अकालमा ज्यान गुमाउँदै जनता

|

सुर्खेत : तत्कालीन प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुँदा तुइन मुक्त गर्ने भन्दै व्यापक चर्चा ,परिचर्चा पायो। तर कर्णालीमा ओली भन्दा पछाडि दुई जना प्रधानमन्त्री देशले पाएपनि कर्णालीमा तुइन मुक्त हुन सकेको छैन। तुइनबाट कर्णालीमा भर्खरै मात्र दुई जनाको ज्यान गइसकेको छ। विगतमा अन्य कतिले ज्यान गुमाए त्यसको कुनै एकिन हिसाब छैन।

सडकको पहुँच तथा नदी ,खोलामा पुल निर्माण नभएपछि कर्णालीका सर्वसाधारणहरू दैनिक आफ्ना समस्या पूरा गर्न तुइनकै सहारामा ज्यानको बाजी लगाएर भए पनि फलामको लहरोमा झुन्डिएर वार,पार गरिरहेका छन्। हातमा ठेलि बसुञ्जेल तुइनमा झुन्डिएर मृत्युलाई जित्दै कतिले नदी,खोला तर्छन् भने कत्तिले तुइन तरेर गन्तव्यमा पुग्ने सपना पानीमै बिलिन हुने गरेको छ।

सरकारले विकास र सम्बृद्धिको नारा लगाउँदै गर्दा कर्णालीका विकट ठाउँमा जनताहरूमाथि ठट्टा गरेझैँ लाग्ने गरेको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाही बताउँछन्। ‘नारा मात्र चिल्ला दिने काम भने उल्टो तरिकाले गर्दा कहाँ सम्बृद्धिको नारा पुरा हुन्छ’, उनले भने।

शाहीकै गृह जिल्ला डोल्पामा तुइनबाट जगदुल्ला नदी तर्दा केही दिन अगाडि एक महिलाको मृत्यु भएको थियो। पूर्वमन्त्री समेत रहेका शाहीले सो ठाउँमा पुल निर्माण गरिदिन आग्रह गरे पनि प्रदेश सरकारले सो ठाउँमा पुल निर्माण गर्न बजेट नै नदिएको गुनासो गरे।

शाहीका अनुसार डोल्पाको मुड्केचुला गाउँपालिका –१  औलबगरमा २०७६ सालमा बाढीले पुल बगाएपछि सो ठाउँमा अहिले सर्वसाधारणले तुइनको जोहो गरेर नदी वारपार गरिरहेका छन् । सोही तुइन तर्ने क्रममा मुडकेचुला १ की तुला बोहराको मृत्यु भयो।

यो कुरा कर्णाली सरकारलाई पनि थाहा छ तर पुल निर्माणका लागि बजेट नदिने शाहीले पीडा सुनाए। स्थानीयबासीहरू अहिले पनि ज्यानको बाजी लगाएर सोही तुइन मार्फत आवतजावत गरिरहेका छन्।

त्यस्तै केही दिन अगाडि हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा असोज २० गते तुइन तान्ने डोरी चुँडिँदा एक जना मृत्यु भयो।  सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका थिए।

उनी मुगुको सोरु गाउँपालिका–५ नेरगाउँका स्थानीय हुन्। कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएको थिए ।

कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा काम गर्ने मजदुर रुपमा नेपाली त्यहाँ पुगेका थिए। घरमा दशैँ तिहारमा खर्च जुटाउनुका साथै घरका समस्या हल गर्ने उद्देश्यले नेपाली त्यहाँ काम गरिरहेका थिए। पुल नभएकाले तुइनको सहारामा उनी जस्तै दर्जन मानिसहरू दैनिक सोही ल्याप्चेको (खडीखेत) घाटमा वारपार गर्छन्।

त्यस्तै जाजरकोटको जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न स्थानीयले दैनिक तुइन तरे बापत एक सय रुपैयाँ तिर्ने गरेका छन्। निर्माण व्यवसायीले समयमै काम नगर्दा जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न समस्या भएपछि तुइनको सहारा लिनु परेको हो।

साढे दुई वर्षअघि लगाएको पक्की पुलको ठेक्काको काम जय वागेश्वरी कन्स्ट्रक्सन बाँकेले अहिलेसम्म सुरु नगर्दा खोलामा तुइनको यात्रा अझै लम्बिने देखिएको छ। भेरी करिडोरबाट छेडा–चाँदे हुँदै जुम्ला जोडने सडकको बीचमा रहेको यो खोलामा वर्षेनी खोलाले बगाएर स्थानीयबासीको ज्यान जाने गरेको छ। पुल निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीले तोकिएको समयमा काम नगर्दा हैरानी खेप्नुपरेको आरोप लाग्दै आएको छ। सडक डिभिजन चौरजहारीले यो ठेक्का दुई वर्षअघि खोलेर निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो।

छेडागाड नगरपालिका–६ का मानबहादुर थापाले तुइन निर्माण गरेर अहिले यो खोलामा दैनिक सेवा दिइरहेका छन्। वर्षायाममा यो तुइनमार्फत् यहाँका सर्वसाधारण खोला तर्ने र दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन्। हिउँद  याममा खोलामा पानीको मात्रा कम भएपछि खोलामै जबरजस्त सवारीसाधन चलाएर खोला पार हुने गरेको छ। तुइनबाट खोला तरेर प्रतिव्यक्ति एक सय रूपैयाँ तिर्नुपर्ने वाध्यता रहको स्थानीयबासी रेशमबहादुर खड्काले बताए। यता सडक डिभिजन चौरजहारीले भने ताकेता गरिरहेको बताएको छ। सरकारले देशैभरिका तुइन हटाउने भने पनि यहाँको तुइन हटाएर तत्काल पुल निर्माण गर्न सकेको छैन।

झोलुङ्गे पुलसमेत नहुँदा यहाँका सर्वसाधारण समस्यामा पर्दै आएका छन्। पश्चिम क्षेत्रबाट निर्वाचित राजीवविक्रम शाहले पुल निर्माणमा ढिला सुस्ती गर्ने निर्माण व्यवसायीलाई काम गर्न दबाब नदिएको आरोप लाग्दै आएको छ। 

निर्माण व्यवसायीसँग पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन। आफूहरूले निर्माण व्यवसायीसँग ताकेता गरिरहेको सडक डिभिजन चौरजहारीले जनाएको छ। यो पुल निर्माणको लागि भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई समेत ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको खडले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.