफन्त भए, रातलाई दिन र दिनलाई रात नभनि उद्धार गर्ने थिए तर हामी गरिबका छोराछोरी अहिले विदेशमा छटपटाइरहँदा कुनै वास्ता छैन। सुदूरपश्चिम विश्वविद्यालयमा पढ्ने दुई/अढाई सय विद्यार्थीमध्ये ४९ जना गरिबका छोराछोरी त्यहाँ गएका थिए।’

उनीहरूलाई हेर्नु र उद्धार गर्नुको साटो सरकारले विज्ञप्ति निकालेर घटनाको भर्त्सना गर्ने काम मात्र गरेर झारा टारेको उनले बताए। 

कसरी आफ्ना नागरिकलाई छिटोभन्दा छिटो उद्धार गरौँ, कसरी तिनको उपचार गरौँ, कति हतास भएका छन् भन्ने बारेमा सरकारले कुनै चासो नलिएको उनको भनाइ थियो।

स्थानीय गंगाराम डाँगीले इजरायलमा रहेकाहरूको उद्धारका लागि सरकारसँग आग्रह गरेका छन्। उनले विभिन्न देशहरूले आफ्ना नागरिकको उद्धार गरिरहेको अवस्थामा नेपालले अहिलेसम्म केही नगरेको भन्दै दुःख व्यक्त गरे। 

उनले भने, ‘हामीलाई त यो देशमा सरकार नै छैन जस्तो लागेको छ। १० जना  विद्यार्थीले अकालमै ज्यान गुमाएका छन् भने अरु घाइते भएर छटपटाईरहेका छन्। उनीहरूको उपचार र उद्धारका लागि सरकारले  ध्यान नदिएको जस्तो छ।’

यसैबीच सुदूरपश्चिम विश्वविद्यालयबाटै अध्ययनका लागि इजरायल आएको बताउँदै विपिन सुवेदीले आइतबार आफ्नो फेसबुकबाट २ मिनेट ३६ सेकेन्डको भिडियो सेयर गर्दै सरकारसँग तत्काल उद्धारका लागि अनुरोध गरेका छन्।

भिडिओमा ३ दिनदेखि बङ्करमा ५ जना कठिन त्रासदीमा बसिरहेको उनले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.