|

दाङ : हिजोआज तुलसीपुर-१९ छिल्लीकोटका स्थानीयहरूलाई सुगन्ध कोकिला अर्थात मालागेडी टिप्न भ्याइ नभ्याइ छ। घरमा रोपेका र जङ्गलमा रहेका रुखमा अहिले मालागेडी पाकेका छन्।

आम्दानीमा राम्रो स्रोत मानिने मालागेडी स्थानीयहरूले टिप्न थालेका हुन्। छिल्लीकोटमा अन्य खाद्यान्न बाली उत्पादन त्यति धेरै हुँदैन, दुर्लभ वनस्पतिका रुपमा रहेको मालागेडी भने प्रशस्त पाइन्छ।

त्यही मालागेडीको बिक्रीबाट यहाँका स्थानीयले वार्षिक १५ करोडसम्म आम्दानी गर्ने गरेका छन्। मल्लगिरी पर्वतमा मात्रै पाइने यो वनस्पति जिल्लाकै अन्य पालिका पनि विस्तार हुने क्रममा छ भने नेपालका २६ जिल्लामा यसको बिरुवाहरू पठाइएको छ। परापूर्वदेखि नै तुलसीपुर-१९ मा छिल्लीकोटमा मालागेडीका ठूला ठूला रूखहरू थिए।

स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार सतीदेवीको दाहिने कुम पतन भएको मल्लगिरी पर्वतमा रहेका ती रुखमा फलेको बास्नादार फललाई मालागेडी भन्न थालिएको हो।

उक्त फलको महत्त्व र प्रचारप्रसारको अभावमा कुनै समय वनमा त्यसै खेर जाने फल अहिले तुलसीपुर-१९ छिल्लीकोटका स्थानीयका लागि भने यार्साजस्तै भएको छ। वैशाख जेठमा फूल लागेर भदौ असोजदेखि पाक्न शुरु गर्ने निकै नै बास्नादार यो फल छिल्लीकोटका १ सयभन्दा बढी घरधुरीको आम्दानीको श्रोत बनेको छ।

यहाँका सबै घरका सदस्यहरू यो फल सङ्कलनका लागि हिजोआज सरकारी तथा तथा सामुदायिक वनमा डुलिरहेका भेटिन्छन्। यो फलको रूख ठूलो हुने भएकाले रुखमा चढेर भन्दा पाकेर भुईँमा खसेपछि बाँदर तथा खुला चरिचरनबाट बचेखुचेको फल सबैले संकलन गर्छन्।

नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्ती लगायतमा प्रयोग हुने मालागेडी किन्न व्यापारीहरु घर घरमै पुग्ने गर्छन्। गत वर्ष ५ सय रुपैयाँ प्रतिकेजी बिक्री गरेका किसानहरू यो वर्ष अझै बढी मूल्य पाउने आसमा छन्। 

स्थानीय गीता वलीका अनुसार आफ्नो ठाउँमा अरु केही नहुने र मालागेडीमात्र हुने गर्छ। उनका अनुसार धेरै हुनेले ५/६ लाखसम्म आम्दानी गर्ने र थोरै हुनेको ५०/६० हजार रुपैयाँसम्म हुने गर्छ।

उनले भनिन्, ‘हामीहरूको आयस्रोत नै यही हो। धेरै जम्मा गर्नेले ५/६ क्विन्टलसम्म पनि बनाउनु हुन्छ। थौरै हुनेले एक क्विन्टलसम्म बनाउनु हुन्छ। ठूला रूखहरू छन्। भदौदेखि मंसिरसम्म पाक्ने गर्छ। रुखमा चरा र बाँदरले खान्छन्, झरेको संकलन गरेर बेच्ने हो।’

सोही ठाउँकी नानामती पुनले पनि यही मालागेडी बेचेर नै आफूहरूले जीविका चलाउँदै आएको बताइन्। मालागेडी फलेको वर्षमा २/४ क्विन्टलसम्म हुने गरेको भन्दै उनले अन्नबाली लगाउँदा बाँदरले हुन नदिने गुनासोसमेत गरिन्।

परापूर्व कालदेखि नै घरका कान्ला, बारीका पाटा तथा घरछेउका वनमा आफैँ उम्रिएका रूखहरू बूढा भएका र सुक्न थालेपछि स्थानीयहरू यसलाई बचाउन नयाँ बिरुवा उत्पादन गर्न तथा बिरुवा हुर्काउनतर्फ पनि लागेका छन्। 

हरेक घरमा २/४ वटा बोटदेखि ५० वटासम्म मालागेडीका रूख रहेका छन् भने नयाँ बिरुवा पनि हुर्काइरहेका छन्।

स्थानीय परविर पुनका अनुसार कुनै समय ४०/५० रुपैयाँमा बिक्री हुने र बेच्न बजारै जानुपर्ने बाध्यता थियो भने अहिले गाउँमै व्यापारी आएर ५ सय रुपैयाँ प्रतिकिलो र ५० हजार रुपैयाँ क्विन्टलमा लैजाने गरेका छन्।

पछिल्लो समय यसको माग बढ्दै गएपछि यहाँका किसानको आयस्रोत बन्दै गएको समेत उनले बताए।  फूल फुलेको समयमा असिना पानीबाट बचाइदियो भने छिल्लीकोटका किसानले थोरैमा ५० हजार रुपैयाँदेखि धेरैमा ११ लाख रुपैयाँसम्म एक सिजनमा आम्दानी गर्ने गरेका छन्।

जिल्लाबाट वार्षिक ३ सयदेखि ४ सय क्विन्टल सुगन्ध कोकिला निकासी हुने गरेको छ। यसबाट करिब २० करोड रुपैयाँ आम्दानी हुने गरेको छ।

खासगरी तुलसीपुर-१९ छिल्लीकोटमा पाइने यो फल तुलसीपुरकै वडा नम्बर १८ र बंगलाचुली गाउँपालिकाको १ देखि ५ नम्बर वडाका वनहरूमा पनि विस्तार गर्न थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

कार्यालयका अनुसार मालागेडीले समुदायको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको खेती प्रवर्द्धन गरिएको हो। कार्यालयले हरेक वर्ष उन्नत जातको मालागेडीका बिरुवा उत्पादन गरेर किसानहरूलाई निःशुल्क वितरण गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.