नगरप्रमुख भन्छन् - हेलिकप्टर आतंक बन्द गर

|

जाजरकोट : राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे। सदरमुकामबाट पठाएको राहत सामग्री अझै राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहतभन्दा पनि पहिले गाउँ पुगे। 

मन्त्रीदेखि राष्ट्रपतिसम्म जिल्लामा आउने र जाने भीड लागे पनि भूकम्पपीडितसम्म अझै राहत सामग्री पुग्न नसक्दा समस्या उत्पन्न भएको छ। 

अगुवा, पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुगेको राष्ट्रपति पौडेलले जनता जनधनको क्षतिप्रति दुःखी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिने समेत बताए। 

राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्वसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए तर राष्ट्रपति खाली हात भाषण मात्र लिएर भत्किएका संरचना हेर्न बारेकोट पुग्दा यहाँका जनताले ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भनेझैँ भएको बताएका छन्। 

बारेकोट गाउँपालिका–१ रामिडाँडामा भूकम्पको केन्द्रविन्दु रहेको थियो। ‘केही काम गरौँला भनेर आशा लिएर आएका छौँ, हाम्रो भरोसा मान्नुहोस्’ भन्दै आश्वासनको पोको सुनाएर फेरि राष्ट्रपति पौडेल काठमाडौँ हुइँकिए। 

राष्ट्रपति पौडेलले सदरमुकामस्थित माथिल्लो थाप्लेमा भत्किएका संरचनाको स्थलगत अनुगमन गरेका थिए। उनले पहिले थाप्ले वास बसेको स्मरण गर्दै यसको पूर्ण निर्माण गर्न सरकारसँग कुरा गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे। 

जाजरकोट अस्पतालमा बिरामी भेट्न गएका राष्ट्रपति पौडेललाई भेरी नगरपालिका-१ कि शितली विकले पहुँचवालाको मात्र बाहिर उपचार भएको भन्दै आलोचना गरेकी थिइन्। उनले आफ्नी बुहारी विदेशमा रहेकाले तत्काल फिर्ता ल्याइदिन राष्ट्रपतिसँग आग्रह गरेकी थिइन्। 

भूकम्पका कारण मेरुदण्डमा समस्या आएर अस्पतालमा उपचार गराइरहेका नलगाडका वीरबहादुर पुनले समेत आफूलाई पक्षपात गरेर जाजरकोट अस्पतालमै उपचार गर्न बाध्य बनाएको आरोप लगाउँदै राष्ट्रपतिसँग गुनासो गरे। 

अरु भूकम्पपीडितको उपचार बाहिर भएको तर आफ्नो मात्र जिल्ला अस्पतालमा किन गरेको होला भन्दै आफूले बुझ्न नसकेको उनले राष्ट्रपतिलाई सुनाए। 

राष्ट्रपति पौडेलले वीरबहादुरलाई बाहिर लगेर उपचार गर्ने भन्दै आश्वस्त पारे तर राष्ट्रपति काठमाडौँ पुग्ने समयसम्म वीरबहादुर जाजरकोट अस्पतालको बेडमै उपचाररत छन्। 

राष्ट्रपति पौडेललाई ल्याएको हेलिकप्टर अवतरण गर्न भूकम्पपीडितलाई आवासको लागि बनाएको टेन्टसमेत हटाएको थियो। 

बारेकोट गाउँपालिकाले ३ हजार पाल माग गरेकोमा हालसम्म २ हजार थान त्रिपाल पठाएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बताए। १ हजार ३०० कम्मल, ४०० थान म्याट्रेस बारेकोट पठाएको उनले बताए।

आजदेखि कुशे गाउँपालिकामा पनि हवाई मार्गबाट केही सामग्री पठाएको छ। जुनिचाँदे गाउँपालिकामा बुधवार मात्र पठाउने कार्ययोजना रहेको छ। 

जिल्लास्थित सुरक्षा अधिकारीबाट राहत सामग्रीको बारेमा जानकारी लिन खोज्दा कोही पनि तथ्यांक दिन तयार छैनन्। राहत सामग्री गाडीमा, मन्त्री तथा नेताहरु हेलिकप्टरमा जाँदा राहतको सामग्री पुग्न समय लागेको हो।

योभन्दा अगाडि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री शेरबहादुर बस्नेत, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका आउने र जाने गरिरहेका छन्। 

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट बसेर राहत सामग्री संकलन तथा वितरणको काममा खटिरहेका छन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहसमेत जाजरकोटमै रहेका छन्। 

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले आकाशमा हेलिकप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन्।

‘विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर। संविधानले व्यवस्था गरेको स्थानीय विपद व्यवस्थापन समितिको अधिकार मिच्न नखोज‚’ घर्तीले लेखेका छन्, ‘भेरी नगरपालिकामा ५ हजार त्रिपाल चाहियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.