|

काठमाडौं : सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ। संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर हालसम्म खुला नगरिएका हिमशृङ्खला खुलाउने सरकारको तयारी हो ।

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ,पर्यटन विभागका पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले हाल सरकारले ४१४ हिमाल आरोहणका लागि खुला राखेको र थप हिमाल आरोहणका लागि खुला गर्ने प्रक्रियामा रहेको जानकारी दिए। ‘गत वर्ष साउनमा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा थप नयाँ हिमाल आरोहणका लागि खुला गर्ने सरकारको योजनाबारे उल्लेख गरिएको थियो’, उनले भने, ‘संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमै पर्वतारोहण र साहसिक पर्यटनलाई कसरी समेटेर अघि बढ्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।’

गुरुङले पर्यटकीय गतिविधि बढाउन पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका थप हिमाल आरोहण खुला गर्न आवश्यक देखिए पनि स्थानीय तहबाटै हिमाल आरोहण खोल्न सिफारिस आउनुपर्ने बताए।

गत वर्ष पर्वतारोहण संघले पर्यटन मन्त्रालयलाई बुझाएको सुझावमा थप नयाँ १७३ वटा हिमाल खुला गर्न मन्त्रालयलाई आग्रह गरेको थियो ।

वातावरणविद् डा. सुधिर ठकुरीले सरकारले थप हिमाल आरोहणका लागि खोल्दा नियमन र व्यवस्थापनमा अध्ययन हुनुपर्ने बताए। ‘सबै हिमाल आरोहणका लागि खोल्दा राजस्व सङ्कलनमा सुधार आए पनि त्यसले हिमाली क्षेत्रमा पर्ने असर, उद्धारलगायतका योजनाका विषयमा सरकार पहिले नै गम्भीर हुनु पर्छ’, उनले भने। 

त्यस्तै पर्यटन व्यवसायी अच्युत गुरागाईँले आरोहणका लागि हतारमा थप हिमाल खुला गर्दा अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश जाने बताए। ‘उपल्लो मुस्ताङ, मनासलु क्षेत्रलगायतका पर्यटकीय गन्तव्यलाई संरक्षित राख्न आवश्यक छ’, उनले भने, ‘हाल खुला रहेका केही हिमालमा आरोहणमा समयमा नियन्त्रणसमेत गर्न आवश्यक देखिएकाले थप हिमाल खोल्दा अध्ययन, अनुसन्धान हुन आवश्यक देखिन्छ।’ 

पर्यटन विभाग र संघले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिँदै आएका छन् । सरकारले संघलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ । यसमा पनि छ हजार पाँच सयभन्दा कम उचाइ भएका हिमाल पर्छन् । बाँकी ३८७ वटा हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुँदै आएको छ ।

नेपालमा पाँच हजार ८०० मिटरभन्दा अग्ला एक हजार ७९२ वटा चुचुरा छन् । यीमध्ये ४०८ वटा हिमाल आरोहणका लागि खुला गरिएका छन्। हाल एक हजार ३८४ वटा हिमाल आधिकारिक रूपमा खुला गरिएका छैनन्। 

नेपाल र चीनबीच २५७ र नेपाल भारतबीच २८ वटा चुचुरा छन् । नेपालमा रहेका आठ हजार मिटर उचाइका १४ वटा हिमालमध्ये आठ वटाले मात्रै विश्व पर्वतारोहण महासंघको अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहे पनि थप छ हिमाल सूचीकृत हुन बाँकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.