|

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल (८‚०९१ मिटर)को आधार क्षेत्रमा आन्तरिक पर्यटकको ताँती लागेको छ।

दशैं तिहारको मौका छोपी अहिलेसम्मकै धेरै पर्यटक बेसक्याम्प पुगेका छन्। दशैंको घटस्थापनादेखि यता म्याग्दीका साथै नेपालका विभिन्न क्षेत्रबाट अन्नपूर्ण बेसक्याम्प जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ।

बडादशैंको टीकाको भोलिपल्टदेखि समूह बनाएर जानेको संख्या झनै बढेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए।  उनका अनुसार पदमार्ग सञ्चालनमा आएपछि हालसम्मकै धेरै आन्तरिक पर्यटक नारच्याङ हुँदै बेसक्याम्प पुगेको बताए।

‘अहिलेसम्म पर्यटक आफैँले सबै व्यवस्थापन गर्नु पर्छ, अब टि–हाउसदेखि अन्य संरचनामा पालिकाले नै पूर्वाधारसहित जनशक्ति खटाउनेछ‚’ प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भने।

यसपटक म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका क्षेत्रबाट ३ देखि १५ जनासम्मको समूह बेसक्याम्पमा गएका छन्।

पर्यटकको चाप बढ्न थाले पनि पर्यटकको विवरण संकलनका साथै पर्यटकलाई खाजा–नास्ता गर्ने टि–हाउसको सुविधा भने छैन। हालसम्म ट्रेकिङ एजेन्सी तथा व्यक्तिगत गरी ३ सयभन्दा बढी दशैं आसपासमा बेसक्याम्पमा पुगेको स्थानीय जनप्रतिनिधिको भनाई छ।

संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८‚०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट नियमित पदयात्रामा निस्कनेलाई १ दिनमै पुग्न सकिन्छ भने विस्तारै यात्रा गर्नेलाई डेढ दिनमा बेसक्याम्प र एकदिन फर्किन लाग्छ।

कम खर्चिलो र छोटो दूरीको सहज पदयात्रा भएकाले आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ। पदयात्रामा पुगेर फर्किएकी अन्नपूर्ण–६ घारकी सोनिमा बरुवालले पदमार्गमा शौचालय, चिया घर र थप बस्ने संरचनाको आवश्यकता रहेको बताइन्।

बेनीबाट साथीहरुसँगै पुगेका विजय सापकोटाले पर्यटकको भिड लागे पनि सरकारी निकायबाट आवश्यक संरचना बनाउन ढिलाइ भएको बताउँदै चाप बढेको बेलामै पूर्वाधार बनाउन सम्बन्धित निकायलाई अनुरोध गरे। पहिलोपटक बेसक्याम्प पुगेकाले अन्नपूर्ण बेसक्याम्प बारेमा अहिलेसम्मको भ्रम हटेको उनले बताए।

स्कीबाट मात्रै अन्नपूर्ण बेसक्याम्प पुग्न सकिन्छ भन्नेहरूलाई आरोहीको आरोहण समेत गर्ने मुख्य बेसक्याम्प म्याग्दीको नारच्याङ क्षेत्र भएको थाहा पाएपछि उत्साहित भएको पर्यटकको भनाई छ। 

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारीसाधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुगिन्छ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पैदल यात्राबाट आधार क्षेत्र पुगिन्छ।

पदमार्ग निर्माणका लागि नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले २ करोड ८० लाख बजेटसहित गाउँपालिकाले समेत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशाला गरी ६ वटा खोलामा झोलुंगे पुल निर्माणका साथै ६ स्थानमा आश्रयस्थल निर्माण गरेसँगै आधार क्षेत्रसम्म जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताए। 

आन्तरिक पर्यटकका लागि छोटो दूरीको प्याकेजमा १ दिने, ३ दिने र लामो दूरीका लागि ७ दिन तय गर्दा सहज हुने बताए। आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारालगायत पूर्वाधारले यात्रा सहज भएको बताए।

पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुंगे पुलसमेत छन्। आधार क्षेत्रमा हेलिकोप्टरबाट धेरै पर्यटक आवतजावत गर्ने गरेका छन्।

आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन पदमार्गमा खानेपानीको सुविधासहितका खाना पकाउन मिल्ने विभिन्न आश्रयस्थलको व्यवस्था गर्ने योजनासहित गाँउपालिकाले प्रदेश र संघीय सरकारसमक्ष बजेट माग गरिएको छ।

पदमार्गअन्तर्गत भीमकाय चट्टानको बीचबाट प्वाल पारेर बग्ने हरियो, निलो रङको फुतफुते झरना, लस्करे रहेको पञ्च झरना, पहाडमा मानवनिर्मित जस्तै देखिने गुफा र आधार क्षेत्रमा पुगेपछि अन्नपूर्णको फेदमा निलो पञ्च ताल आकर्षक रहेको छ।

विश्वमा नेपाललाई चिनाउने फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको सम्झनामा अबका दिनका कार्यक्रमहरु समेत गरिनेछ।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको पुरानो मार्ग पछ्याउँदै आधार क्षेत्रमा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको ​सालिकसमेत बनाइने छ।

मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। उनको सम्झनामा नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा पहिचान भएको मौरिस हर्जोग पदमार्गको प्रचारप्रसारका लागि यसअघि २०७६ सालमा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.