|

दाङ : तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौर तोप्पापानी टोलका महावीर वलीलाई यसपटक घोराही–हापुर–रक्षाचौर आँखा अस्पताल जोड्ने  सडक कालोपत्रे हुन बाँकी रहेको सडक यस वर्ष बन्ने आशा थियो। घोराही देखि शिवपुरसम्म कालोपत्रे भइसकेको सडकको बाँकी भाग कालोपत्रे गर्न  अहिले १४ करोड ४० लाख बजेट आएको भन्ने थाहा पाएपछि उनी मात्र नभई त्यहाँका अन्य स्थानीय पनि निकै खुशी थिए।

तर, केही दिन यस सडकको लागि आएको बजेट संशोधन गरी अन्य ठाउँमा लैजान लागेको भन्ने सुनेपछि आफूहरू निकै दु:खी भएको उनले बताए।  २०४९ सालमा ट्रयाक खोलिएको सडक अहिलेसम्म पनि निर्माण पूरा नहुनेमा यहाँका नेताहरूको कमजोरी भएको भन्दै उनले सडक राम्रो नहुँदा आफूहरूले धेरै समस्या पाएको बताए।

उनले भने,‘ यो सडक आज बन्ला, भोलि बन्ला भन्दै हामीले पर्खेको बसौँ भयो। तर, अहिलेसम्म बन्न सकेको छैन्। यसपटक बन्ने आशामा हामी थियौँ। तर, यहाँको बजेट अन्य ठाउँमा जान लागेको भन्ने कुरा सुनेपछि फेरि हामी निराश बनेका छौँ।’

उनले यस सडकको लागि आएको बजेट अन्यत्र नलैजान आग्रह गरे। उनका अनुसार कुटिचौरबाट घोराही – तुलसीपुर सडक जानको लागि ५ किलोमिटर दूरी रहेको छ। तर, यो सडक बनेको खण्डमा रक्षाचौर र घोराही जान यस क्षेत्रका नागरिकहरूलाई सहज हुन्छ। यस्तै अर्का स्थानीय टुक बहादुर बिकले सबै कुराले पछाडि परेको ठाउँ भएको भन्दै यस पटक सडक बन्न आशा रहेकोमा अहिले फेरि यहाँका बजेट अन्यत्र जान लागेको कुराले दु:खी बनाएको बताए।

कच्ची सडक हुँदा बर्खामा हिलो र हिउँदमा धुलोले सताउने गरेको उनको भनाइ छ। यस सडक निर्माणको लागि आएको बजेट अन्यत्र गएमा यहाँका नागरिकहरूलाई धेरै असर हुने समेत उनले बताए।

उनले भने,‘यो सडक निर्माण गर्नको लागि १४ करोड बजेट रेखा शर्माले हालेको भन्ने हामीले सुनेका थियौँ। तर, अब सडक निर्माण होला, भन्ने बेलामा यो बजेट अन्य ठाउँमा जान लागेको हामीले थाहा पायौँ। जसले गर्दा हामी निकै दु:खी भएका छौँ।’

उनका अनुसार सडक राम्रो नहुँदा गाउँमा कोही बिरामी भए पनि भनेको समयमा एम्बुलेन्स समेत आउन मान्दैनन्। अटोलाई बोलाउँदा पनि बाटो राम्रो नभएको भन्दै आउँदैनन्। हामीले धेरै समस्या भोग्दै आएका छौँ।  यस्तै अर्का हरि बहादुर रोकाले पनि नेताहरूले अहिलेसम्म सडक बनाउने भनेर आश्वासन मात्र दिने गरेको बताए।

उनले भने,‘यहाँ आएको बजेट अन्त जान लागेको भन्ने कुरा हामीले पनि सुनेका छौँ। तर, वास्तविक के हो रु हामीलाई थाहा छैन्। यो क्षेत्रका नागरिकहरूले सडकका कारण निकै सास्ती भोगेका छन्। हामीलाई घोराही र तुलसीपुर जान एकदमै छोटो पर्ने यो सडक हो। हामी बिजौरी जाँदा यो सडक राम्रो भएमा रक्षाचौर पुग्न सक्छौँ। हेमन्तपुर जाँदा शिवपुर पुग्छौँ। त्यसैले माथिल्लो भेगका नागरिकहरूलाई यो सडक अति आवश्यक छ।’

२०४९ सालमा ट्रयाक खोलेको यो सडक बन्ने आशामा आफूहरू अहिलेसम्म बसी रहेको भन्दै उनले सडक कालोपत्रेसँग पूर्वमा लामाखोला र पश्चिममा ग्वारखोलामा पुल बन्नु पर्ने समेत बताए। यी दुई वटा खोलाहरूमा पुल नहुँदा समस्या हुने गरेको समेत उनले  बताए।

यस्तै अर्का स्थानीय कर्ण बहादुर वलीले धेरै वर्ष हुँदा पनि  अहिलेसम्म सडक निर्माण पुरा नभएको भन्दै आफूहरूले धेरै समस्या भोग्दै आएको बताए। यस पटक सडक बन्ने भनेर आफूहरू ढुक्क  भएको अवस्थामा यहाँ आएको बजेट अन्त जान लागेको भन्ने कुरा सुनेपछि आफूहरूलाई नेताहरूले भोटको लागि मात्र प्रयोग गर्ने बताए।

उनले भने,‘हामीले त अहिलेसम्म जे जस्तो दुख कष्ट भोग्दै आएको छौँ। यो सडक छिट्टै बनेमा हाम्रा सन्तानले यस्तो नभोगून् भन्ने हाम्रो इच्छा थियो। तर, फेरि बजेट अन्त जान लागेको भन्ने सुनेपछि  धेरै दुख लागेको छ। यहाँ आएको बजेट कुनै पनि हालतमा अन्त लग्नु हुँदैन। हामी पनि यही देशका नागरिकहरू हौँ। नेताहरूले आफ्नो स्वार्थको लागि आफ्नो भोटको लागि अन्त लग्नु हुँदैन।’

 योजना कार्यान्वयनको लागि मन्त्रालयलाई उपमहानगरको आग्रह

तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८० र ८१ को बजेटमा घोराही–हापुर–रतनपुर– बिजौरी– खाद्रे– रक्षाचौर सडक ९ बाँसगजेरी– रक्षाचौर सडकको कालोपत्रे समेत गर्नको लागि १४ करोड ४० लाख बजेट विनियोजन भएकोमा हाल कार्यक्रम संसोधन गरी अन्यत्र कार्य हुन थालेको भनी सूचना  प्राप्त भएको हुँदा साविककै योजनामा कार्यान्वयन गर्न आग्रह गरेको छ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले ग्रामीण सडक सञ्जाल सुधार योजना कार्यान्वयन इकाइ , बुटवल  र शहरी विकास मन्त्रालय काठमाडौंलाई योजना कार्यान्वयन गर्नको लागि सिफारिस गरेका छन्।

यो विषयको बारेमा संसद्‍मा कुरा उठ्यो

दाङ निर्वाचन क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक गिरीले यो सडकको बजेट अन्यत्र जान लागेको भन्दै संसद्‍मैसमेत कुरा उठाएका छन्। उनले रातो किताबमा उल्लेखित बजेट केही कमिसनखोरहरूले त्यो बजेट सार्न षड्यन्त्र गरेको भन्दै आपत्ति जनाए। उनले विनियोजन बजेट नसार्न चेतावनीसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.