गाउँमा करिब ५० घर तर सारंगी बजाउने ४ जना मात्र

|

दाङ : तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरका गोपाल गन्धर्वले सारंगी बजाउन लागेको ४० वर्ष भयो। करिब १२ वर्षको उमेरदेखि नै बजाउन सिकेका उनले अहिलेसम्म सारंगी रेटेरै आफ्नो घरपरिवार चलाउँदै आएका छन्। 

पछिल्लो समय सारंगी बनाउने र बजाउने दुवै सीप र कला संस्कृति नयाँ पुस्ताले बिर्संदै गएकोमा उनी निकै दुःखी छन्। 

उनले भने, ‘मैले अहिलेसम्म सारंगी बजाएरै घरपरिवार चलाउँदै आइरहेको छु तर पछिल्ला पुस्ता सारंगी बजाउन चाहँदैनन्। गाउँमा हामी करिब ४०/५० घरपरिवार हौँला। यति घरमा जम्माजम्मी ४ जना मेरा दौँतरी मात्र सारंगी बजाउने छन्। हामीपछि यो पेशा लोप हुन्छ होला।’ 

आफूहरू ५ भाइ रहेकोमा र ५ भाइमध्ये आफूले मात्र सारंगी बजाउँदै आएको बताएका उनले अरू ४ भाइ पैसा कमाउन भारत जाने गरेको पनि बताए। 

उनले अहिले आफ्नो १२ वर्षको छोरालाई पनि सारंगी बजाउनु पर्छ, सिक्नु पर्छ भनेर बजाउन सिकाउँदै आएको बताए। उनले भने, ‘हामी पाँच भाइ छौँ। म जेठो छोरा हुँ। भाइहरूले यो पेशा अँगालेनन्। उनीहरू घरपरिवार पाल्न  कमाउन भारत जान्छन्। यो पेशा गर भन्दा यसबाट बाँच्न सकिँदैन भन्छन्। अहिले छोरालाई सिकाइरहेको छु। यदि यो पेशा संरक्षण गर्न राज्यले ध्यान दिएको भए आज मेरा भाइहरू भारत जानुपर्ने अवस्था हुँदैनथ्यो।’

उनले सारंगी बजाएर मनोरञ्जन तथा कला संस्कृतिको जगेर्ना गर्दै आएका गन्धर्वहरू पेशाबाट पलायन हुँदै गएको भन्दै राज्यलाई संरक्षणका लागि सहयोग गर्न आग्रह गरेका छन्। 

उनले आफूहरूलाई चुनावको वेलामात्र नेताहरूले भोट बैंकका रुपमा प्रयोग गर्ने र जितेपछि बेवास्ता गर्ने भन्दै लोप हुन लागेको कला संस्कृति जोगाउन आग्रह गरे।

उनले अब हुने निर्वाचनमा व्यक्ति हेरेर मात्र भोट दिने समेत बताए। उनले भने, ‘चुनावका वेला धेरै आश्वासन दिने मात्र काम हुन्छ। भोट पाउन धेरैले अनेक आश्वासन दिने गरेका छन् तर जितेपछि हाम्रा समस्या ज्युँका त्युँ नै छन्। अब हाम्रा लागि काम गर्ने राम्रो व्यक्तिलाई मात्र भोट दिने हो?’ 

राज्यको असहयोगले लोप भएको गुनासो

सोही ठाउँमा गन्धर्व युवा सुशील गन्धर्वले राज्यका कारण गन्धर्व कला संस्कृति लोप भएको गुनासो गरे। कला संगीतमा लागेकाहरूलाई अहिलेसम्म राज्यले कुनै पनि ठाउँमा अवसर नदिँदा पछिल्लो समय सारंगी बजाउने पेशा हराउँदै गइरहेको उनको भनाइ छ। 

उनले भने, ‘सारंगी, मादल जस्ता बाजाहरू नेपालको संस्कृति चिनाउने हुन् तर आज यी पेशामा लागेका व्यक्ति अत्यन्त थोरै छन्। राज्यले कला संस्कृति संरक्षणमा चासो दिएको भए आज हामीहरू हाम्रो कला संस्कृति हराउन लागेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था हुँदैनथ्यो।’

उनका अनुसार सारंगीलाई देशको पहिचान जोगाउने बाजा मानेको भए यस्तो दुरवस्था हुने थिएन होला’‚ उनले भने, ‘अहिले गाउँघरमा जाँदा पनि गाइने आयो भन्ने गरिन्छ। तर यी गाइनेले कस्तो सन्देश ल्याएका छन्‚ के ल्याएका छन्, भन्ने अहिले कोही छैन। कुनै समयमा देशको कथा गाउने नै गाइने दाइहरू थिए तर आज ती सबै हराए। गाइनेहरूले नै एक ठाउँबाट अर्को ठाउँमा लैजाने माध्यम थियो तर अहिले हामीलाई हेर्ने दृष्टि पनि फरक छ।’ 

