कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका प्रमुखमा एमाले उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन्। कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये अधिकारीले ६ हजार १ सय ५५ मतका साथ विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरीले ४ हजार ७ सय ४२ मत पाए। उपप्रमुखमा एमालेकी शिवकुमारी चौधरीले ५ हजार ९ सय ६२ मत पाएर विजयी भइन्। उनी जम्मा २४ वर्षकी हुन्। उनको प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकै सुमन यादवले ३ हजार २९ मत पाइन्।
कुल ११ वटा वडा भएको शिवराजमा वडा नं. १, ३, ४ र ५ मा एमाले उम्मेदवारले प्यानलसहित जितेका छन्। राजपाका स्वतन्त्र उम्मेदवारले वडा नं ७ र १० जितेका छन्। जिल्लाकै सानो रोल्पा भनेर चिनिने वडा नं. ९ शिवगढीमा माओवादी केन्द्रले प्यानल सहित जित हात पारेको छ।
वडा नं. ११ मा कांग्रेस, २ मा नेपाल लोकतान्त्रिक फोरम, ६ र ८ मा संघीय समाजवादी फोरमले जित हात पारेको निर्वाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन्।
शिवनगर नगरपालिका विजयसँगै कपिलवस्तुका २ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ। यसअघि विजयनगर गाउँपालिकामा एमालेका गोपाल थापा विजयी भएको घोषणा भएको थियो।
कपिलवस्तुका १० वटा स्थानीय तहमध्ये ४ वटा गाउँपालिका र १ नगरपालिकाको नतिजा सार्वजनिक भएको छ। नतिजा आउन बाँकी ५ वटा तहको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले ३ तहमा अग्रता कायम राखेको छ।
कांग्रेसले कपिलवस्तु, वाणगंगा, महाराजगञ्ज नगरपालिकामा अग्रता लिएको छ। एमालेले वुद्धभूमि नगरपालिकामा अग्रता लिएको छ। कृष्णनगरमा स्वतन्त्र उम्मेद्वार रजतप्रताप शाहले अग्रता लिएका छन्। रजतका सहोदर दाजु सांसद अभिषेकप्रताप शाहले संघीय समाजवादी फोरमबाट टिकट नदिएपछि रजत स्वतन्त्र उठेका हुन्। फोरम नेपालका सभासद अभिषेकप्रताप शाहको दबदबा रहेको सो क्षेत्रमा फोरम पाँचौ स्थानमा झरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।