|

काभ्रेपलाञ्चोक : अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी काभ्रेपलाञ्चोकमा विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रम लागू गरिएको छ। विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रतिकूल प्रभाव रहने जनाइएको छ।

बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसद्वारा सञ्चालित कार्यक्रममा जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई हस्तकला उत्पादन र सोको बजार व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिने क्याम्पसका उपप्राध्यापक एवं कार्यक्रम संयोजक कृष्णप्यारी नकर्मीले जानकारी दिइन्। जिल्लामा भएका सबैखाले अपाङ्गता भएका व्यक्तिलाई पहिलो चरणमा आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्तीकरणका लागि हस्तकला उत्पादन व्यवस्थापन विषयक तालिम सञ्चालन गरिएको उनले बताइन्।

नकर्मीका अनुसार बनेपामा आयोजित तालिममा ५२ जना अपाङ्गता भएका व्यक्ति सहभागी भएका छन्। उनीहरूका लागि कागज र कपडाको हस्तकलासम्बन्धी तालिम सञ्चालन गरिरहेको छ। ‘कार्यक्रममा एक सय ३० अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराइने छ, यसमध्ये २० जनालाई बजार व्यवस्थापन तालिम प्रदान गरिनेछ,’उनले भनिन्।

तालिमबाट उत्पादित सामग्रीको बजारीकरण गरिने नकर्मीले बताइन। उनका अनुसार विभिन्न चरणमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत दोस्रो चरणमा पराल र बाँसको हस्तकला उत्पादन तालिम सञ्चालन गरिने छ। तेस्रो चरणमा उत्पादनको रेकर्ड राख्ने र व्यवस्थापनसम्बन्धी तथा चौँथो चरणमा उत्पादनको प्रवर्द्धन र बिक्री वितरणसम्बन्धी तालिम सञ्चालन गरिने योजना बनाइएको नकर्मीले जानकारी दिइन्। 

सुस्त मनस्थिति कल्याण संस्थाका केन्द्रीय अध्यक्ष लम्बोदर कायस्थले फरक–फरक आयआर्जनका कार्यक्रमसहित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। नेपाल अपाङ्गता महिला सङ्घकी महासचिव एवं जिल्ला अपाङ्गता सङ्घ, संस्था समन्वय समितिकी सचिव पम्फा पुर्कोटीले अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालित कार्यक्रमले उनीहरूको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पार्ने उल्लेख गर्दै यस्ता किसिमका कार्यक्रम दिगो रुपमा सञ्चालन हुनुपर्ने बताए। 

उत्पादित सामग्री बजारीकरणका लागि काभ्रे उद्योग वाणिज्य सङ्घले सहकार्य गर्ने भएको छ। विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमका लागि बर्सेनि प्रस्ताव आह्वान गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.