|

जाजरकोट (गराग्ली)  ः शुक्रबार राती गएको भूकम्पले नलगाड नगरपालिका –६ गराग्लीका शेरबहादुर रावलले  आमा सितली रावल भाउजू कल्पना बिष्ट रावल छोरी गुन्जन रावल र छोरा टाइजन रावललाई एकै पटक गुमाउनु पर्र्यो। 

दिनभरीको कामको थकानले  सबै सुतिरहेको समयमा एक्कासी आएको भूकम्पले सबै परिबारलाइ एकै पटक संसारबाट बिदा बनायो। ७ जनाको परिवार मध्ये ३ जना मात्र बाँच्न सफल भएको अन्य ४ जनाको घटना स्थलमा मृत्यु भएको छ।

शेरबहादुरका बुबा कृतिबहादुर रावल , छोरी स्मृति रावल गम्भीर घाइते भएका छन् भने दाजु विवश रावल घर बाहिर भएका कारण ज्यान बचेको छ।  उक्त परिबारलाई राहतको नाममा केही पनि नपुगेको शेरबहादुरले बताए। 

घर भत्किएर तहसनहस भएपछि क्रियापुत्री समेत खुल्ला आकाशमै बस्नु परेको छ। कुनै पनि निकायबाट अहिले सम्म पाल लगाएतका सामग्री नपुगेको शेरबहादुरको गुनासो छ। सबै निकायलाई आफूहरुलाई परेको समस्य बताउँदा पनि कुनै पनि सहयोग नपाएको शेरबहादुरले बताए। 

त्यस्तै नलगाड नगरपालिकामा ७ हजार भन्दा बढी पालको आवश्यक पर्ने भएपनि हाल सम्म मुस्किलले २५० मात्र पुगेको योजना शाखाका प्रमुख नारायण खत्रीले बताए। एकद्धार प्रर्णालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिका सम्म नदिदा पीडितले राहत पाउन नसकेको अवस्था रहेको नगरप्रमुखको सचिवालयले बताएको छ। 

नगरपालिकाले सक्ने काम गरिरहेको छ ,  हाम्रो क्षमता भन्दा बाहिर हामी कसरी पुर्याउन सक्छौँ नगरप्रमुख डम्वर रावतले भने। ​ नलगाड नगरपालिकाको १ देखि ७ सम्म भारी मात्रामा क्षति भएको छ। तीन दिन बित्न लाग्दा सम्म पीडितलाई सामान्य पाल सम्म पाउन सकिएको छैन नलगाड नगरपालिका–६ कि किशोर रावलले बताए।

 ‘मिडियामा राहत व्यापक आयो भन्ने छ , तर यहाँ केही पुगेको छैन । हामी हल्लाले बाँच्ने होइन बरु , मर्ने सम्भावना बढ्यो । ’  अहिले सम्म नलगाडको सामान्य डाटा अनुसार ६८ जना घाइते भएको र ५४ जनाको मृत्यु भएको तथ्यांक नगर सरकारसँग रहेको छ। 

भूकम्पको केन्द्र विन्दु बारेकोट गाउँपालिका–१ रामीडाडा भएपनि नलगाड नगरपालिकामा बढी क्षति हुन पुगेको छ। भूकम्प पीडित बस्तीमा सञ्चार सेवा समेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताए। धेरै पटक टावर माग गरियो तर अहिले सम्म सुनुवाइ नभएको उनको भनाइ छ।

त्यस्तै भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा थिए। त्यही राति ११ः४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६।४ रेक्टर स्केलको भूकम्पको झट्काले भूमिलालसँगै सिंगो बस्तीको निद्रा बिथोलियो।

भूकम्पको कम्पन नसकिँदै दलबहादुर जोगाउन झयालबाट हाम फालेर भागेको बताए। परिबारका सबै सदस्यहरु को कत्ताबाट बाहिरियो आफूलाई अत्तोपत्तो समेत नभएको उनको भनाइ छ। बर्षौंदेखि बसिआएको पुर्ख्यौली घर एकाएक तहसनहस भयो। 

भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था दलबहादुरको जस्तै छ।  केन्द्रविन्दु भएर पनि मानवीय क्षति भएको छैन। भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठबिसकोटको भन्दा कम छ।​

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताउँछन्। 

‘केन्द्रविन्दु नजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट ७ जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका ३ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ। बाँकीको स्थानीय स्वास्थ्य चौकीमा नै उपचार भइरहेको छ’, अध्यक्ष गिरीले भने , ‘घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ। तर कुनै पनि घर बस्नलायक छैनन्। अहिले यहाँ करिब १००० घर परिवार विस्थापित भएका छन्। उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो।’

उनले करिब १०० वटा घर पूर्ण रुपमा भत्केका र ४०० भन्दा बढी घरहरू चर्किएका बताए। ‘यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ’, अध्यक्ष गिरी भने , ‘घरहरू उभिएका मात्रै छन्। चर्किएका घरहरु भत्किएका छैनन् भन्ने मात्रै हो।’ भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टांगेर रात कटाइरहेकी  ६१ बर्षीया रामकुमार घर्तीले बताइन्।

‘हामीलाई त्रिपालको समस्या छ। गाई राति नै वनतिर धपाइदियौँ। अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ’, रामकुमारीले भनिन्   ‘आफू त पाल टांगेर बसौँला। गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ। बाँच्ने कसरी, बचाउने कसरी? चिन्ता लागेको छ।’

उनी जस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जंगलतिर धपाएका छन्। खुला चौर र बारीको कान्लामा टांगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन्।

बारम्बार भूकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन। उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण संकलन गरिसकेका छन्। तर जाजरकोटकै नलगाड र रुकुम पशिचमको आठबिसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मीहरू त्यतै केन्द्रित भएका छन्। 

मानवीय क्षति कम भएपनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावितहरू अहिले राहत र पुनः थापनाको प्रतिक्षामा छन्। 

हाल सम्मको रिर्पोट अनुसार जाजरकोटमा १०५ जनाको मृत्यु भइसकेको छ। भौतिक संरचनाको क्षतिको विवरण अझैँ आउन सकेको छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.