|

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ

मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ ।

 

सक्दैन रोक्न आँखा जेजे देखेको हेर्छ

ऊ बुद्धको नयनमा आँधी चलेको हेर्छ ।

गजलकार रश्मि असफलले यी शेर वाचन गरिरहँदा राष्ट्रिय नाचघरको प्रेक्षालय 'वाह! वाह!मय बनेको थियो ! 'वान्स मोर' भन्दै श्रोताहरू गजलका शेरहरूमा झुमिरहेका थिए ।

रश्मिपछि आँचलकुमार शर्मा जोसिए यी शेरमार्फत-

कुवा हुन्थ्यो र जल कन्चन हुने गर्थ्यो कुनै बेला

कुवामै जूनको मापन हुने गर्थ्यो कुनै बेला ।

 

'नजिक बस्ने बहानामा नआऊ जिस्किँदै' भन्थिन्

नियम केही त उल्लङ्घन हुने गर्थ्यो कुनै बेला ।

हरेक शेरमा तालीको गडगडाहटले प्रेक्षालय गुञ्जायमान थियो । श्रोताहरूको मुग्धताबाट अर्का गजलकार उचालिए यी शेरमार्फत-

हजार बाजी जितेर आएँ प्रहार तिम्रो नकार्न सक्थेँ

झुकेर आयौ र जित्न पाएँ नजर जुधाए म हार्न सक्थेँ ।

 

यो शून्यता जो तिमीबिनाको म आँसुभित्रै बिताउन सक्छु

मुसुक्क हाँसी गरे बिदाई म मर्न सक्थेँ र मार्न सक्थेँ !

 

नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा'मा यस पटक ३ जना गजल स्रष्टा प्रस्तुत गरेको छ ।

२३ मङ्सिर शनिबार राष्ट्रिय नाचघर जमलमा गजलकारहरू रश्मि असफल, आँचलकुमार शर्मा र 'अविनास' सापकोटाले सुन्दर र सशक्त गजल प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

सोही कार्यक्रममा प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारको १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिएको छ ।

यसका अलावा १० जना गजलकारका १० वटा उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता भुवन निस्तेजले वाचन गरेका थिए ।

यसअघि गजल मुशायरा- १ मा डा. प्रदीपकुमार मैनाली, आवाज शर्मा र शान्ति शर्मा प्रस्तुत भएका थिए भने गजल मुशायरा- २ मा राधा कणेल, अनजान यात्री र मिलनकुमार ढुङ्गानालाई प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि गजलकार करुण थापाले अब नेपाली गजल रदिफ, काफिया र लयभन्दा माथि उठेर भाव र शिल्प परिष्कारतर्फ बढेको भन्दै खुसी व्यक्त गरे ।

'नेपाली गजलको विकास र विस्तारका लागि' मूल मन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने/सुनाउने गर्दै आएको छ भने बहर बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षण पनि दिँदै आएको छ ।

साथै, निकट भविष्यमा 'गजल आइडल' आयोजना गर्ने योजनासमेत बनाइरहेको प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।

आागामी १८ चैतमा दोस्रो साङ्गीतिक मुशायराको समेत आयोजना हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.