नयाँदिल्ली : भारत सरकारले बाल यौनदुराचार‚ गलत सूचना र धार्मिक उक्साहट गराउने सामग्री राखिएका सामाजिक सञ्जाललाई कारबाही गर्ने भएको छ।
त्यस्ता सामग्री हटाउन नमान्ने सामाजिक सञ्जाललाई कडा कारबाही उल्लेख गर्ने बताइएको छ। भारतका कौशल विकास तथा उद्यमशील एवं विद्युतीय एवं सूचना प्रौद्योगिकी राज्यमन्त्री राजीव चन्द्रशेखरले उक्त जानकारी दिएका हुन्।
यो नियमसँगै फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, यूट्यूब र गुगललाई भारतीय दण्ड संहिताअनुसार कारबाही गर्न मिल्नेछ।
बाल शोषणसँग सम्बन्धित सामग्रीमाथि आधिकारिक सूचना पालना नगर्ने र तेस्रो पक्षको सामग्री प्रसारणमा भारत सरकार सामाजिक सञ्जालसँग असन्तुष्ट छ। मन्त्री चन्द्रशेखरले यूट्यूबलाई दिएको छुट बन्द गर्ने चेतावनी दिएका छन्। यूट्यूबले आपत्तिजनक सामग्रीका विरुद्ध कारबाही गर्न असफल भएको भारतको भनाइ छ।
सरकारले तत्काल यस्ता कम्पनीलाई कारबाही गर्ने मन्त्रीले बताए। उनले सरकारी सूचना हुँदाहुँदै पनि बाल यौनशोषण सामग्री हटाउन विफल रहेको भन्दै असन्तोष व्यक्त गरे। मेटासहितका सामाजिक सञ्जाल चलाउने कम्पनीहरूले युवाको मानसिक स्वास्थ्य संकट बढाएको भन्दै उनीहरूलाई जवाफदेही बनाउनुपर्ने उनले बताएका छन्।
उनले बाल यौनशोषण सामग्री सहन नसकिने चेतावनी पनि दिए। मन्त्री चन्द्रशेखरले सामाजिक सञ्जाल र मञ्च प्रयोग गर्ने करोडौँ नागरिकको भलाइका लागि जवाफदेही बन्नुको विकल्प नभएको स्पष्ट पारे। साथै उनले ‘गेमिङ नियम’मा लतको तत्त्व पनि विशेष रूपमा सामेल गरिएको जानकारी दिए।
अमेरिकामा पनि मुद्दा
अमेरिकामा पनि बालबालिकालाई दुर्व्यसनी बनाई 'मानसिक स्वास्थ्यमा हानि’ पुर्याएको भन्दै मेटा र इन्स्टाग्राममाथि मुद्दा दायर गरिएको छ।
मंगलवार अमेरिकाका क्यालिफोर्निया र न्यूयोर्क सहित ३३ राज्यका महान्यायाधिवक्ताले मेटाले आर्थिक लाभका लागि सञ्जालमा रहेका खतराका बारेमा सूचना लुकाएको बताउँदै क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेका छन्। यसैगरी ९ राज्यका महान्यायाधिवक्ताले आफ्नै राज्यका अदालतमा मुद्दा दायर गरेका छन्।
उनीहरूका अनुसार मेटाले जानीबुझी बालबालिका‚ किशोर र युवालाई लत र बाध्यकारी सामाजिक सञ्जाल प्रयोग गराइरहेको छ। मेटाले युवाहरूलाई उनीहरूको स्वास्थ्यमा हानि पुगे पनि प्लाटफर्ममा अधिकतम समय बिताउनका लागि डिजाइन गरिएको बिजिनेस मोडल बनाएर उनीहरूको शोषण गरेको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।