जाजरकोटका ग्रामिण क्षेत्रका डिपो रित्तै

|

सुर्खेत : डोल्पा ,जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नभएको पाइएको छ। डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सिमित चामलबाट प्रतिव्यक्ति ६० केजीका दरले  चामल दिने गरिएको छ। जाजरकोट सदरमुकाममा ४५० क्वीन्टल मात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ।

डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पुरा भए पनि चामल ढुवानी नभएका कारण सदरमुकामको डिपोमा रहेको अघिल्लो वर्षको चामलबाट अहिले प्रतिव्यक्ति ६० केजी दिने गरिएको शाखा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दुनैका प्रमुख विष्णु घिमिरेले बताए।

सदरमुकाममा १ हजार क्वीन्टल चामल रहेकोले त्यहीबाट अहिले काम चलाउने काम भएको उनले बताए। त्यस्तै सदरमुकामकै अर्को डिपो जुफालमा १५० क्वीन्टल मात्र रहेको प्रमुख घिमिरेले बताए। सदरमुकाम भन्दा बाहिरका डिपोमा लामो समय देखि एक गेडा चामल नभएको उनको भनाइ रहेको छ।

 लिकु , सर्मी, सहरतारा लगाएतका डिपोहरूमा लामो समय देखि चामल नभएको अवस्था छ। यि ठाउँमा ढुवानीकर्ता आफैँ लिएर चामल बिक्री गर्दै आएका छन्। सदरमुकाम बाहेक बाहिर पालिकामा वितरण हुने चामल सबै ठेकेदारले नै बिक्री गर्दै आएका छन्। कम्पनीले कर्मचारी पठाउन नसक्दा सबै ठेकेदारले वितरण गर्दै आएका हुन्। पालिकाले आफैँ अग्रसर भएर सम्बन्धित डिपोमा निगरानी तथा कर्मचारी परिचालन गरेमा मात्र त्यहाँ पारदर्शी हुने गरेको छ।

आयोडिनयुक्त नुन अभाव

सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन नपाइएपछि डोल्पाका ७ स्थानीय तहका सर्वसाधारण ढिके नुन नै प्रयोग गर्न बाध्य छन्। मुड्केचुलाको सर्मी, जगदुल्लाको काइगाउँ, त्रिपुरासुन्दरीको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिञ्जेमा आयोडिनयुक्त नुनको डिपो छ।

तिञ्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाटै नुन वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेशनका शाखा डोल्पाले बताएको छ। वर्षेनी सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुँदै आएको छ। उपल्लो डोल्पामा नुन र चामल पाँच वर्ष देखि ढुवानी हुन सकेको छैन। नाका बन्द भएका कारण त्यहाँ ढुवानी हुन नसकेको हो।

सदरमुकाम लगाएतका ठाउँमा समेत भेरी करिडोरको सडक मर्मत सम्भार ढिला भएका कारण ढुवानीमा समस्य भएको हो। सदरमुकामबाट अहिले प्रति व्यक्ति ३ पोका नुन मात्र विवतरण हुँदै आएको छ। भेरी करिडोर भित्र रहेको तल्लु , चौखा , रुपगाड , छलगाडमा पुल नहुँदा ढुवानीका कामहरूमा बाधा पुग्दै आएको छ।

यत्ता जाजरकोटमा रहेको गाउँका डिपोमा समेत एक गेडा चामल नभएको पाइएको छ। डिपोमा चामल आउला र दशैँ मनाउला भनेर आशामा बसेका जाजरकोट जुनीचाँदे–७ रजुतराका रामबहादुर बुढा निराश भएको बताए।  दशैँअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनी जस्तै धेरै स्थानीयबासी समस्यमा परेका छन्। दशैँअघि डिपोमा सहुलियत दरको चामल पाइने आशामा बसेका त्यहाँका बासिन्दालाई चाडबाड टार्ने पिरलो छ। स्थानीय बजारमा चामल पाउन मुस्किल छ।

