स्वार्थको राजनीति, व्यर्थको अनुगमन, मन्त्री र नेताबाट शक्ति दुरुपयोग

|

जाजरकोट  : भूकम्पबाट जाजरकोटवासी ठूलो पीडामा छन्। त्रिपालको सहारामा रात कटाउँदै आएका पीडितलाई गाँसबासकै चिन्ता छ।

भूकम्पले घरसँगै खाद्यान्न र लत्ताकपडा पुरिएका छन्। अधिकांश पीडितसँग एकसरो कपडाको भरमा छन्।

पीडाको आहालमा डुबेका पीडितलाई खाद्यान्नसँगै लत्ताकपडाको ठूलो खाँचो छ। सहयोगी निकायले दिएको केही थान त्रिपाल र चामल मात्र पाएका छन्। परिवार र आफन्त गुमाएका नागरिकका आँसु पुछिदिने कोही छैन। सरकारले घोषणा गरेको राहत सामग्री पीडितको हातमा पुगेको छैन।

तर, भिआइपी (राज्यका उच्च पदस्थ)हरू भूकम्प पीडितको आँसुमा रमिता गरिरहेका छन्। भूकम्प गएकै भोलिपल्ट कार्यकारी नेतृत्व (प्रधानमन्त्री) नै घटनाको स्थलगत अनुगमन गरिसकेपछि पनि अनुगमनका नाममा भिआइपीको लस्कर रोकिएको छैन।

पीडितलाई तत्काल राहत दिनुको पुर्‍याउनुका सट्टा भिआइपीहरूले शक्ति प्रदर्शन जस्तै गरेर व्‍यर्थको अनुगमन गरेर राज्य शक्ति र स्रोतको दुरुपयोग गरेका छन्।​ आतंक नै मच्चाउने गरी भिआइपीहरूले अनुगमनका नाममा स्वार्थको राजनीतिक गरेका छन्।

जिल्लामा दिनहुँ भिआइपीको ओइरो लागेपछि प्रशासनिक निकायले सुरक्षा व्यवस्थापनमा कठिनाइ भएको छ। सिंगो प्रशासनिक निकाय नै भिआइपीको सुरक्षामा लागेपछि राहत वितरणमा ढिलाइ भएको छ।

पीडित ओत हटाएर राष्ट्रपतिको स्वागत

भूकम्पपीडित ओत लाग्ने त्रिपाल उठाएर राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गरिएको छ। मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न राष्ट्रपति जाजरकोट आएका थिए।

त्रिभुवन माविको प्रांगणमै राष्ट्रपति सवार हेलिकोप्टबसाल्ने भएपछि त्यहाँ भूकम्पपीडित ओत लाग्न बनाइएका टेन्टहरू हटाउनुपरेको थियो।

राष्ट्रपति आउनुअघि धुलो नउडोस् भनेर प्रांगणमा पानी हालिएको थियो। तर, थोरै भागमा पानी हालिएका कारण राष्ट्रपति सवारी हेलिकोप्टरले पीडितका लागि पठाइएका राहत सामग्री धुलाम्य बन्न पुगे।

सरकारलाई निर्देशन दिनेबाहेक भूकम्प पीडितका लागि राष्ट्रपति स्वयंले केही पनि गर्न पाउँदैनन्। निर्देशन दिने वा जानकारी लिने काम राष्ट्रपतिले काठमाडौंमै बसेर गर्न सक्थे।

राष्ट्रपति आएपछि राहत रोकियो

राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा आएपछि मंगलबार दिनभर राहत ढुवानी रोकिएको छ। राष्ट्रपति प्रभावित क्षेत्रमा रहुन्जेल अर्का हेलिकोप्टर स्टेन्टवाई (उद्दारका लागि तयारी अवस्था)मै राख्नुपर्ने भएका कारण दुईवटै हेलिकोप्टरले राहत सामग्री ढुवानी गर्न पाएनन्।

एउटा हेलिकोप्टरले राष्ट्रपतिलाई घुमाउनुपर्ने र अर्को हेलिकोप्टर स्टेनवाई राख्नुपर्ने भएपछि मंगलबार दिनभर राहत सामग्रीको ढुवानी रोकिएको प्रशासनिक स्रोतले जनाएको छ।

