|

पर्वत : दशैँ र तिहारको बीचमा थोरै दिनको अन्तर भएमा कतिपय विद्यालयहरू बन्द हुने गरेका छन्। बर्खा याममा विद्यालयले राख्न पाउने बिदा बचत गर्दै दशैँ र तिहारको बीचमा विद्यालय बन्द गर्ने अभ्यास पनि छ।

यही बेलामा धान कोदो थन्क्याउने बेला हुने तथा बालबालिकाहरू पनि चाडपर्वको रमाइलोमा रहने भएका कारण स्थानीय तहहरूले नै निर्णय गरेर दशैँ अगाडि बन्द भएका विद्यालयलाई तिहारपछि सञ्चालनमा ल्याउने गरेका छन्।
तर जिल्लाको जलजला गाउँपालिकाले भने दशैँ र तिहारबीच रहेको अवधिलाई सदुपयोग गर्दै विद्यार्थीहरूलाई उपचारात्मक शिक्षण विधिबाट अध्यापन गराइरहेको छ। गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत कतिपय बालबालिकाहरूको शैक्षिक उपलब्धि स्तर कमजोर रहेपछि पढाइको धेरै चाप नभएको समय पारेर उनीहरूको उपलब्धि स्तरमा सुधार गर्ने प्रयास गाउँपालिकाले गरेको हो।

‘गुणस्तरीय शिक्षाको आधारशिलाः सुखी, समृद्ध र समतामूलक हाम्रो जलजला’ भन्ने नाराका साथ शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शैक्षिक योजना कार्यान्वयन गरिरहेको जलजलाले यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरेको छ। ‘घरमा सबैको वातावरण एकैनासको छैन। कोही बिहानभर काम गरेर दिउसो विद्यालयमा आउने छन्, कोही जसोतसो छाक टारेर विद्यालय आउने छन्। कोहिले अध्ययनका लागि राम्रो वातावरण पाएका छन्’, गाउँपालिकाका अध्यक्ष राजु आचार्य भन्छन्, ‘दशैँ र तिहारको बीचमा अध्ययनको त्यति धेरै चाप हुँदैन। यो बेलामा कमजोर उपलब्धि स्तर रहेका विद्यार्थीहरूको लागि विशेष विद्यार्थीहरूको  सञ्चालन गर्दा उनीहरूको स्तर माथि उकासिने आशामा यो कार्यक्रम सञ्चालन गरिएको हो।’

वडा-१ मा रहेको ज्योति मण्डल मा.वि, वडा-३ मा रहेको विद्या ज्योति मा.वि., वडा-५ मा रहेको ग्राम प्रकाश मा.वि., वडा-६ मा रहेको ज्योति मा.वि. र शालिजा मा.वि., वडा-७ मा रहेको कृष्ण भवन धर्म मा.वि., फर्से धाइरिङ मा.वि. र शिव मा.वि. वडा-८ मा रहेको जनकल्याण मा.वि. तथा वडा-९ मा रहेको बनौँ मा.वि. गरेर १० वटा विद्यालयमा चाडपर्वको बेलामा पनि विशेष कक्षाहरू सञ्चालन गरिएको हो।

ती विद्यालयहरूमा करिब चार सय जना विद्यार्थीहरूले उपलब्धि सुधारका लागि अध्ययन गरिरहेका छन्। पाठ्यक्रममा समावेश भएका तर विद्यार्थीको सिकाइमा बढी समस्याग्रस्त विषयवस्तुमा केन्द्रित रहेर कक्षा सञ्चालन भइरहेकाले विद्यार्थीहरू किताबका समस्याबाट भाग्ने बानीको न्यूनीकरणका लागि पनि यो अभियानले काम गर्ने अध्यक्ष आचार्यको भनाइ छ।

यस्तै पछिल्लो समय प्रविधिमैत्री शिक्षाको विकास भइरहेको सन्दर्भमा ती विद्यार्थीहरूलाई सूचना तथा प्रविधिको प्रयोगमार्फत अध्ययनमा सहभागी हुने तरिकाहरूको बारेमा पनि अध्यापन भइरहेको छ। प्रविधिमा कमजोर रहेका विद्यार्थीहरूले ‘इन्टरनेट’ वा ‘सर्च इन्जिन’ मा रहेका विषयवस्तुहरू खोजेर स्वअध्ययन गर्न समेत समस्या भोग्दा उनीहरूको सिकाई स्तर कमजोर रहेकोले यी विशेष कक्षामा प्रविधिको प्रयोगका बारेमा पनि अध्यापन गरिएको छ।
स्थानीय तहको निर्वाचनको बेलामा आफूले शैक्षिक सुधारको क्षेत्रमा काम गर्ने बताएर जनताको आँगनमा पुगेकाले आफूले बोलेको कुरा पूरा गर्नैको लागि शैक्षिक सुधार आवश्यक रहेको भन्दै उनले गाउँपालिकाले प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेको उल्लेख गरे।
गत कार्त्तिक १० गतेदेखि बिहान र बेलुका गरेर दैनिक दुई घण्टा ‘उपचारात्मक कक्षा’ सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्य बताउँछन्। ‘उपचारात्मक कक्षा’ मा विद्यार्थीहरूको मामला अध्ययन गरेर सिकाइमा कमजोर रहनुको कारण पत्ता लगाई त्यसको समाधानको लागि विद्यार्थी स्वयंलाई सक्रिय बनाउन शिक्षकले सहयोग गरिरहेका छन्।

विद्यार्थीबाट समाधान हुन नसकेमा शिक्षक, विद्यालय, वडा हुँदै गाउँपालिकाले त्यसको समाधानका लागि प्रयास गरेर विद्यार्थीको अध्ययन वातावरण सधैँका लागि राम्रो बनाउने प्रयास भइरहेको शिक्षा अधिकृत आचार्यको भनाइ छ। ‘उपचारात्मक शिक्षण’ लाई सफल बनाउनकै लागि यो कार्यक्रम भन्दा अगाडि नै अभिभावकहरूलाई भेला पारेर उनीहरूका सन्तानको शैक्षिक अवस्थाका बारेमा जानकारी गराइएको छ। अभिभावकहरूले उनीहरूका लागि घरमा निर्माण गरिदिनुपर्ने वातावरणको बारेमा सिकाएर पठाएपछि विद्यार्थीहरूको लागि कक्षा सञ्चालन गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.