|

काठमाडौं : युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका महासचिव नन्दु उप्रेतीले कविवर युद्धप्रसाद मिश्रको नेपाली साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। बिहीवार प्रतिष्ठानले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले स्वर्गीय कवि मिश्रलाई सम्झिँदै उनका साहित्यिक कृतिहरूको संरक्षण र यसबाट धेरै पाठ सिक्नुपर्ने बताए। ‘आज उहाँकै सम्झनामा कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ, उहाँको विद्यालय स्तरमा होस् या कला, साहित्य क्षेत्रमा होस् अतुलनीय योगदान छ, याे कहिल्यै कसैले बिर्सनु हुँदैन। वीरगञ्जमा उहाँले २ वर्षभन्दा बढी समय जेलमा पनि बिताउनु भयो,’ उनले भने।

मिश्रको सधैँ लोकतन्त्र, गणतन्त्र पार्टीगत होइन भन्ने अभियानमा लागि परेको पनि उनले बताए। उनले मिश्रको योगदानलाई अहिलेका सबै पार्टीहरूले सम्झनुपर्ने र ऐतिहासिक कार्यमा सबै पक्षबाट भूमिका खेल्नुपर्ने बताए।

कार्यक्रममा कवि, साहित्यका र विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि सहभागी थिए। उनीहरूले पनि कवि मिश्रको योगदानलाई सरकारले सधैँ कदर गर्नुपर्नेमा जोड दिए।

नेपाली काव्य साहित्यका अग्रज साधक कवि मिश्रको जन्म विक्रम संवत् १९६४ साल पुस २७ गते शनिवार भक्तपुरको सिरुटारस्थित सोमलिङटारमा भएको थियो।

बुबा रुद्रप्रसाद र आमा गीताकुमारी मिश्रका पुत्र युद्धप्रसादले डेढ वर्षकै उमेरमा बुबा गुमाउनु परेको थियो। आमा गीताकुमारीबाट प्रारम्भिक शिक्षा आरम्भ गरेका मिश्रले दरबार हाईस्कुलबाट डेढ वर्षको वेद अध्ययन र तत्कालीन समयको ४ पास गरेका थिए।

उनको त्यही ४ पासको अध्ययनलाई १४ पासको मान्यता दिइएको थियो। विक्रम संवत् १९८४ देखि कुमारीचोकमा नौसिन्दाको जागिर सुरु गरेका मिश्रले केही वर्षपछि त्यहाँ छाडेर विसं १९८६ तिर राणादरबार, ढुकुटी विभागमा बहिदारको जागिर खाए।

विसं १९९० मा त्यो काम पनि छोडेर उनी जन्मथलो भक्तपुरमा बस्न थाले। सोही समयमा उनले स्वअध्ययनलाई विशेष जोड दिएर संस्कृत भाषा र साहित्यको गहिरो अध्ययन गरेका थिए।

भारतको बनारसमा लामो निर्वासित जीवन बिताएर स्वदेश फर्किएपछि उनी विसं २०४० सालदेखि २०४७ सालसम्म लोकतन्त्र र गणतन्त्रको आह्वान गर्दै काव्य साधना र राजनीतिक आन्दोलनमा सक्रिय रहे।

काव्य साधक मिश्रको विसं २०४७ सालमा ८३ वर्षकाे उमेरमा काठमाडौंको वीर अस्पतालमा निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.