राष्ट्रपति नआएको भए मंगलबार सुर्खेत, नेपालगञ्ज र दाङबाट नेपाली सेनाले राहत सामग्री हेलिकोप्टरबाट बारेकोट, कुसेनलगाडका प्रभावित क्षेत्रमा ढुवानी गर्ने कार्यतालिका थियो।

राहत बोक्ने हेलिकोप्टरमा नेताहरूको मस्ती

भूकम्पबाट बढी प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री पुर्‍याउने कमाण्ड संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले सम्हालिरहेका छन्।

संकटको समयमा यही क्षेत्रकै नेता भएका कारण उपप्रधानमन्त्री खड्काले अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन्। एक हिसाबले भन्दा पीडित बस्तीमै राहत पुर्‍याउन ठूलो योगदान छ।

प्रभावित बस्तीमा पुगेर अनुगमन गर्ने राहत नपुगेको भए तत्काल ठाउँका ठाउँ टेलिफोन गरेर राहत पुर्‍याउन निर्देशन दिँदै आएका छन्।

राहत वितरणकै लागि उनी काठमाडौं नगएर सुर्खेतबाट संघीय सरकारको कमाण्ड सम्हाली रहेका छन्। घाइतेको उद्दारपीडित नागरिकको बस्तीसम्म राहत पुर्‍याउन नेपाली सेनाका सबै हेलिकोप्टरहरू सुर्खेतमै राखिएका छन्।

दुर्भाग्य, राहतका लागि सुर्खेतमा राखिएका हेलिकोप्टरमा भने अनुगमनका नाममा नेताहरू मस्ती गर्न थालेका छन्। सोमबार मात्रै अनुगमनका नाममा नेताहरूले मस्ती गरेका छन्।

प्रभावित क्षेत्रमा राहत पुर्‍याउनुको सट्टाको उपप्रधान मन्त्रीसहित, जलस्रोत ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसी, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र नेपाली कांग्रेसका प्रदेश पार्टी सभापति ललितजंग शाही, नागरिक दैनिकमा कार्यरत नगेन्द्र उपाध्याय र कान्तिपुर टेलिभिजनमा कार्यरत देव रानाले शयर गरे।

उनीहरू पीडित बस्तीमै नपुगेर नेताहरूले हेलिकोप्टरबाट नै प्रभावित क्षेत्रको अनुगमन गरे। जिल्ला सदरमुकामका कोही बस्तीमा स्थलगत अनुगमन गरे पनि रिम्ना, बारेकोट, कुसेआठविसकोटमा हेलिकोप्टर बस्ने स्थानमै स्थानीयसँग राहत वितरण र प्रभावित नागरिकको जानकारी लिए।

जुन अनुगमन कुनै पनि हिसाबले आवश्यक थिएन। बरु अनुगमनको सट्टा राहत सामग्री सम्बन्धित ठाउँमा पुर्‍याएको भए पीडितलाई केही राहत हुन्थ्यो। तर, सोमबार दिनभर नेपाली सेनाको हेलिकोप्टर नेताहरूलाई प्रभावित क्षेत्रमा घुमाउनमै व्यस्त भयो।

भलै सोही हेलिकोप्टरबाट रुकुम पश्चिमको आठविसकोटबाट सानोभेरी गाउँपालिका–४ का डाइमन्ड चन्दको उद्दार गरियो। भूकम्पमा परेर घाइते भएका उनको दायाँ खुट्टा भाँचिएको थियो। आठविस अस्पतालमा खुट्टाको अप्रेशन सम्भव नभएपछि उनलाई उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो।

हेलिकोप्टर आतंक बन्द गर्न आग्रह

यता, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले भिआइपीहरूको हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर घर्तीले विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका हुन्।

उनले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज्न पनि चेतावनी दिएका छन्। भेरी नगरपालिका सदरमुकामसमेत रहेको नगरपालिका हो। यहाँ दैनिक नेपाली सेनाको हेलिकप्टरमा भिआइपीहरू सवारले पीडितलाई राहत वितरणमा ढिलाइ भएपछि उनले यस्तो आग्रह गरेका हुन्।

