|

तुलसीपुर : दंगीशरण गाउँपालिका-४ का लोकबहादुर भण्डारीलाई हेकुलीमा कोल्ड स्टोर (चिस्यान केन्द्र) बन्न लाग्दा धेरै खुशी लागेको थियो। घरमा उत्पादित तरकारी लगायतका बस्तु कोल्ड स्टोरमा राख्ने पाइने भएपछि उनी शुरुमा निर्माण हुँदादेखि पटक पटक हेर्न पनि गए। भवन पनि निर्माण भयो। अब त राख्न पाइन्छ भन्ने वेला भवन भासिएर पानीमा तैरिएको डुंगा जस्तै भएपछि उनी खिन्न छन्।

भवनको त्यस्तो अवस्था देखेपछि स्थानीय बासिन्दा ट्वाँ परेका थिए। बाहिरबाट हेर्दा भवनको सबै काम पूरा भएको देखिए पनि भवन भासिएर प्रयोगविहीन बनेको छ। स्थानीय बासिन्दा भवन प्रयोग गर्नै नपाई बाहिरबाट हेरेर चित्त बुझाउन बाध्य छन्।

उनले भने, ‘अहिले भवन पूरै भासिएको छ। चारैतिरको जग भासिएपछि हाम्रो आशा निराशामा परिणत भएको छ। गाउँपालिकामा कोल्ड स्टोर बन्यो भनेर हामी खुशी थियौँ। हामीले उत्पादन गरेको सागसब्जी राख्न पाउने आशा थियो। अहिले निराश बनायो।’

अर्का स्थानीय रेशम वलीका अनुसार यो संरचना बनाउँदा नै समस्या देखिएको हुँदा सम्बन्धित निकाय गैरजिम्मेवार बनेको बताए।

उनले भने, ‘पहिला यसको जग खन्दा नै पानी आएको थियो। तलका पिलरहरू मात्र बनेको अवस्थामा पानीमा डुंगा हल्लिए जस्तै हल्लिन्थ्यो। बच्चाहरू त्यसमा खेल्न जान्थे। त्यो वेला ध्यान दिएको भए यस्तो हुँदैनथ्यो।’

सम्बन्धित निकाय गैरजिम्मेवार हुँदा अहिले भवन पानी तैरिएको जस्तो भएको भन्दै उनले राज्यको लाखौँ पैसा बालुवामा पानी हालेको जस्तै भएको समेत बताए।

अब प्रयोग गर्न पाइन्छ भन्ने वेला भवन भासिँदा सबै छक्क परेको समेत उनले बताए। उनले भने, ‘शुरुमा बनाउँदा त जमिनबाट पानी आएको थियो। पछि असर गर्छ भन्ने सोचेको भए आज यस्तो हुने थिएन। यो डिजाइन गर्ने इन्जिनियर कस्ता हुन्। राज्यको पैसा सक्ने मात्रै काम भयो। अब यो प्रयोग गर्नै मिल्दैन। शुरुमा लापरबाही गर्दा अहिले भवनको बिजोग भयो।’

पानीको लेबल डिपिआर गर्दा ख्याल नगर्दा अहिले समस्या भयो : इन्जिनियर
कोल्ड स्टोर भवन २०७६ सालमा निर्माण सुरु भएको थियो। गत वर्ष असोजमा भवन निर्माण पूरा भएको हो। गाउँपालिकाका इन्जिनियर प्रमोद गौतमका अनुसार डीपीआर गर्दा जमिनमुनिको पानीको लेबल ख्याल नगरी काम गर्दा अहिले यस्तो समस्या भएको हुन सक्छ।

दुईतले कोल्ड स्टोर बनाउन गाउँपालिकाको आधा र लुम्बिनी प्रदेश सरकारको आधा गरी १ करोड ५ लाखमा टेन्डर आह्वान भएको थियो। यसको निर्माणको जिम्मा लोकमणि बिल्डर्स‚ घोराहीले करिब ९२ लाखमा जिम्मा पाएको थियो। यो भवनको डिजाइन गर्दा तत्कालीन समयमा इन्जिनियर अंकित आचार्य थिए।

दुईतले भए पनि अहिले इन्जिनियर गौतमले एक तलासम्म प्रयोग गर्न सकिन्छ कि भन्नेमा कोसिस गरिरहेको बताए। सकभर एक तलालाई मात्र सञ्चालन गर्ने आफूहरू सोचमा रहेको भन्दै अहिलेसम्म यस्तो घटना कहीँ नभएको समेत उनले बताए।

उनले भने, ‘धेरै ठाउँमा यस्ता काम गरिएको छ। अहिलेसम्म कहीँ यस्तो भएको थिएन। डीपीआरमा ख्याल नगर्दा यस्तो भएको हुनसक्ने मेरो अनुमान हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.