|

वीरगञ्ज : महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत छ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

सडकमा जथाभावी फोहोर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन शुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म छ लाख १७ हजार जरिवाना संकलन गरेको हो। 

महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहोर फ्याल्नेलाई जरिवाना गर्दै आएको मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहोर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहोर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दिन मियाँले जानकारी दिए। 

उनका अनुसार गत आव २०७९/८० मा जरिवानाबाट १५ लाख ३६ हजार ५०५ रुपैयाँ राजस्व सङ्कलन भएको छ। ‘घर, पसल र कार्यालयबाट निस्कने फोहोर जताततै फ्याँक्ने स्थानीयहरूमा प्रवृत्ति छ’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहन गर्न हामीले फोहोर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान चलाएका छौँ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ। महानगरपालिको पृथी तारा एमके इनरनेसनल जेभीसँग गत २०७६  जेठ २ गते सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ। 

चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइट बनाएपछि फोहोरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको मियाँले दाबी गरे। केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाएपछि सफा र सुन्दर देखिन थालेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.