एमालेको पनि पीडितमाथि राजनीति

यसैबीच भूकम्प पीडितमाथि एमालेले राजनीति सुरु गरेको छ। सत्तारुढ दलहरू राज्य शक्तिको दुरुपयोग गर्दै भूकम्प पीडितमाथि राजनीति गरिरहेका बेला एमालेले स्वास्थ्य परीक्षणको नाममा राजनीति सुरु गरेको हो।

मंगलबारदेखि एमालेले चिकित्सकसहितको टोली लिएर गाउँ अभियानमा लागेको छ। अनेरास्ववियूका केन्द्रीय सदस्यसमेत रहेका चिकित्सक डा. सुरज कडरिया सहितको टोली लिएर एमाले स्वास्थ्य परीक्षण गर्नका लागि भूकम्प प्रभावित क्षेत्रमा लागेको हो।

भूकम्पमा ज्यान गुमाएका मृतकका परिवार र अन्य पीडितहरूलाई राहत प्रदान गर्दै मनोपरामर्श चिकित्सकसहित अभियान सुरु गरेको टोली प्रमुख नेकपा (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए।

टोलीले मंगलबार नलगाडको वडा नम्बर ३ का विभिन्न बस्तीमा पुगेर स्वास्थ्य परीक्षण र राहत वितरण गरेको आचार्यले जानकारी दिए।

कसले निकालिदिने पुरिएका सामान?

भेरी नगरपालिका ३ विश्वविक्रम शाहका ६ ओटा घर पूर्णरूपमा क्षति भएका भएका छन्। घरमा रहेका सम्पूर्ण धनसम्पत्ति पुरिएका छन्। भूकम्प गएको चार दिनसम्म पनि उनले पुरिएका सामान निकाल्न पाएका छैनन्।

पुरिएको सामान निकाल्दिनका लागि प्रहरीलाई आग्रह गरेका छन्। तर जीर्ण घरमा जोखिम रहेका कारण प्रहरीले पनि सामान निकाल्न सकेको छैन। ‘घरमा रहेका होटल रिद्धि, डाँफे बिल्डर्स र डाँफे युवा क्लबका सम्पूर्ण सामग्री पुरिएका छन्’ उनले भने, ‘तर कसले निकाल्दिने ?’

भेरी नगरपालिका ३ माथिल्लो थाप्लेकी जानकी भण्डारीको पनि भूकम्पले घर पूर्ण रुपमा क्षति भएको छ। भूकम्प परेर दुई जनाको ज्यान गएको छ। घरसँगै पुरिएको सामानहरू उत्खनन गर्न पाएकी छैनन्।

 ‘उत्खनन गरिदिएको भए केही सम्पत्ति जोखिन्थ्यो’ भण्डारीका छोरा किरणकुमार भण्डारीले भने, ‘समयमै उत्खनन् नहुँदा सबै गुम्ने भयो।

विश्वविक्रम र जानकीको मात्र होइन जिल्लाभर ११ सय घरधुरी उत्खननको पर्खाइमा रहेका छन्। भूकम्पले क्षति भएका आठ हजार ३ सय ३६ घरधुरीमध्ये एक हजार एक सय ७० घरहरू उत्खननको पर्खाइमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले बताए।

जसमध्ये भेरी नगरपालिकामा ३ सय ४४ घर, नलगाड नगरपालिकामा २ सय, छेडागाडमा एकसय, कुशेमा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालयमा एक र जुनीचाँदेमा २ सय ७० पूर्ण क्षति भएका छन्। पूर्ण क्षति भएका सबै घर उत्खनन गर्नुपर्ने अवस्थामा छन्।

उत्खननका लागि तीन सयजना शक्ति परिचालनको तयारी गरिएको सहायक जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए। प्रभावितलाई राहतको प्राथामिकताका कारण उत्खननमा ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा रहेकोले तत्काल उत्खननको लागि परिचालन गर्ने शर्माले बताए। प्रत्येक ठाउँमा १० जना पुरिएका घरहरू उत्खनन गर्ने तयारी गरिएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.