|

ओखलढुङ्गा : ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ। सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो । 

३० जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन्। पुरानो कारागार जीर्ण छ। २०७२ को भूकम्पले चर्किएको र संरचना नै पुरानो भएकाले भवन जोखिमयुक्त छ। 

पुरानो भवनसँगैको महिला बन्दीका लागि बनाइएको सुविधासम्पन्न कारागार भवनको वरिपरि सुरक्षा पर्खाल बन्न नसक्दा उक्त कारागार भवन अहिले रित्तै छ। कारागार व्यवस्थापन विभागले हालै ५० लाख ४५ हजार रुपैयाँ लागतमा नयाँ भवन निर्माण गरेको हो। 

​२०८० असारमै निर्माण सम्पन्न भएको कारागारमा बजेट अभावका कारण सुरक्षा पर्खाल बन्न नसक्दा बन्दी सार्न नसकिएको निमित्त कारागार प्रमुख नरेन्द्रलाल कर्णले बताए। ‘कारागार भवन त बन्यो।तर सुरक्षा पर्खालको लागि बजेट नआएको कारण त्यो भवनमा कैदी सार्न पाइएको छैन’,  उनले भने, ‘अनुगमनमा आउने सरोकारवालालाई समस्या सुनाइयो। समाधान भएन।’

सुरक्षा पर्खाल बनेमा नयाँ पक्की कारागारमा महिला कैदीलाई सार्न मिल्ने र पुरुष कैदीलाई हालको महिला कारागारमा राख्ने योजना  छ। १५ पुरुष कैदीबन्दीको क्षमता भएको कारागारमा पाँच गुणा बढी ७८ जना कैदी राखिएको छ तर १५ जनाकै क्षमता भएको महिला कारागारमा जम्मा ६ जना मात्रै कैदी छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.