|

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियन मुलुकका बैंकका सिइओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

बिहीबार काठमाडौंमा भएको ३९औँ एशियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

उनले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए।

उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने बताए। उनले भारतले योभन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिवद्धता जनाएको बताए।

उनले सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए। उनले विश्व बैंक र एडिपीले पनि नेपालको ठूलो जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताए।

उनले पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिए। अर्थमन्त्री महतले सरकारले विद्युत् उत्पादन,साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिरहेको दाबी गरे।

उनले आम जनतालाई समेत प्रत्यक्ष लाभ हुने गरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताए। उनले बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठूलो योगदान पुर्‍याएको बताए।

अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको बताए। उनले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताए। उनले डिजिटल बैंकिङसँगै विश्वसनीयता र सुरक्षा महत्वपूर्ण रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.