|

सुर्खेत : कर्णालीमा आपराधिक घटना बढ्दै गएका छन्। टाढा टाढा बस्ती भएका कारण प्रहरीको पहुँचमा नहुनु तथा पर्याप्त निगरानी नहुँदा आपराधिक घटनामा वृद्धि भएको हो।

एउटा गाउँबाट अर्को गाउँमा जान दिनभरि हिँड्नुपर्ने अवस्थाले गर्दा आपराधिक घटना बढ्न सजिलो भएको छ। ठूलो भूगोल तर छरिएर रहेका बस्तीका कारण पर्याप्त सुरक्षाको पहुँच पुग्न नसकेको प्रहरी नै स्वीकार्छन्। 

अन्य समयमा घरबाहिर हुने तर चाड पर्वमा घरमा फर्केने युवा, युवतीले आफन्तको गुनासो सुनेर रिस फर्ने गरेको समेत खुलेको छ। सामाजिक सञ्जालमा जथाभावी रिस पोखेर लेख्दा त्यसको प्रतिकारमा हुने घटना अर्को समस्या बन्दै आएका छन्। 

यसरी दशैँ अवधिभर कर्णालीमा धेरै हिंसात्मक घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यस वर्षको बडादशैँ अवधिभर ५८ वटा अपराधका घटना दर्ता भएका छन्।

तीमध्ये ३४ वटा कुटपिट तथा झैझगडाका घटना छन्। उक्त घटनामा ६ जनाको ज्यान गएको छ भने ३१ जना पक्राउ परेको प्रहरीले जनाएको छ। 

चाडपर्वको समयमा मात्रै नभएर पछिल्ला वर्ष आपराधिक घटनाहरूको ग्राफ बढ्दै गएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णालीमा प्रत्येक वर्ष आपराधिक घटना बढ्दै गएका हुन्। 

आर्थिक वर्ष ०७७/७८ मा १ हजार ६३७ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष ०७८/७९ मा १ हजार ५५५ मुद्दा दर्ता भए भने आर्थिक वर्ष ०७९/८० मा १ हजार ७२९ अपराधका मुद्दा दर्ता भएका थिए। 

चालु आर्थिक वर्षको यो अवधिसम्म ४८० अपराधका मुद्दा दर्ता भइसकेका छन्। आर्थिक वर्ष ०७८/७९ मा दशैँ अवधिभर ४४ वटा अपराधका घटना प्रहरीमा दर्ता भएका थिए।

आर्थिक वर्ष ०७९/८० को दशैँ अवधिभर २५ घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ।

अपराधजन्य घटनामा वृद्धि भइरहँदा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख भीमप्रसाद ढकालले बताए। 

उनका अनुसार प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका दोषीलाई पक्राउ गरिरहेको छ। चोरी, बहुविवाह, कर्तव्य ज्यान र सार्वजनिक मुद्दामा अदालतले दोषी ठहर्‍याएर कैद सजाय र जरिवानाको फैसला सुनाइएका कसुरदार धमाधम समातिन थालेको उनको भनाइ छ।

अनुसन्धानलाई प्रभावकारी र अदालतको फैसला कार्यान्वयन, पीडितलाई न्याय अनुभूति तथा दोषीलाई कानुनी दायरामा ल्याउन घटनालगत्तै संलग्न व्यक्ति पक्राउ गर्ने रणनीति लिएको ढकालले जानकारी दिए। 

‘प्रहरी युनिट, स्थानीय तह, सरकारी कार्यालय र अन्य संयन्त्र परिचालन गरी अन्य फरार कसुरदारको पनि खोजी भइरहेको छ,’ उनले बताए। 

दशैँमा भए यस्ता घटना

कात्तिक १० गते बिहान मुगुमा ४ जनाको शव फेला पर्‍यो। छायानाथ रारा नगरपालिका–६ मन्दुमा शव फेला परेका हुन्। उनीहरूको हत्या भएको आशङ्का गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताए।

घटना गत बुधवार राति भएको तर प्रहरीलाई भने शुक्रवार मात्र खबर गरिएको जनाइएको छ। हत्या गरिएको विषयमा शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ जारी राखेको छ। 

यद्यपि ती व्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको छ। अनुसन्धानमा बाधा नपुगोस् भनेर नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।

घटनाको अनुसन्धानका लागि आइतवार प्रदेश प्रहरी प्रमुखसहितको टोली मुगु पुगेको छ। घटनाको सत्यतथ्य छानबिनका लागि मुगु पुगेको प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताए।

घटनाको थप जानकारी अनुसन्धानपछि सार्वजनिक हुने भन्दै उनले अहिले अनुसन्धान भइरहेको बताए।

दशैँकै अवधिमा दैलेखमा छुट्टाछुट्टै भएका झडपमा दुई युवकको ज्यान गयो। ज्यान जानेमा दैलेखको नारायण नगरपालिका–७ का २५ वर्षीय रोहन शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गत बिहीवार राति भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा युवाबीच भएको झडपमा घाइते क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो। दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।

दैलेखकै नारायण नगरपालिका–७ मा कात्तिक ७ गते राति युवाहरूबीच भएको झडपमा परी शाहीको मृत्यु भएको थियो। झडपमा घाइते भएका उनको पनि उपचारका क्रममा गत शुक्रवार प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो। घटनामा संलग्न रहेको भन्दै चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत बुधवार सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका–७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओली रहेको प्रहरीले जनाएको छ। 

उनलाई कात्तिक ४ गते भलिबल खेल्न गएको मैदानमा छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको प्रहरीले जनाएको छ। जिल्लाका प्रहरी कार्यालयहरुले प्रदेश प्रहरी कार्यालयले विवरण सार्वजनिक नगरुन्जेल सूचना लुकाएर बस्ने गरेका छन्। 

कर्णालीमा दशैँ तिहार चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर लागू गरिएको प्रहरीले बताएको थियो। चाडपर्वका वेला आपराधिक गतिविधि हुन नदिन प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन गरिएको छ भने शान्ति सुरक्षाका लागि प्रभावकारी रूपमा कार्यतालिका बनाइएको जानकारी प्रहरीले पत्रकार सम्मेलन गरी दिएको थियो। 

मोबाइल गस्ती, क्यूआरटी र पैदल गस्तीहरू समेत गरि ३२३ स्थान तोकिएको थियो। २० वटा जोखिम सम्भावित क्षेत्रहरूमा सादा पोशाकका प्रहरी परिचालन गरिएको र १२ स्थानमा कर्डन एन्ड सर्च गर्ने गरी तयारी गरिएको समेत बताएको थियो।

१०२ वटा क्यूआरटी परिचालन गरिएको छ भने ६८ वटा थप चेक प्वाइन्ट राखिएको भए पनि उपलब्धि भने सोचेभन्दा न्यून देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.