|

तुलसीपुर : सरकारले मिर्गौलाका विरामीलाई निःशुल्क डाइलासिस सेवा दिए पनि आर्थिक अभावका कारण उनीहरूलाई त्यो सेवा लिन समस्या भएको छ।

दाङमा राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीको सामुदायिक डाइलासिस सेन्टरमा गरी डेढ सयभन्दा बढीले नियमित डाइलासिस गराउँदै आएका छन्।

लमही नगरपालिका-९ तेलियाकी कौशिला चौधरीले ३५ वर्षीय श्रीमान् करमलाल चौधरीका दुबै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको बताइन्। घरको कमाउने व्यक्ति नै विरामी भएपछि आफूहरूलाई धेरै समस्या भएको उनको भनाइ छ।

उनले भनिन्, ‘घरमा ५ जना छौँ। कमाउने व्यक्ति विरामी हुनुहुन्छ। भएको पैसाले उहाँको उपचार गर्दै आएका छौँ। अब पैसा छैन। उहाँको उपचार कसरी गर्ने? छोरीहरूलाई कसरी पाल्ने? निकै समस्या छ।

उनले युवावस्थामै श्रीमान्‌का दुईवटा मिर्गौलाले काम नगर्ने अवस्था भएको भन्दै पैसाका कारण उपचार गर्न नसकेको बताइन्। आर्थिक अभावका कारण श्रीमान् अहिले रुँदै घरमा बस्नुपरेको उनको भनाइ छ। यसैगरी राप्ती गाउँपालिका-५ कालापानीकी संगीता चौधरीलाई पनि उस्तै समस्या छ।

उनका श्रीमान्‌का पनि दुईवटा मिर्गौलाले काम गर्न छाडेका छन्। आर्थिक अवस्था कमजोर रहेको हुँदा समस्या भएको बताइन्। उनका अनुसार श्रीमान्‌को अहिले लमहीमा डाइलासिस हुँदै आएको छ। उनले भनिन्, ‘डाइलासिस गर्न लागेको एक वर्ष भयो। उहाँको उपचार गर्दा भएको थोरै जग्गा पनि बेचिसक्यौँ। घरमा कमाउने भनेकै श्रीमान् हुनुहुन्छ। उहाँलाई यस्तो रोग लागेपछि हामी अहिले निकै समस्यामा छौँ।’

उनका अनुसार श्रीमान्‌ले पहिला गाडी चलाउँथे। विरामी भएपछि जचाउँदा मिर्गौलाले काम नगरेको थाहा भयो। हप्ताको २ पटक निःशुल्क डाइलासिस गर्दै आए पनि औषधि लगायतका खर्च आफैंले बेहोर्नुपर्ने उनले बताइन्। उनले भनिन्, ‘नियमित औषधि खुवाउनुपर्छ। कहिलेकाहीँ पैसा नहुँदा एकदुई हप्ता औषधि खुवाउन छुट्छ।

स्वास्थ्य बिमा बनाउन आग्रह

लमही सामुदायिक डाइलासिस सेन्टरका डाक्टर अब्दुस सबुत खानका अनुसार विरामीलाई निःशुल्क डाइलासिस सेवा दिए पनि अन्य कुरामा पैसा लाग्ने भएकाले समस्या हुने गरेको छ।

पछिल्लो समय अस्पतालमा मिर्गौलाका विरामी बढिरहेको र छिमेकी जिल्लाबाट पनि सेवा लिन आउने र आउँदाजाँदा यातायात खर्च, खान बस्न, औषधि लगायत किन्नुपर्दा विपन्न परिवारका विरामीलाई समस्या हुने गरेको बताए।

उनले भने, ‘एउटा विरामीले अवस्था हेरेर दैनिक ५-१० वटासम्म औषधि खानुपर्छ। हप्ताको रगत बढाउने एउटा सुई वा आइरन खानुपर्ने हुन्छ। यसले औषधिमा खर्च हुन्छ। सरकारले डाइलासिस सेवा मात्र निःशुल्क गरेको हो।

