|

दाङ : तुलसीपुर उपमहानगरपालिका-१९ का रेशम रोकाको घरमा अझै खरकै छानो छ। उपमहानगरपालिकाले दिने टिन (जस्तापाता) का लागि उनले वडामा फाइल बुझाएको पनि २ वर्ष भइसक्यो तर अहिलेसम्म जस्तापाता नपाएको उनको गुनासो रहेको छ।

उनले भने, ‘गाउँघरका अन्य छिमेकीहरूले शुरुमा टिन पाएर घरमा लगाइसकेका छन् तर मैले अहिलेसम्म पाएको छैन। उपमहानगरले शुरुमा टिन दिएको थियो। अहिले आफ्नै लगानीमा टिन लगाउनु पर्ने रे! पछि सबै बिल बुझाएपछि पैसा पाइन्छ रे! ५०/६० हजार रुपैयाँ हामीसँग भए पो टिन किनेर ल्याउनु? आफैँसँग पैसा भएको भए किन सरकारसँग टिन माग्नु जानु पर्थ्यो?’

उनका अनुसार गाउँमा धेरै जनाका घरमा खरकै छानो छ। पछिल्लो समय सरकारले कार्यविधि फेर्दा आफूहरू जस्ता गरिबलाई समस्या भएको गुनासोसमेत गरे। 

पहिला सबै कागजपत्र मिलाएमा सीधै टिन पाइने भएकोमा अहिले भने पहिले आफैँले किनेर टिन लगाउनु पर्ने र लगाइसकेपछि सोधभर्ना पाइने भएकाले धेरै परिवार अझै खरकै छानामुनि बस्न बाध्य भएको उनको गुनासो छ।

उनले भने, ‘शुरुमा सरकारले टिन दिन लागेपछि धेरै खुशी लागेको थियो। खरको छानामुनि बसेका हामीहरू बर्खामा पानीको डर र हिँउदमा हावाहुरीसँगै आगोको डरमा बस्नु पर्ने बाध्यता छ तर अब शुरुमा आफैँले टिन किन्नुपर्ने भएपछि हामीलाई समस्या भएको छ। हाम्रा घरको छाना खरको रहेको सबैलाई थाहा नै छ। आखिरमा पैसा त हामीलाई दिने नै हो? शुरुमा दिए हामी टिन किनेर लगाउने थियौँ।’

स्थानीय सरकारको फेरिएको कार्यविधिले रोकामात्र नभइ तुलसीपुरका विभिन्न वडाका बासिन्दा खरको छानामुनि नै बस्न बाध्य भएका छन्। 

२०७४ सालमा तुलसीपुर उपमहानगरपालिकामा निर्वाचित भएर आएपछि तत्कालीन मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई खरको छाना मुक्त बनाउने अभियान शुरु गरेका थिए। पछि प्रदेश र सङ्घबाट जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम पनि आए।

तीन वटै तहका सरकारले खरको छाना मुक्त बनाउने अभियान गरेको भए पनि अझै घरका छाना टिन पर्खेर बसेका छन्। तुलसीपुर अझै सयौँ घरका छाना खर मुक्त हुन बाँकी छन्।

तुलसीपुरमा ३ हजार घरका छाना भए खरमुक्त

स्थानीय तहमा पहिलो पटक घरका छाना खरमुक्त गर्ने अभियान शुरु गरेको तुलसीपुर उपमहानगरले अहिलेसम्म आफ्नै क्षेत्रका बासिन्दाका घरको छाना खरमुक्त गर्न सकेको छैन। 

तुलसीपुर १, ३, १३, १९ लगायतका वडाका घरका छाना खरमुक्त भएका छैनन्। संघ र प्रदेश सरकारले पनि खरको छाना मुक्त गर्ने अभियानका साथ जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएको भए पनि यस आर्थिक वर्षमा यो कार्यक्रम नआएको उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले बताए।

उनका अनुसार तुलसीपुर-३ मा हजारभन्दा बढी घरका छाना खरमुक्त भएका छन् भने कतिपय अझै बाँकी छन्। यस आर्थिक वर्षमा यो कार्यक्रम नआएको र अर्को वर्ष आउने कुरा भएको उनको भनाइ छ। 

उपमहानगरको विपद् व्यवस्थापन शाखामार्फत् पनि विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएका परिवारहरूलाई पनि टिन दिँदै आइरहेको उनले बताए ।

संयोजक सांसद गिरीले ध्यान नदिँदा समस्या

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काका अनुसार प्रतिनिधिसभा सदस्य यो अभियानको संयोजक हुने प्रावधान रहेको छ। 

दाङ निर्वाचन क्षेत्र ३ मा यो कार्यक्रमका संयोजक प्रतिनिधिसभा सदस्य दीपक गिरी हुन्। आफूसहित पश्चिम दाङका ३ वटा गाउँपालिकाका अध्यक्ष सदस्य छन्।

संयोजक गिरीले बेवास्ता गर्दा करिब एक हजार घरका छाना खरमुक्त हुन बाँकी रहेको उनको भनाइ छ। 

उनले भने, ‘मैले  संयोजकलाई बैठक बस्न पटक पटक आग्रह गर्दै आएको छु तर अहिलेसम्म उहाँले चासो नदिँदा नागरिकहरूले समस्या भोगिरहेका छन्। निर्वाचन क्षेत्र १ र २ मा टिन वितरण भएको छ तर क्षेत्र ३ मा एउटै घरलाई पनि वितरण भएको छैन।’

संयोजकले बेवास्ता गर्दा आफूहरूलाई समस्या भएको भन्दै उनले छाना खरमुक्त गर्न स्थानीय सरकारमा फाइलहरू चाङका चाङ रहेको पनि समेत बताए। 

उनले भने, ‘टिक वितरणको लागि उहाँको अध्यक्षतामा बैठक बस्नु पर्ने हुन्छ। उहाँले मैले अहिले भ्याउँदिनँ‚ बैठक बस्नुहोस्, म आएर सही गर्छु भने पनि हामी गर्न तयार छौँ। निर्वाचन जितेर गएदेखि अहिलेसम्म उहाँसँग भेट भएको छैन।’

यहाँका बासिन्दा स्थानीय सरकारले टिन नदिएको भनेर आफूहरूसँग रिसाएका भए पनि संयोजकका कारणले गर्दा समस्या भएको उनले बताए। 

शुरुमा तुलसीपुर उपमहानगरले यो अभियान सञ्चालन गर्दा वडा कार्यालयको सिफारिशमा बासिन्दाले टिन पाउने भए पनि अहिले संघ र प्रदेशले पनि यस्तै कार्यक्रम ल्याएपछि प्रतिनिधिसभा सदस्य संयोजक हुने व्यवस्थाले गर्दा समस्या भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.