|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मलेरिया उन्मूलन गर्न दक्षियापूर्वी एशियाली देश (आसियान) बीच आपसी सहकार्य आवश्यक रहेको बताएका छन्।

दक्षिणपूर्व एशिया क्षेत्रीय समन्वय संयन्त्र फोरम (एसआरसिएमएफ)को आयोजनामा शुक्रबारदेखि काठमाडौँमा सुरु भएको मलेरिया उन्मूलनका लागि दक्षिणपूर्वी एशियाका सांसदहरूको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले आपसी सहकार्यमा जोड दिएका हुन्।

मन्त्री बस्नेतले भने, ‘ मलेरिया उन्मूलन हामी सबैको साझा एजेण्डा हो। एक देशको प्रयासले मात्र दक्षिणपूर्वी एशियाबाट मलेरिया उन्मूलन गर्न सकिँदैन। यसमा सबैको प्राविधिक र आर्थिक सहकार्य आवश्यक छ।’

खुला सिमाना र बसाई‌ंसराइका कारण पनि मलेरिया उन्मूलन चुनौतिपूर्ण भएको बताउँदै मन्त्री बस्नेतले सबैको सहकार्य भए सन् २०३० सम्म दक्षिणपूर्वी एशियाबाट मलेरिया उन्मूलन गर्न सकिने दावी गरे।

मलेरिया उन्मूलनका साथै स्वास्थ्यका अन्य नीति र कानून बनाउने सर्वोच्च निकाय संसद् भएकाले विभिन्न देशका सा‌ंसदका अनुभव आदानप्रदान र छलफलले  यो क्षेत्रबाट मलेरिया उन्मूलनका लागि महत्वपूर्ण भूमिका खेल्ने मन्त्री बस्नेतले बताए।
 
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेलले दक्षिणपूर्व एशियाका ११ वटै देशको दृढ सहकार्य भएको अवस्थामा सन् २०३० सम्म यो क्षेत्रबाट मलेरिया उन्मूलन गरी छाड्ने दावी गरे।

विगत ५० वर्षदेखि मलेरिया उन्मूलनका क्षेत्रमा लागि परेको भए पनि पूर्ण सफलता पाउन नसकेको तर आउँदो ६ वर्षमा भने त्यो सफलता प्राप्त गरी छाड्ने डा. पोखरेलले बताए।

दुई दिनसम्म चल्ने बैठकलाई सम्बोधन गर्दै दक्षिणपूर्व एशिया क्षेत्रीय समन्वय संयन्त्र फोरम (एसआरसिएमएफ)का कार्यकारी सचिव डा. जिग्मी सिंगे, भारतको पश्चिम बंगालका मन्त्री गुलाम रब्बानी, बंगलादेशका सांसद प्रा.डा.मोहम्मद अब्दुल अजिज, नेपालका सांसद छविलाल विश्वकर्मा, तान्जानियाका स्वास्थ्य अधिकारकर्मी डा. मेलानिए रेन्स र इसिमोडका महानिर्देशक डा. पेमालगायतले मलेरिया उन्मूलनका लागि आपसी सहकार्य आवश्यक रहेकोमा जाेड दिएका थिए।

बैठकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखाका निर्देशक डा. चुमनलाल दासले दक्षिणपूर्वी एशियाका देशहरूबाट मरेरिया उन्मूलनका लागि बैठक फलदायी हुने विश्वास व्यक्त गरे। बैठक शनिवार सम्पन्न हुने छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.