यस्तै उनले अहिले अस्पतालमा आएका विरामीलाई स्वास्थ्य बिमा बनाउन सुझाव दिने गरेको बताए। ३५ सयको स्वास्थ्य बिमा बनाउँदा एक वर्षसम्म एक लाखसम्मको औषधि पाइने भएकाले सेवा लिन आउने विरामीलाई स्वास्थ्य बिमा बनाउन आग्रह गर्ने गरेको उनको भनाइ छ।

राप्ती प्रादेशिकमा सेवा सहज

कुनै समय राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मिर्गौलाका विरामीले डाइलासिस गर्न पालो कुर्नुपर्ने बाध्यता थियो। अस्पतालमा अहिले १० वटा मेसिन गत साउनदेखि सञ्चालनमा आएपछि लामो समयदेखि पालोमा बसेका विरामीले सेवा पाएका छन्। अहिले ५१ जनाले नियमित सेवा पाइरहेका छन्। अस्पतालमा शुरुमा ५ वटा मेसिन थिए। एउटा बिग्रिएपछि ४ वटाले सेवा दिँदा विरामीले पालो कुरेर बस्नुपर्ने बाध्यता थियो।

तुलसीपुर८ टिकरीका आशाराम विकले अस्पतालमा नाम टिपाउँदा पालो नआएपछि करिब डेढ वर्षसम्म लमहीमा नियमित डाइलासिस गराएका थिए। अहिले राप्ती प्रादेशिक अस्पतालमा थप मेसिन जडान भएपछि नियमित डाइलासिस गराउँदै आएको उनको भनाइ छ।

तुलसीपुरबाट डाइलासिस गर्न जाँदा एकपटकमा १५ सयसम्म खर्च हुने गरेको भन्दै उनले अहिले तुलसीपुरमा सेवा पाउँदा बचत भएको समेत बताए। यस्तै उनले शुरुमा डाइलासिस गर्दा धेरै खर्च हुने गरे पनि पछिल्लो समय बिमा बनाएपछि कम खर्च हुने गरेको बताए।

यस्तै उनले आफू जस्तै बिरामीलाई स्वास्थ्य बिमा बनाउन समेत आग्रह गरे। यस्तै अस्पतालमा हप्ताको एक पटकदेखि बिरामीको अवस्था हेरी ३ पटकसम्म डाइलासिस हुँदै आएको छ। अहिले २२ वर्षदेखि ८४ वर्षसम्मका व्यक्तिले डाइलासिस गरिरहेको अस्पतालकी नर्सिङ निरीक्षक डोनी महतले बताइन्।

अहिले ५ जनालाई हप्ताको तीनपटक र बाँकीलाई हप्ताको दुईपटक सेवा दिँदै आएको उनको भनाइ छ। उनका अनुसार तुलसीपुरमा पुरुषको तुलनामा डाइलासिस सेवा लिने महिला धेरै छन्। अस्पतालले बिहान र दिउँसो गरी दुई सिफ्टमा बिरामीलाई डाइलासिस सेवा दिँदै आएको छ।

अझै ४, ५ जना नयाँ विरामीलाई सेवा दिन सक्ने

अहिले विरामीले पालो कुर्नुपर्ने अवस्था नभएको र अझै ४, ५ जना नयाँ विरामीलाई सेवा दिने सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पदमराज अधिकारी बताए। उनका अनुसार नयाँ मेसिन थपिए पनि विरामीले सहज सेवा पाएको र दाङ लगायत छिमेकी जिल्लाका विरामीले सेवा लिँदै आएका छन्

यसैगरी उनले डाइलासिस गर्दा प्रयोग हुने केमिकल, सुई लगायतका बस्तु निःशुल्क हुने र विरामीले नियमित खानुपर्ने औषधि किन्नुपर्ने पनि बताए।

उनका अनुसार पछिल्लो समय खानपिन र व्यायामका कारणले गर्दा नसर्ने रोगका विरामी बढ्दा मिर्गौलाका विरामी बढेका हुन्। उनले भने, ‘सुगर, उच्चरक्तचाप लगायत नसर्ने रोगका कारण मिर्गौलामा असर हुन्छ। त्यसैले सबैभन्दा पहिले खानपिनमा ध्यान दिनुपर्छ भने व्यायाम पनि उत्तिकै आवश्यक हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.