पाइए पनि निकै महँगो पर्छ। खाद्यको भन्दा झन्डै दोब्बर पैसा तिरेर पनि सहज रूपमा चामल पाइँदैन। वर्षातमा बिग्रेको बाटो अझै बनेको छैन। जसका कारण पनि जुनीचाँदेवासी थप समस्यामा छन्।

सहुलियत दरको चामल खाद्य डिपोमा नहुँदा खाद्य संकट झेलिरहेका स्थानिय चर्को मूल्यको मारमा परेका छन्। बजारबाट उनीहरूले दोब्बर बढी मूल्य तिरेर चामल किन्न बाध्य छन्। रजुतरामा रहेको खाद्य डिपोमा यतिबेला एक गेडो पनि चामल छैन। रजुतरामा मात्र होइन जुनीचाँदेकै ताँगाचौर, बारेकोटको काउली र नायकवाडा, नलगाडको चौखा, कुशेको टापुचौर, छेडागाडको दशेरा र पजारु खाद्य डिपोमा पनि चामल ढुवानी हुन नसक्दा स्थानीय मारमा परेका छन्। खाद्यले समयमा टेन्डर नगर्दा डिपोमा खाद्य पुग्न नसकेको हो।

नलगाड नगरपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा यतिबेला चामल अभाव देखिएको छ। ती पालिकामा रहेका खाद्य डिपो र बिक्री केन्द्र यतिबेला रित्तै छन्। नयाँ बाली नपाकेको, वर्षातले ग्रामीण सडक अवरुद्ध पारेको र खाद्य डिपो तथा बिक्री केन्द्रमा चामल नहुँदा दुर्गमका बासिन्दालाई यतिबेला खाद्यान्नको ठूलो समस्या परेको छ।  खाद्य जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले गत २० असोजमा जाजरकोटका खाद्य डिपोमा चामल ढुवानीका लागि टेन्डर स्वीकृत भएको र १५ दिनभित्र सम्झौता गर्न २५ गते केन्द्रबाट पत्र आएको बताए।

१५ दिनको म्याद भए पनि संभव भएसम्म ५ दिनभित्र सम्झौता गरी दशैँअघि नै चामल ढुवानी गर्न आग्रह गरे पनि बाटोघाटो बिग्रेको कारणले ठेकेदारले चामल ढुवानी गर्न र सम्झौता गर्न आनकानी गरेको शाखा प्रमुख पौडेलले बताए। केही समयअघि बसेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले पनि दशैँअघि नै खाद्यान्न डिपोमा पठाउन सम्बन्धित निकायलाई आग्रग गरेको थियो। चौखा, टापुचौर, ताँगाचौर खाद्य डिपोको चामल ढुवानीका लागि एमबी विल्डर्स जाजरकोटको फार्म स्वीकृत भएको छ।

त्यस्तै पजारु, दशेरा, नायकवाडा र रजुतराका लागि एन्जिला ट्रेडर्स नेपालगञ्जको नाममा स्वीकृत भएको छ। चौखा ७ सय ५० क्वीन्टल, नायकवाडा एक हजार क्वीन्टल, टापुचौर ५ सय क्वीन्टल, ताँगाचौर ७ सय ५०, रजुतरा ७ सय क्वीन्टल, दशेरा र पजारुमा ५÷५ सय क्वीन्टल चामलको कोटा स्वीकृति भएको पौडेलले बताए।

पजारु र दशेरा नेपालगञ्जबाट ढुवानी हुनेछ भने अन्य डिपोका लागि सदरमुकाम खलंगाबाट हुनेछ। प्रतिकेजी ६० देखि ८० रुपैयाँसम्ममा मोटो चामल पाइन्छ भने मसिनो चामल झन्डै १ सय रुपैयाँ प्रतिकेजी पर्छ। ‘शाखा कार्यालयमा करिब ४ सय ५० क्वीन्टल मसिनो चामल गत वर्षकै मौज्दात छ। त्यसले जेनतेन धानिरहेका छौं’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.