उनका अनुसार सारंगी बजाउनेहरूलाई राज्यले सम्मान गर्न नसक्दा अहिले छोराछोरीहरूले सारंगी बजाउन लाज मान्ने अवस्था आएको छ।

उनले सारंगी बजाउन जान्नेलाई पनि शिक्षक पेशाजस्तै राज्यले तलब दिएर सङ्गीतको कक्षा दिन सकेको भए युवा उत्साहित भएर लाग्ने र यो पेशा संरक्षण हुने थियो। तर सारंगी बजाएर जीवन चलाउन नै कठिन भएपछि सबैले बेवास्ता गर्दै आएको उनले बताए। 

उनले भने, ‘सारंगी समाउने बित्तिकै गाइने आयो भन्ने गरिन्छ। यसले गर्दा पनि युवाहरूको रुचि घट्दै गएको हो। चुनावमा मात्र हामीहरूलाई उपयोग गरिन्छ। यहाँ हामी ऐलानी जग्गामा बसेका छौँ‚ हामी बाँच्ने आधार नै भएन। सरस्वतीको बाजा आज हामीलाई लाजको भाँडो भयो।’ 

उनका अनुसार यो बाजा गन्धर्वले मात्र नभई अन्यले पनि बजाउने भए यसको विकास र संरक्षण हुन्थ्यो होला।

‘तर यो सारंगी भयो, गन्धर्वको हातमा, हामी सबै कुराले तल परेको जाति हुँदा नै लोप हुन थालेको हो’‚ उनले भने। उनले गन्धर्वको जनसंख्या देशमा थोरै रहेको र अल्पसंख्यक भएकाले सारंगीले सबैको कथा व्यथा भन्ने गरेको भए पनि संरक्षणमा कसैले ध्यान नदिएको गुनासो गरे। 

‘गाउँका युवाहरू कमाउन विदेश जान खोज्छन्। हामीसँग विदेश जान पैसा छैन। जग्गा ऐलानी छ। बाध्य भएर भारत जाने गरेका छन्’‚ उनले भने। 

उनले गाउँका अहिले ४ जनाले मात्र सारंगी बजाउने गरेका भए पनि उनीहरू पछि गाउँमा बजाउने कोही नहुने भन्दै निकै मन दुख्ने गरेको पनि बताए। 

उनले भने, ‘हामी भोटका लागि मात्र प्रयोग हुन्छौँ। हामीलाई कुनै पनि सरकारले हेरेको छैन। देशभरिका गन्धर्वलाई यस्तै समस्या छ। कुनै गन्धर्व वडा सदस्यसमेत छैनन्। कुनै पनि ठूलो पदमा वा पहुँचमा नहुँदा हामी तल परेका छौँ।’

सारंगीले जीवन नचल्ने भएपछि भारत जान बाध्य

४० वर्षीय बाबुराम गन्धर्वले आफ्ना बाउबाजेहरूले  बजाउँदै आएको सारंगी पेशाबाट घरपरिवार चलाउन समस्या हुन थालेपछि कमाउन भारत जाने गरेको बताए।

उनले भने, ‘हाम्रा पुर्खाहरूको पहिचान संरक्षण गर्न हामीलाई मन हुन्छ तर के गर्नु भोको पेट बस्न सकिँदैन। यसबाट घरपरिवार चलाउन पुग्दैन। त्यसैले बाध्य भएर भारततिर जानुपर्छ। सारंगी बजाउने पेशा लोप भइरहेको हामीलाई थाहा छ तर के गर्नु बाँच्नका लागि अरू पेशा गर्नैपर्ने बाध्यता छ।’

कला संस्कृति संरक्षण गर्न बजेट छुट्याएका छौँ : मेयर खड्का

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले  स्थानीय कला संस्कृतिको जगेर्ना गर्न बजेट विनियोजन गरेको बताए। 

उनले भने, ‘हामीले योपटकको बजेटमा संस्कृतिको जर्गेना तथा संस्कृतिमा जनताको रुचि बढाउन नै भाषा संस्कृति उत्थानको लागि बाजाहरूको प्रवर्द्धन गर्ने भन्ने शीर्षकमा रकम छुट्याएका छौँ।’ 

उनका अनुसार लोपोन्मुख कलासंस्कृति, भाषाहरूको उत्थानका लागि उपमहानगरले बजेट छुट्याएर संरक्षणको सुरुवात गरेको छ।

‘हामीले सबै काम गर्न सक्छौँ भन्ने होइन। यस कार्यक्रममा संघ र प्रदेशलाई जोड्ने कुरामा हामी लागिरहेका छौँ’‚ उनले भने। गत वर्ष सारंगी बजाउनेहरूका लागि तालिमको व्यवस्था गरेको समेत उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.