|

मानेभञ्ज्याङ (भारत) : बिएसके जलपाइगुडी सातौँ मानेभञ्ज्याङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडीमाथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको हो।

खेलको सुरुवातबाट दबाब बनाएको जलपाइगुडीले ५ औँ मिनेटमा अग्रता बनाउन सफल रह्यो। करण राईले जलपाइगुडीका लागि फ्रीकिकमार्फत पहिलो गोल गरे।

१९ औँ मिनेटमा सिलिगुडीले खेल बराबरी गर्न सफल रह्यो। १९ औँ मिनेटमा अनिश राईले फ्रीकिकमार्फत गोल गरेका थिए। २३ औँ मिनेटमा करणले व्यक्तिगत दोस्रो गोल गरे। २६ औँ मिनेटमा पेनाल्टीमार्फत खेल बराबरी गर्ने अवसरलाई अनिश राईले खेर फाले। स्टेफेनले डिबक्सभित्र लडाएपछि पाएको अवसर बारमा लागेर फर्किएको थियो।

दोस्रो हाफको सुरुवातमै सिलिगुडीका अभिषेक लिम्बु रातो कार्ड खाँदै मैदान बाहिरिएको फाइदा उठाएर जलपाइगुडीले थप ५ गोल गर्‍यो। दोस्रो हाफको २ मिनेट नबित्दै स्टेफेन समीरमाथि फउल गरेपछि उनले कार्ड पाएका थिए। लगत्तै करण राईले फ्रीकिकमा गोल गर्दै ह्याट्रिक पूरा गरे। ४५ औँ मिनेटमा करणको प्रहारमा गोलरक्षकबाट रिबाउन्ड भएर आएको बललाई स्टेफेनले जाली चुमाउँदै गोल अन्तर ४–१ बनाए।

४९ औँ मिनेटमा प्रतीक लामाको क्रसलाई सब्स्टिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेका जुनियरले गोल गरे। ५६ औँ मिनेटमा अनिश राईको पासलाई राम राईले जाली चुमाउँदै गोल अन्तर ५–२ मा झारे। ६१ औँ मिनेटमा स्टेफेनको क्रस पासमा गोलरक्षकलाई नघाउँदै जुनियरले व्यक्तिगत दोस्रो गोल गरे।

इन्जुरी समयमा स्टेफेनले गोल गरेपछि ७-२ गोल अन्तरको साथ जलपाइगुडी फाइनलमा प्रवेश गरेको हो। खेलको म्यान अफ दि म्याच जलपाइगुडीका करण राई घोषित भए। प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा चाँद एफसी र टेरिटोरियल आर्मीबीच हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.