|

सर्लाही : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक बिहीबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

कालिन्जोर पुलदेखि करिब सय मिटर पूर्वतर्फ बिग्रिएर रोकिराखेको बीआर ०६ जीडी ३१४१ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश –२–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक हरिवन नगपालिका–११, का २८ वर्षीय मुकेश कुमार गुप्ता र सोही मोटरसाइकलको पछाडि सवार हरिवन ११ कै ३५ वर्षीय सुनिलकुमार गुप्ताको मृत्यु भएको हो।

मोटरसाइकल चालक मुकेशलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा र पछाडि सवार सुनिललाई जनसेवा अस्पताल बर्दिबास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लाल बन्दीका प्रहरी निरीक्षक हरिबोल केसी ले जानकारी दिए। उनका अनुसार बिहीबार राति ९ः३० बजेतिर दुर्घटना भएको हो। ट्रक बिग्रिएपछि चालक र सहचालक मिस्त्री खोज्दै लालबन्दी बजारतर्फ आएको बेला दुर्घटना भएको प्रहरी निरीक्षक केसीले बताए।

दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याई राखिएको छ। ट्रकका चालक प्रहरी नियन्त्रणमै छन्। मृतक मुकेशको शव मलङ्गवा र सुनिलको शव बर्दिबासमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.