|

काठमाडौँ : दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा काठमाडौँको मुख्य बजारका व्यापारीहरू चिन्तित बनेका छन्। काठमाडौँको असन, न्युरोड र भोटाहिटीलगायतका व्यपारीहरू दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्।

विगतका वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीले उत्साह नदेखिएको उनीहरूले बताएका छन्। न्युरोडका व्यापारी वैकुण्ठ दाहालले सामान किन्ने ग्राहक नआउँदा व्यापारीहरू मोवाइल चलाएर बस्न बाध्य भएको बताए।

नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले केही चहलपहल भए पनि सोचेअनुसारको व्यापार हुन नसकेको बताए। होलसेल बजारबाट प्रशस्त सामानहरू बिक्री भए पनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको उनले बताए।

राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरू विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताए। न्युरोडलगायतका क्षेत्रका भित्र सटरमा रहेका सामानहरू ‘सेल’मा राखेपछि ग्राहकहरूको भीड देखिएको उनको भनाइ छ।

यद्यपि पछिल्ला केही दिनदेखि भने बजारमा चहलपहलमा ह्वात्तै बढेको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.