|

चितवन : चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन शुरु भएको छ। जाडो चल्न हाँस,बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन्।
 

यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए। उनका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन्।

उनका अनुसार  अगष्ट’देखि हिउँदे आगन्तुक चरा आउन थालेका हुन्। यस्ता चरा कतिपय आइसकेको र कतिपय आउन बाँकी रहेको उनको भनाइ छ। यस्ता चरा अक्टोबरसम्म आउँछन्। नेपालकै पहाडी भागबाट समेत चिसो छल्न चरा चितवनमा आउने गरेका छन्।
 
चराविद् हेमसागर बरालका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान र चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन्। नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुछ्रे, मालक, खडखडे, बिजुला र गैरीजस्ता चरा आउँछन् भने सुडसुडिया प्रजाति वनमा आश्रित प्रजातिका चरा पनि आउने गरेका छन्।

वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाज हुने गरेको उनले बताए। उनले भने, ‘चिसो छल्न, आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ।’
 
नेपालमा १५० प्रजातिका चरा पर्यटकका रूपमा आउने गरेका छन्। अहिलेसम्म १०० प्रजातिका चरा आइसकेको बरालले जानकारी दिए। यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्किन्छन्। पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समय नहुने हुँदा ती चरा आउने गरेको बरालको भनाइ छ।
 
नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गरेका छन्। नेपालमा हाल ८९२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा ६५० प्रजातिका चराछन्। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रिउ नदी र यस वरपरका सिमसार क्षेत्रमा जलपक्षीको राम्रो बासस्थान हुने गरेको छ। निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पक्षीको राम्रो विचरण क्षेत्र हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.