|

काठमाडौं : नेपालमा सवारी दुर्घटनाबाट हुने मृत्यु पनि मृत्युको प्रमुख कारण रहेको छ।

स्वास्थ्य तथा जनसंख्या ​मन्त्रालयको विगत सात वर्षको तथ्यांक हेर्ने हो भने पछिल्ला वर्ष सडक दुर्घटनाबाट नेपालमा हुने मृत्युदर बढ्दो अवस्थामा छ। मन्त्रालयको विवरण अनुसार हाल नेपालमा दैनिक सरदर आठ  जनाको सडक दुर्घटनाको कारण मृत्यु हुने गरेको छ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७१/७२ मा दैनिक सरदर सात जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको थियो। यस्तै ७२/७३ मा यो संख्या उति नै रहेको थियो। भने ७३/७४ मा यो संख्या बढेर दैनिक आठजनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको थियो। यो संख्या ७४/७५ मा पनि उति नै रहेको थियो। तर आर्थिक वर्ष ७५/७६ मा यो संख्या बढेर दैनिक ९ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको थियो।

त्यस पछि ७६/७७ मा यो संख्या घटेर दैनिक सातजनाको मृत्यु हुने गरेको थियो। तर आर्थिक वर्ष ७७/७८ बाट भने यो संख्या पुन: बढेर दैनिक आठजनाले नेपालमा सडक दुर्घटनाकै कारण ज्यान गुमाउनु परेको देखिन्छ। यो संख्या प्रति एक लाख जनसंख्यामा हुने मृत्युदर हो।

पछिल्लो समय नसर्ने र कीटजन्य तथा अन्य महामारी जन्य रोगहरुको भार बढ्दै गइरहेको अवस्थामा सडक दुर्घटनाबाट बढ्दो मृत्युदर पनि एक समस्याको रूपमा रहेको  बताउछन स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल। उनका अनुसार बढ्दो जनसंख्याको भारमा नसर्ने र किटजन्य तथा अन्य महामारी जन्य रोगको भार बढ्दै गइरहेको अवस्थामा सडक दुर्घटनाबाट हुने मृत्यु एउटा समस्याको रूपमा रहेको छ। ‘बढ्दो जनसंख्यामा नसर्ने रोगको भार पनि थपिँदै छ। यस्तो वेलामा सडक दुर्घटनाबाट हुने मृत्यु पनि नेपालको लागि एक प्रमुख समस्याको रूपमा छ’, डा पौडेलले भने, ‘यसलाई रोक्न सबै सरोकारवला निकाय लाग्नुपर्ने अवस्था छ।’

समयमानै उपचार गर्न सकियो भने सवारी दुर्घटनाबाट हुने मृत्युदरधेरै कम गर्न सकिने अवस्था समेत रहेको अवस्थामा सबै सरोकार निकायको सहकार्यको आवश्यकता रहेको नीतियोजना महाशाखाका प्रमुख पौडेलले बताए।

नेपालमा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेपछि  मन्त्रालयले यसअघि ०७६ सालमा नै बढी दुर्घटना हुने राजमार्ग छेउका ५४ स्वास्थ्य चौकीलाई ट्रमा कर्नर बनाउने लक्ष्य लिए पनि हालसम्म मूर्तरूप लिन सकेको छैन।

तत्कालीन समयमा मन्त्रालयले धेरै दुर्घटना हुने थानकोटदेखि मुगलिनको बीचमा पारेर धादिङको गजुरीमा समेत एउटा सुविधासहितको ट्रमा सेन्टर आगामी वर्षसम्म स्थापना गर्ने प्रस्ताव अघि सारेको थियो।

यस्तै, चितवनको इच्छाकामना गाउँपालिमा रहेको  दारेचोक स्वास्थ्य चौकी धादिङ गल्छी गाउँपालिकाको बैरेनी स्वास्थ्य चौकी,धादिङ बेनिघाट रोराङ गाउँपालिकाको बेनीघाट स्वास्थ्य चौकीलाई ट्रमा कर्नर सेन्टरको रूपमा रूपान्तरण गर्ने भएको छ। त्यसैगरी सुर्खेतको राकममा ट्रमा कर्नर विस्तार गर्न मन्त्रालयले घोषणा गरेको भए पनि हालसम्म यी संरचना बन्न सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.