|

काठमाडौं : किरात वाम्बुले राई भाषाको २३ औं कविता प्रतियोगिता सुनसरीको धरानमा हुने भएको छ। वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६औं वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो। 

वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईले ओखलढुंगा, खोटाङ र उदयपुरको गाउँघरमा मात्र आयोजना हुने गरेको वाम्बुले राई भाषाको कविता प्रतियोगितालाई धरानमा आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार प्रदेश–१ मा जारी ‘कोशी’ बहिस्कार आन्दोलन जारी छ। उक्त आन्दोलनलाई सहयोग पुर्‍याउन धरानमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो।

उनले भने,‘कोशी नामविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै वाम्बुले भाषाको कविता प्रतियोगिता धरानमा गर्ने र त्यसको व्यवस्थापन जिम्मेवारी र कविताको शीर्षक चयनको जिम्मा पनि वाम्रास सुनसरीलाई नै दिने निर्णय भएको छ,त्यहीअनुसार वाम्रास सुनसरी कार्यसमितिले ‘इक किरात प्रदेस’ (हाम्रो किरात प्रदेश) शीर्षक छान्नु भएको छ।’ उनले यही शीर्षकमा कविता प्रतियोगिता हुने बताए। उनका अनुसार यो पटक कविता प्रतियोगितामा देश–विदेशबाट कविहरू सहभागी हुन पाउने छन्। पुरस्कारका निम्ति भने कवि स्वयं उपस्थित भएर आफ्नो वाचन गर्नु पर्नेछ । यसअघिको प्रतियोगितामा प्रथम भएका र लिब्जु–भुम्जु पुरस्कार प्राप्त कविले अप्रतियोगीका रूपमा सहभागी हुन पाउने छन्। प्रतियोगितामा विजयी कविहरू क्रमशः प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार तथा सान्त्वना दुईजनालाई २–२ हजार रुपैयाँ नगद प्रदान गरिनेछ।

वाम्बुले राई भाषाको कविता प्रतियोगिता २०५५ सालदेखि भौतिक उपस्थितिमाझ ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा आयोजना गरिदैआएको थियो। तर,२०७७ सालमा कोभिड–१९ को बेला २२औं कविता प्रतियोगिता अनलाइन (भर्चुअल) माध्यमबाट सम्पन्न भएको थियो। त्यसपछि २०७८ र २०७९ सालमा डेंगु महामारीको कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.