|

दाङ : तुलसीपुर उपमहानगरपालिका-७ नयाँ बस्तीमा करिब ४०/५० वादी समुदायका परिवारको बसोबास छ। पहिले अधिकांशले मादल बनाएर बेच्ने गर्थे तर अहिले मुश्किलले अहिले ४/५ घरले मात्र मादल बनाउने गर्छन्। 

त्यसमाथि पनि पछिल्लो समय मादलको माग घट्दै गएपछि युवाहरूले अर्को पेशा अँगालेको बताउँछन् १० वर्षदेखि मादल बनाउँदै आएका राजकुमार नेपालीले। अहिलेसम्म निरन्तर मादल बनाउँदै आइरहेको भन्दै उनले पहिलेको तुलनामा मादलको बजार घट्दै गएको बताए।

उनले भने, ‘घरमा बुवाआमाले बनाउँदै आउनु भएको थियो‚ उहाँहरु बूढो हुनु भयो। अहिले म, मेरी श्रीमती र दाजुले बनाउँदै आएको छौँ। हाम्रो मुख्य पेशा नै यही हो तर पहिलाको जस्तो मादलको माग आउँदैन। नयाँ थोरैमात्र बिक्री हुन्छन्‚ पुराना पनि मर्मत गर्ने गरेका छौँ।’

यो पेशाबाट अहिलेसम्म घरपरिवार जेनतेन चलाउँदै आएको उनको भनाइ छ। उनका अनुसार एकातिर मादलको माग घट्दै जानु र अर्कोतर्फ मादल बनाउन चाहिने सामान र काठ नपाइनाले नयाँ बनाउनसमेत सकस छ। 

उनले नयाँ मादलको मूल्य मादलअनुसार हुने बताए। मादल बनाउन खमारीको काठ, गोरु र बाख्राको छाला आवश्यक पर्ने भए पनि यी पर्याप्त नपाइने उनको भनाइ छ।

२० वर्षदेखि मादल बनाउँदै आएका दीपक नेपालीको समस्या पनि उस्तै छ। विगत वर्षहरूमा जस्तो बजारमा मादलको माग नभएर घट्दै गइरहेको र गाउँका युवाहरू पनि यो पेशाभन्दा अरु पेशातिर लागेको हुँदा यो पेशा नै लोप हुने अवस्थामा रहेको उनले बताए। 

उनका अनुसार दिनभर लगाएर एउटा मादल तयार हुने भए पनि समयमै बिक्री नभएपछि मेहनत मात्र हुन्छ। यसकारणले पनि अहिलेको पुस्ताले यो पेशा नअँगालेका हुन्।

उनले भने, ‘मादल बनाउन मेहनत धेरै गर्नुपर्ने हुन्छ । मेहनतअनुसारको आम्दानी भएन भने घरपरिवार पाल्न समस्या हुन्छ। त्यही भएर अहिले गाउँका युवा विभिन्न पेशामा लागेका छन्। आफ्नो पुर्ख्यौली पेशा हो भनेर मात्र भएन घरपरिवार पनि हेर्नै पर्‍यो।’ 

सोही ठाउँका वीरबहादुर नेपालीले अटो चलाउन लागेको ४ वर्ष भयो। आफ्नो पुर्ख्यौली पेशामा धेरै दुःख गर्दा पनि आम्दानी न्यून हुने भएकाले आफूले अटो चलाउन थालेको उनको भनाइ छ।

घरमा आमा र अरुले मादल बनाउन जानेको भए पनि आफूले अटो चलाउन नै रोजेको उनको भनाइ छ। उनले भने, ‘मलाई मादल बनाउन आउँदैन, मेरो ध्यान गाडी चलाउनतिर नै गयो। पहिले ठूला गाडी चलाएँ। अहिले करिब ४ वर्षदेखि अटो चलाउँदै आएको छु‚ यसैमा मलाई राम्रो लागेको छ।’ 

उनका अनुसार आफ्नो पुर्ख्यौली पेशामा दुःखअनुसारको आम्दानी छैन। पुर्ख्यौली पेशाबाट घरपरिवार चलाउन नसकिने भएका कारण आफू गाडीतिर लागेको भन्दै पछिल्लो समय साउन्ड सिस्टमहरू बजारमा आउँदा मादलको माग घट्दै गएको उनको भनाइ छ।

अर्का खेलराज नेपालीको पनि मुख्य पेशा मादल बनाउने नै हो तर पछिल्लो समय बजारमा आएका आधुनिक साउन्ड सिस्टमले गर्दा मादलको माग घट्दै गइरहेकाले मादलको बिक्री न्यून हुने गरेको उनी बताउँछन्। 

अर्कोतर्फ मादल बनाउने काठ, छालालगायत सामान पनि पर्याप्त नपाइने भएकाले भोलिका दिनमा यो पेशा परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

उनका अनुसार गोरुको छाला नपाउँदा आफूहरूले दशैँका काटेको राँगाको छाला राख्ने र अहिले मादल बनाउँदा त्यही प्रयोग गर्नुपर्ने स्थिति छ। 

पछिल्लो समय गोरु मरेपछि जमिनमा गाड्ने गर्दा पनि छाला नपाइने र जङ्गलबाट काठ पनि ल्याउन नपाइने भएको भन्दै अब यो पेशाको विकल्प खोज्नु परेको उनको भनाइ छ। 

उनले भने, ‘माछा मार्ने, मादल बनाउने हाम्रो पुर्ख्यौली पेशा नै हो। खोलामा माछा पाइँदैन, जङ्गलमा काठ र छाला पाइँदैन। अनि कसरी यो पेशाबाट हामी बाँच्न सक्छौँ?’

उनले गाउँमा आफूभन्दा कम उमेरकाले यो पेशा नअँगालेको समेत बताए। उनले भने, ‘पछिल्लो पुस्ताहरू यो पेशातिर लागेका छैनन्। यसबाट राम्रो आम्दानी पनि हुँदैन। जसले गर्दा उनीहरु फरक पेशामा लागेका छन्। हाम्रो पुर्ख्यौली पेशा जोगाइराख्न राज्यले ध्यान दिनु पर्छ।’

उनका अनुसार मादल बनाउन काठ सहज रुपमा ल्याउन दिए र गोरुको छालालगायत सामग्री सहज भए मादल बनाउन सकस हुँदैनथ्यो। एकातिर यी सामान नपाइने र अर्कोतर्फ समाजमा मादलको महत्त्व घट्दै जानुका साथै बिक्री नहुनाले पनि घरपरिवार चलाउन समस्या हुने गरेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.