|

तुलसीपुर : प्रत्येक वर्षझैँ योपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले दशैँका लागि आइतबारदेखि खसीबोका खरिद गरेको छ। कार्यालयले यो वर्ष जिल्लाबाट सात सय खसीबोका खरिद गरेर काठमाडौँ पठाउने भएको छ।

कार्यालयले खरिद गर्न थालेपछि बाख्रा पालन गरेका किसान खुशी भएका छन्। बजार मूल्यभन्दा बढी र नगद पाइने भएकाले मागभन्दा बढी किसानले नाम टिपाएका थिए।

बिहान ११ बजेदेखि कार्यालयले खसीबोका खरिद गर्ने समय तोकेको थियो। किसान भने बिहानै खसीबोका लिएर कार्यालय आइपुगेका थिए। खसीबोका बेच्न किसानले पहिले नै नाम टिपाएका थिए। गाउँघरको मूल्यभन्दा बढी र एकैपटक नगद पाइने भएकाले संस्थामा खसीबोका बिक्री गर्ने आएको तुलसीपुर-४ का ओमप्रकाश खनालले बताए।

यस्तै कार्यालयमा तुलसीपुर-३ गहतेकी डम्बरी श्रेष्ठ पनि ३ वटा खसी बेच्न आएकी थिइन्। उनले प्रत्येक वर्ष यसरी कार्यालयमा आएर दुईतीनवटा खसी बेच्ने गरेको बताइन्। गाउँघरमा तौलअनुसार बिक्री हुँदैन। अनुमानको भरमा बेच्नुपर्ने हुँदा पनि आफूहरूलाई घाटा लाग्ने भएकाले कार्यालयले तौलअनुसार नै मूल्य दिने भएकाले पनि राहत हुने उनको भनाइ छ।

तुलसीपुर-३ का यमबहादुर विकले प्रत्येक वर्ष ५-६ वटा खसीबोका बेच्दै आएका छन्। उनले गत वर्षको भन्दा अहिले मूल्य कम भएको बताए। 

पहिलो दिन करिब २ सय बोका काठमाडौँ गए
संस्थाले पहिलो दिन २ सय वटा खरिद गरेर काठमाडौँ पठाएको छ भने जिल्लाको अमिलिया, लमही‚ घोराही लगायत क्षेत्रमा खरिद योजना रहेको शाखाका प्रमुख तिलक सुनारले बताए। उनका अनुसार योपटक जिउँदो खसीबोकाको मूल्य ५४२ देखि ५६२ सम्म तोकिएको छ। १८ किलोभन्दा माथिको बोका खरिद गर्ने भन्दै उनले त्यसको मूल्य ५४२ रुपैयाँ प्रतिकिलो रहेको छ।

उनका अनुसार अहिले जिल्लाबाट ७ सय खसीबोका पठाउनु भनेर पत्र आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.